पाँच सय नागरिकलाई निःशुल्क उपचार

दैलेख : दैलेखको नौमूले गाउँपालिकामा गरिएको निःशुल्क दन्त शिविरमा पाँच सय बढीले उपचार पाएका छन् । दाँत सम्बन्धि उपचारमा देखिएका विभिन्न समस्याहरूको बारेमा गाउँमै विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली पुगेको थियो । दैलेखी सेवा समाज काठमाडौँ, सगरमाथा हेल्थ फाउन्डेसन, हेल्थ केयर नेपाल र गाउँपालिकाको समन्वय र सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

दुर्गमका जनतामा दाँतलाई कसरी सफा राख्ने भन्ने विषयमा जनचेतना जरुरी रहेको र धेरै जसो बालबालिकाहरूको दाँतमा किरा लागेर निकै समस्या बेहोर्नुपरेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।
सगरमाथा हेल्थ फाउन्डेसनका अध्यक्ष दीपकराज जोशीले कर्णालीका विभिन्न दुर्गम बस्तीहरूमा पुगेर विभिन्न खाले स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको बताएका छन् । दैलेखको दुर्गम नौमूलेमा पनि दाँतका बिरामीहरूको उपचार गर्न पाएकोमा आफू खुसी भएको जोशीले बताएका छन् ।


दैलेखी सेवा समाज काडमाडौंका अध्यक्ष प्रताप शाहीले दैलेखका सबै पालिकाहरूसँग समन्वय गरेर विभिन्न स्वास्थ्य समस्याको बारेमा निःशुल्क शिविरहरू आफूले सञ्चालन गरिरहेको र अन्य पालिकाहरूले चाहना गरेको खण्डमा पनि शिविरहरू ल्याउने तयारी भएको बताएका छन् ।

नौमूले गाउँपालिकाका अध्यक्ष छवी सुवेदीले दुर्गम बस्तिका बासिन्दाहरुले दाँतको उपचार गर्न धेरै रकम खर्च गर्नुपर्ने बाध्यता भएकोले पालिकामै निशुल्क शिविर सञ्चालन गरेको बताएका छन् । नौमूलेमा उपचार पश्चात् आएको स्वास्थ्यकर्मीहरूको टोलीले नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्मालाई समेत भेट गरेका छन् । भेटमा नगर प्रमुख लोमन शर्माले नारायणमा पनि मुटु, पाठेघर समस्या र दाँत सम्बन्धी समस्या भएका व्यक्तिहरूको पहिचान गरेर शिविरका लागि टोली मगाउने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार