दैलेखः दैलेखमा मोतीबिन्दु शल्यक्रिया केन्द्र सञ्चालन हुने भएको छ । मोतीबिन्दु केन्द्र सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख बिच मोतीबिन्दु शल्यक्रिया केन्द्र सञ्चालनका लागि सोमबार सम्झौता भएको हो ।
मोतीबिन्दु शल्यक्रिया केन्द्र सञ्चालन पछि यहाँका आँखाका बिरामीले उपचारका लागि सुर्खेत लगायतका बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्ये हुने भएको छ । मोतीबिन्दु शल्यक्रिया केन्द्र महिनाको अन्तिम शुक्रवार सञ्चालन हुने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका सभापति निर्जन कुमार खत्रीले बताए ।
मोतीबिन्दु केन्द्र सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग रहने सभापति खत्रीले बताए । मोतीबिन्दुको उपचार जिल्लामै दैलेख रेडक्रसले पहिलो पटक सञ्चालन गर्न लागेको बताउँदै उनले नागरिकले सहज र छरितो सेवा पाउने बताए ।
मोतीबिन्दु केन्द्र सञ्चालन तयारी बैठकमा बोल्दै रेडक्रसले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल रेडक्रस सोसाइटी दैलेखका पदाधिकारी सँगको तयारी बैठकमा नागरिकलाई सहजता प्रदान हुने गरी काम गर्नुपर्नेमा जोड दिइएको थियो । छलफलमा रेडक्रसका काम कारबाही पारदर्शी हुनुपर्ने बताउँदै नागरिकलाई सुलभ गुणस्तरीय सेवामा प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो । जनशक्ति अभावका कारण नागरिकलाई सेवा प्रदान गर्न केही समस्या हुने गरेको भए पनि यसलाई व्यवस्थित गर्दै लैजाने जिल्ला सभापति खत्रीले बताए ।
सेवा लिन आएका नागरिकको मर्यादालाई ख्याल गर्नुपर्ने नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालका व्यवस्थापक धन बहादुर थापाले बताए । उनले सेवामा भावना जोडिएकोले यसतर्फ कर्मचारीले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।






