जनताका मुद्दा प्राथमिकतामा राखेका छौँ

नारायण नगरपालिका २०५३ सालमा स्थापना भएको हो । एक सुन्दर र ऐतिहासिक पहाडी जिल्लामा पर्ने नारायण नगरपालिका दैलेखको सबै भन्दा पुरानो स्थानीय तह हो । जिल्लामा हालको संघीय संरचना अनुसार ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेका छन् । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नारायण नगरपालिका नगर प्रमुखमा एमालेका लोमन शर्मा निर्वाचित निर्वाचित भएका छन् । २०४८ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भवानी गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचित भएसँगै शर्मा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका थिए । राजनीतिक हिसाबले एमालेभित्र प्रभावशाली मानिने शर्माले स्थानीय सरकारको प्रमुखमा निर्वाचित भए यता आम नागरिकका समस्या समाधान, यहाँको भौतिक विकास र गाउँका सरकारले नागरिकका लागि गर्नुपर्ने काम लगायतका विषयमा रहेर नगर प्रमुख लोमन शर्मासँग धमाका राष्ट्रिय दैनिकले गरेको कुराकानीको सम्पादित अंशः

निर्वाचित भएको एक वर्षमा के–के काम गर्नुभयो ?
हामी निर्वाचन भएर स्थानीय सरकार सञ्चालनमा आए पछि नागरिकको हितमा धेरै कामहरू गरेका छौँ । हामी आउनु अघिसम्म नारायण नगरपालिकामा धेरै खालका चुनौतीहरू थिए । भएका चुनौतीको सामना गर्दै हामीले निर्वाचनको बेला जनताका बीचमा गरिएका प्रतिबद्धतालाई प्रमुख विषय बनाएर काम गरिरहेका छौँ ।

कस्ता खाले कामहरू गर्नुभयो ?
सुरुमा हामीले नारायण नगरपालिकामा देखिएको खानेपानीको समस्या समाधान गर्न आवश्यक नीति तय ग¥यौँ । दैलेखको खानेपानी महँगो भएका कारण खानेपानी महसुलमा केही कटौती गर्नु पर्छ र जनतालाई निःशुल्क खानेपानी खुवाउनु पर्छ भनेर खानेपानी महसुलमा कटौती गर्ने काम ग¥यौँ । सहारे खाने पानीलाई व्यवस्थितसँगै अन्य पानीको स्रोतहरूको पहिचान गरी आवश्यक पर्ने पूर्वाधार निर्माणका कामहरू अगाडी बढायौँ ।
त्यसैका आधारमा नारायण नगरपालिकाका विभिन्न स्थानमा सात वटा खानेपानी ट्याङ्की निर्माण गरेका छौँ । नारायण नगरपालिकाका नागरिकलाई खाने पानीमा सहुलियत दिन एक करोड १२ लाख रुपैयाँ बिनयोजन गरेका थियौँ । एक घर एक धारा निर्माणका लागि खानेपानी तथा स्वच्छता सम्बन्धी वास योजना बनाएर तथ्याङ्क सहितको योजना निर्माण गर्ने काम गरेका छौं ।
त्यसको कार्यान्वयन लागि टिडिएफबाट करिब तीन करोड ऋण लिएर साहारे एक दुई र तीनबाट खानेपानी वितरण गर्ने योजना बनाएका छौँ । कर्णालीका स्थानीय तह मध्ये सबै भन्दा पहिला कर्णाली प्रदेशमा रहेका सरकारी तथा गैर सरकारी सस्थाहरुसँग सहकार्यका लागि प्रस्ताव पेस गरेका थियौँ त्यसकै आधारमा धेरै योजनाहरू हाम्रो नगरपालिकामा काम गर्न इच्छुक हुनुहुन्छ ।
त्यस्तै हामी निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रलाई दोस्रो प्राथमिकता राखेका थियौँ । त्यसै अनुसार नारायण नगरपालिकाका नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि ठोस कामहरू गरेका छौँ । नारायण नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिक, गर्भवती आमा, सुनौला हजार दिनका आमा र बालबालिकाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ ।
ज्येष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम अनुसार ज्येष्ठ नागरिकको घरदैलोमै दुई–दुई महिनामा घरमै पुगेर स्वास्थ्य परीक्षणसँगै औषधी वितरण, गर्भवतीसँग उपमेयर कार्यक्रम अनुसार गर्भवतीलाई न्यानो कपडा र आवश्यक औषधी, निःशुल्क एम्बुलेन्स सेवा, असल आमा प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालन गरेका छौँ ।
त्यो सँगै नारायण नगरपालिका–३, ४, ५, १० वडाका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउनका लागि त्रिवेणी स्वास्थ्य संस्थालाई दश शय्याको अस्पतालका रूपमा विकास गर्ने गरी पुर्वधार निर्माण गरेका छौँ । नगरपालिकाकाका त्रिवेणी, भवानी, विन्ध्याबासीनीमा २४ सै घण्टा सेवा प्रवाह गर्नका लागि नीतिगत निर्णय गरेका छौँ ।
त्यस्तै सामाजिक सुरक्षामा समेत नारायण नगरपालिकाले महत्वपूर्ण कार्य गरेका छ । नारायण नगरपालिका भित्र रहेको विवाह नगरी एकल बसेका महिला, पुरुष, र यौनिक अल्पसंख्यक रहेका नागरिकहरूलाई सेवा दिने उद्देश्यले सामाजिक सुरक्षा कोष निर्माण गरी मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरेका छौँ ।

शिक्षा क्षेत्रमा एक वर्षमा भएका काम के–के हुन् ?
शिक्षा क्षेत्रमा समेत नारायण नगरपालिकाले महत्वपूर्ण कामहरू अगाडी सारेको छ । शैक्षिक सुधारका लागि नपुग रहेको दरबन्दीमा नगर शिक्षकको अनुदान दिएर पठन पाठन प्रभावकारी बनाएका छौँ । विद्यालयमा खानेपानी, भवन, शौचालय निर्माण र विद्यालयमा इमेल इन्टरनेटको व्यवस्था गरेका छौँ । विद्यालयको पठन पाठन र कक्षा व्यवस्थापन, पोषणका कार्यक्रम समेत गरेका छौँ ।
नगरपालिकाले प्राविधिक विषय अध्ययन गर्ने आठ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । पछिल्लो समय महालेखापरीक्षकको कार्यालयले शिक्षकलाई तलब खुवाएको बेरुजु निकाले पछि केही समस्या गरेको भए पनि शिक्षक नराखेपछि बालबालिकाको पढाई प्रभावित हुने भएका कारण शिक्षकहरूलाई नियमित गराउने सोचमा रहेका छौँ ।

किसानको हितमा नगरपालिकाले कस्ता गर्दै आएको छ ?
नगरपालिका अधिकांश नागरिक कृषिमा आत्मनिर्भर छन् । किसानहरूको आय स्तर सुधारका लागि नगरपालिकाले कृषिमा अनुदानदेखि लिएर विभिन्न कामहरू गरेका छौँ । नगरपालिका वडा नं. ११ मा सामुहिक तरकारी खेती, वडा नं. १० मा अर्गानीक तरकारी खेती, वडा नं. २ मा तरकारी खेती गर्ने किसानका लागि अनुदान, वडा नं. १० मा माछा पालन शुरु लगायतका कामहरू गरेका छौँ ।
किसानका घरमा गएर प्राविधिकले कृषि सम्बन्धी जानकारी दिने समेत काम गरिरहेका छौँ । नगरपालिका भित्र रहेका सहकारी मार्फत किसानले उत्पादन गरेको दुधको बजारीकरणका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेका छौँ । किसानले उत्पादन गरेको तरकारी घरबाट तरकारी संकलन गर्नका लागि गाडीको समेत व्यवस्था गरेका छौँ ।

पूर्वाधारतर्फ एक वर्षको अवधिमा गरिएका कामहरू के–के हुन् ?
पूर्वाधारतर्फ नारायण नगरपालिकाको मुख्य बजार केन्द्रको सडक बिस्तार, सडक निर्माणको काम प्रमुखताका साथ सञ्चालन गरेको छ । बर्खामा हिलाम्मे हुने सडक आगामी यही भित्रमा सम्पन्न गर्ने गरी काम शुरु गरेका छौँ ।
नगरभित्रको गौरवको आयोजनाको रूपमा रहेको नगर चक्रपथको काम पनि गरेका छौँ । वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालयमा पुग्ने सडकको स्तरोन्नति जस्ता कार्यहरू गरेका छौँ । विद्यालय भवनहरू निर्माणको समेत कामहरू गरेका छौँ ।
नारायण नगरपालिकाको सबै भन्दा ठूलो समस्या देखिएको डम्फीङ साइड निर्माणका लागि जग्गा प्राप्ति लागि मन्त्रालयको स्वीकृति प्राप्त गरेको र त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि काम अगाडी बढाएका छौँ ।
त्यस्तै पर्यटनका क्षेत्रमा नारायण नगरपालिका हुँदै पञ्चकोशी क्षेत्रमा प्रवेश गर्ने मुख्य सडकको स्तरोन्नतिका लागि संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरेका छौँ । दैलेखमा रहेको ऐतिहासिक र पुरातात्विक कोत गडीको पुर्न निर्माण कार्य सम्पन्न गरेका छौँ । दैलेखमा बेलापुर राज्य हुँदा रहेको बेलापुर ऐतिहासिक दरबारको निर्माणका लागि आवश्यक नीति निर्माण गरी उक्त कार्यको थालनी आगामी वर्षबाट गर्ने तयारी गरेको छौँ ।

एक वर्षमा कस्ता खाले चुनौती देखिए ?
हामीलाई सबै भन्दा ठूलो चुनौती भनेको संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण बजेट राजश्व बाँडफाँडबाट आउन बजेट नआउँदा ठूलो समस्या भयो । हामीले योजना बनाएर कार्यान्वयन चरमा लिएपछि संघीय सरकारले राजश्व बाँडफाँडको रकम नपाउँदा ठूलो समस्या भयो । हामीले शुरु गरेका योजनाहरूको भुक्तानीमा समस्या भएको छ ।
प्रदेश सरकारले समेत अनुदानमा कटौती गरेपछि समस्या देखिएको छ । नारायण नगरपालिकामा मात्र साढे चार करोड रकम आएन । त्यसले सेवा प्रवाहमा समस्या भएको छ । अर्को समस्या भनेको संघीय सरकार मार्फत सञ्चालन हुने योजना प्रणालीका मार्फत हुने तर प्रदेशबाट सञ्चालन हुने योजना नगरपालिकालाई जानकारी नभएर सञ्चालन भएका योजनाले ठूलो समस्या बनाएका छन् ।
प्रदेश सरकारका सांसद, मन्त्री वा सम्बन्धित कार्यालयले योजना निर्माण गर्दा हामीसँग समन्वय गर्दैन त्यसले विकासमा एकद्वार प्रणाली नअपनाएका कारण योजना गुणस्तर निर्माणमा समेत चुनौती देखिएका छ ।

तपाइका आगामी योजनाहरु के–के छन् ?
हामीले निर्वाचनको बेला जनताका बीचमा गरिएका प्रतिबद्धतालाई पूर्ण कार्यान्वयन गर्ने लागेका छौँ । त्यो बाहेक नगरपालिकाका गौरवका योजनाहरू समेत छन् । नारायण चक्रपथलाई कालोपत्रे गर्ने, सबै नागरिकलाई शुद्ध खानेपानी वितरण, नगरको सडक स्तरोन्नति, प्रत्येक वडामा पुग्ने सडकलाई कालोपत्रे, पञ्चकोशी ताल निर्माण, तत्कालीन २२ से २४ राज्य कालमा रहेको बेलापुर राजाको ऐतिहासिक दरबार निर्माण लगायतका योजनाहरू अगाडि बढाउने सोचमा रहेका छौँ ।

संघ/प्रदेश सरकारसँग समन्वय कस्तो छ ?
संघ र प्रदेश सरकारसँग समन्वय गर्दा निकै कठिन भएको छ । संविधानले परिकल्पना गरेको समन्वय, सहकार्य र सह अस्तित्व अनुसार संघ प्रदेश र स्थानीय तह बिच सहकार्य हुनु पर्ने भएपछि अहिले त्यो भएको छैन ।
जिल्लामा बजेट विनियोजनको अवस्था हेर्ने हो भने जुन जिल्लाको मन्त्री छ त्यही जिल्लामा बजेट धेरै जाने समस्या देखिएको छ । संघ सरकारले त्यहाँको भौगोलिक बनावट, जनसंख्याका आधारमा बजेट विनियोजन गर्नुपर्ने भए पनि त्यसो गर्न सकेन यसले के पुष्टि गर्छ भने तीन तहका सरकारबीच समन्वय हुन सकेको छैन ।
प्रदेश सरकारले समेत केन्द्र सरकार जस्तै सिको गरेर मुख्यमन्त्री, मन्त्री भएको जिल्लामा धेरै बजेट विनियोजन गर्ने समस्याले यो व्यवस्थामा समेत चुनौती देखिएको छ । तीन तहका सरकारको मुख्य दायित्व नागरिकका समस्या समाधान गर्दै समृद्ध नेपालको निर्माण गर्नु हो सबैले एक आपसमा समन्वय गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार