कर्णालीमा उत्पादित अदुवा र बेसार स्वदेशमा भन्दा विदेशमा बढी निर्यात

सुर्खेत : हिजोआज किसानको एउटा गुनासो सुनिन्छ, ‘उत्पादन गरेर मात्र के गर्नु ? बिक्री नै हुँदैन ।’ अर्थात् अधिकांश किसानले बजारीकरणको समस्या रहेको गुनासो गर्छन् । उत्पादन भए पनि त्यसले बजार नपाएको गुनासो किसानको हुन्छ । तर अर्गानिक र गुणस्तरीय उत्पादन गर्न सकेमा बजारको समस्या भने छैन । यसको गतिलो उदाहरण सुर्खेतको भेरीगंगा नगरपालिकाको वडा नं ५ स्थित कालीदमारमा रहेको अदुवा प्रशोधन उद्योगले दिएको छ । यही उद्योगले हाल कर्णालीमा उत्पादन भइरहेको अदुवा र बेसारलाई युरोपसम्म निर्यात गरिरहेको हो ।
कर्णालीमा अदुवा र बेसार उत्पादनको राम्रो सम्भावना छ । यहाँ उत्पादन भएको अदुवा स्वदेशमा मात्र होइन, विदेशमा समेत निर्यात हुन थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशबाट अदुवाको माग धेरै आउने गरेको छ । जसले गर्दा उद्योगले प्रशोधन गरेर हाल युरोपसम्म अदुवा निर्यात गरिरहेको हो । शुरुवातमा यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । तर कालीदमारस्थित द अर्गानिक भ्यालीमा रहेको अदुवा प्रशोधन उद्योगले अदुवा प्रशोधन गर्न सुरु गरेपछि स्वदेशमा भन्दा विदेशमा बढी निर्यात हुन थालेको हो ।
यहाँ उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले युरोपबाट यसको माग बढी छ । यस्तै जर्मनीबाट समेत अदुवाको माग आइरहेको उद्योगले जनाएको छ । औसतमा एक सिजनमा यो उद्योगबाट ६ लाख युरो बराबरको अदुवा र बेसार निर्यात हुँदै आएको छ । ‘किसानले नै उत्पादन बढाउन सकेका छैनन्’ उद्योगका संचालक समिर नेवाले भने, ‘उत्पादन धेरै भएको बेलामा त हामीले १२ लाख युरो बराबरको अदुवा निर्यात गरेका छौं, तर माग अनुसार उत्पादन नै हुन सकेको छैन ।’ किसानबाट कम उत्पादन भइरहेकाले औसतमा वर्षेनी ६ लाख युरो बराबरको अदुवा र बेसार विदेश निर्यात गर्दै आइरहेको उनले बताए ।
विदेशबाट धेरै माग भइरहेकाले अब किसानलाई अदुवा र बेसारको उत्पादनमा प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । विदेशबाटै माग धेरै भएकाले किसानलाई बजारीकरणको समस्या नभएको भन्दै उनले किसानलाई उत्पादन बढाउनका लागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘बिक्रीको कुनै समस्या छैन, हामीले विदेशसम्म निर्यात गर्न थालेका छौं । किसानले गरेको उत्पादनलाई हामी जिम्मा लिन्छौं, उत्पादन बढाउनुस् ।’ वर्षेनी १५ सय मेट्रिक टन अदुवा र बेसार प्रशोधन गर्न सकिने भएकाले पनि समस्या नभएको उनको भनाइ छ । अब उद्योगमा सुकाउन समस्या नभएकाले १२ सय मेट्रिक टन अदुवा र ३ सय मेट्रिक टनसम्म बेसार प्रशोधन गर्न सकिने उनले बताए । ‘कर्णाली अर्गानिक अदुवा र बेसार उत्पादन हुन्छ’ उनले भने, ‘हामीले प्रशोधन गरेको अदुवा र बेसारमा विदेशीको विश्वास बढ्दो छ, विषादीरहित र शुद्ध भएकाले पनि युरोपबाट माग धेरै आउँछ ।’
सबैभन्दा धेरै अदुवा उत्पादन सल्यानमा
 अदुवा उत्पादनका लागि कर्णालीको हावापानी उपयुक्त छ । यहाँका सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छ । तर उद्योगका अनुसार सबैभन्दा बढी अदुवा सल्यानमा उत्पादन हुन्छ । सल्यानबाट मात्र एक सिजनमा १२ सय मेट्रिक टनसम्म अदुवा उद्योगमा आउने गरेको उद्योग संचालक नेवाले जानकारी दिए । उनका अनुसार रुकुमबाट ८ सय र सुर्खेतबाट २ सय मेट्रिक टनसम्म अदुवा उद्योगमा आउने गरेको छ ।
 त्यसमा बेसारसमेत गरेर वर्षमा बढीमा उद्योगमा २३ सय मेट्रिक टनसम्म अदुवा र बेसार आउने गर्दछ । उद्योगका संचालक नेवाले भने, ‘पहिला प्रशोधन नहुँदा अदुवा र बेसारले मूल्य पाएन, त्यो बेला किसानले दुःख अनुसार बजारको समस्या भोगे । अचेल त्यो समस्या छैन, हामीले बरु अब किसानलाई उत्पादन बढाउनका लागि प्रोत्साहन गरिरहेका छौं ।’ यहाँका सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा र बेसारको उत्पादन हुने सम्भावना भएकाले उत्पादनलाई वृद्धि गर्न सकेमा विदेशको माग पनि धान्न सकिने नेवाको भनाइ छ । अदुवा र बेसार नगदे बाली भएकाले पनि अब किसानले अन्नबालीको साटो यसको उत्पादन बढाउनुपर्ने उनले बताए ।
सिस्नो र टिमुर पनि निर्यात !
कर्णालीबाट अदुवा र बेसार मात्र होइन, सिस्नो र टिमुर पनि विदेश निर्यात हुने गर्दछ । विदेशबाट माग हुने भएकाले उद्योगले अचेल किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको हो । किसानबाट खरिद गरिएको सिस्नो र टिमुरलाई प्रशोधन गरेर विदेश निर्यात गरिन्छ । यसका लागि उद्योगमा सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ । सिस्नो र टिमुरको विदेशबाट समेत माग आउन थालेकाले अब कर्णालीका किसानलाई आम्दानीमा सहज हुनेछ । यहाँका किसानले सिस्नो र टिमुरको खेती गरेर आम्दानी बढाउन सक्नेछन् । यसका लागि स्थानीय सरकारले किसानलाई आवश्यक सहजीकरण र प्रोत्साहन गर्नुपर्ने उद्योगका संचालक नेवाले बताए ।
यस्तै अदुवा र बेसारलाई पनि उद्योगमा प्रशोधन गरेर पाउडर बनाइन्छ । यही पाउडर विदेशसम्म निर्यात हुन्छ । तर अदुवालाई धुलो (पाउडर) बनाउनु अघि धेरै प्रक्रिया पूरा गरिन्छ । शुरुमा अदुवालाई राम्रोसँग धोएर पखालिन्छ । त्यसपछि त्यसलाई काटेर सुकाइन्छ । राम्रोसँग सुकेपछि त्यसलाई पाउडर बनाएर प्याकिङ गरिन्छ । अनिमात्र अदुवा बजारमा पठाउने गरिएको उद्योग संचालक नेवाले बताए । तर अदुवालाई खुला स्थानमा सुकाउन सहज छैन । त्यसका लागि राम्रोसँग घाम लाग्नुपर्दछ ।
तर पछिल्लो समय उद्योगमा ग्रिन हाउस ड्राइङ सिष्टम जडान गरिएको छ । जसले गर्दा घाम नलागेको बेलामा पनि अदुवा र बेसार सुकाउन सहज भइरहेको हो । उद्योगमा कार्यरत कर्मचारी टीका वलीका अनुसार यसमा एक पटकमा चारसय किलोसम्म अदुवा सुकाउन सकिन्छ । यसकारण पनि अब उद्योगमा अदुवा र बेसार सुकाउनका लागि कुनै समस्या छैन । उनका अनुसार यो सिष्टममा सिस्नो ६ घण्टामै सुक्छ । त्यसैगरी टिमुर २ दिनमा, अदुवा र बेसार भने तीन दिनमै सुक्छ । विगतमा यस क्षेत्रका किसानले बजारीकरणको समस्या भोगे पनि अब त्यो समस्या टरेको उद्योगको दाबी छ ।
रोजगारीमा स्थानीयलाई प्राथकिता
 विदेशसम्म निर्यात हुन थालेपछि अदुवा र बेसार उत्पादन गर्ने किसानलाई लाभ भइरहेको छ । उद्योगले नै खरिद गरिदिने भएकाले किसानलाई कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन । बरु उत्पादन बढाउन सकेमा किसानले थप आम्दानी गर्न सक्ने अवस्था छ । अर्कोतर्फ यो उद्योगले हाल १४ जना कर्मचारी र ७० जना कामदारलाई रोजगारी दिएको छ । जसमा ७० प्रतिशत महिला कार्यरत छन् । उद्योग रहेको स्थानका बासिन्दालाई रोजगारीमा प्राथमिकता दिइएको छ ।
स्थानीय मनिषा खत्रीले आँगनमै रोजगारी पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘उद्योगले आँगनमै रोजगारी दिएको छ, काम खोज्दै भौंतारिनु परेको छैन । बालबच्चा पढाउँदै काम गर्न पाएका छौं, घरमै बसेर आम्दानी भइरहेको छ ।’ उद्योगमा महिलाहरुलाई बढी प्राथमिकता दिने गरिएको छ । स्थानीय महिलाहरुले उद्योगमा काम गर्न आउने भएकाले उनीहरुका बालबच्चालाई पढाउने काम उद्योगले नै गरेको छ । यसका लागि उद्योगभित्रै विद्यालय स्थापना गरिएको छ । जहाँ शिक्षक पनि नियुक्त गरिएका छन् । महिलाहरु बालबालिकालाई सँगै लिएर उद्योगमा पुग्छन् । बालबालिकाहरु दिनभर उद्योगमै रहेको विद्यालयमा पढ्छन् भने महिलाहरु उद्योगको काम गर्दछन् । बालबच्चाहरुले निःशुल्क पढ्न पाएकाले पनि आफूहरुले ढुक्कसँग काम गर्ने गरेको मजदुरको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार