स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रासाउन्ड सेवा

दैलेख: दैलेखको दुल्लु नगरपालिका–१३ मा रहेको मालिका स्वास्थ्य चौकीमानिःशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ । ग्रामीण भेगका गर्भवती आमाहरूको अल्ट्रासाउन्ड गर्ने उद्देश्य सहित मङ्गलबार देखि स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउन्ड सेवा सुचारु गरिएको हो ।

दुल्लु नगरपालिकाका प्रत्येक स्वास्थ्य संस्थामा निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार मङ्गलबारदेखि मालिका स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रासाउन्ड सेवा सुचारु गरिएको स्वास्थ्य इकाइका सह–संयोजक हिमाल आचार्यले जानकारी दिए ।

मङ्गलबार देखि सञ्चालन हुने गरी उद्घाटन गरिएको निःशुल्क अल्ट्रासाउन्ड सेवा मार्फत सेवा क्षेत्रभित्र रहेका २४ जना गर्भवती महिलाहरूको निःशुल्क अल्ट्रासाउन्ड गरिएको उनले बताए । २४ जनामध्ये ६ जनामा सामान्य खालको जटिलता देखिएको र दोस्रो पटक पनि अल्ट्रासाउन्ड गर्न आग्रह गरिएको आचार्यले बताए ।

निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत गर्भवती आमाहरूको स्वास्थ्यको चेकजाँच गर्नुका साथै उनीहरूलाई गर्भावस्थाका विषयमा जानकारी दिने गरिएको स्वास्थ्य इकाइमा कार्यरत अनमी लक्ष्मी भण्डारीले बताइन् । ‘अल्ट्रासाउन्ड गर्दा आमा र पेटभित्रको बच्चाको अवस्था हेर्छौँ । जटिलता देखिएमा सुविधा सम्पन्न अस्पतालमा जान सल्लाह दिन्छौं,’ उनले भनिन् ।

स्वास्थ्य इकाइमा सेवा लिन आएका गर्भवतीलाई उनीहरूले गर्भावस्थामा खानुपर्ने पोसिलो खानेकुराको बारेमा जानकारी दिने गरेको जनाइएको छ । अल्ट्रासाउन्ड गरेपछि आमाहरूलाई सामूहिक रूपमा गर्भावस्थाका विषयमा जानकारी दिने र उनीहरूले अपनाउनुपर्ने सतर्कताका विषयमा समेत जानकारी दिने गरिएको अनमी भण्डारीले बताइन् ।

नगरपालिकामा दुल्लु अस्पतालको पहुँच बाहिर रहेका प्रत्येक स्वास्थ्य संस्थामा गर्भवती आमाहरूको निःशुल्क अल्ट्रासाउन्ड गर्ने भावी कार्यक्रम रहेको दुल्लु नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक हिमाल आचार्यले बताए ।

गर्भवती आमाहरूको स्वास्थ्य अवस्थाका बारेमा समयमै जानकारी लिएर मातृ तथाशिशु मृत्युदरलाई शून्यमाझार्ने आफूहरूको लक्ष्य रहेको उनको भनाई छ । गत वर्ष दुल्लु अस्पतालको प्राविधिक र दुल्लु नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाका ११, १२ र १३ वडाका करिब दुई सय बढी आमाहरूको स्वास्थ्य केन्द्र विनायकमा निःशुल्क अल्ट्रासाउन्ड गरिएको थियो ।

सोही अनुसार यस वर्ष पनि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई दुल्लु नगरपालिकाको सबैभन्दा भौगोलिक विकटता भएको वडा नं. १३ मा वर्षभरी नियमित रूपमा सेवा प्रदान गर्न स्वास्थ्य चौकी मालिकामा एकसेट भिडियो एक्सरे मेसिन र सेवा प्रदान गर्न आवश्यक दक्ष जनशक्ति र सामाग्रीउपलब्ध गराइएको छ ।

ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी मालिकामार्फत प्रत्येक महिनाको २, ३ र ४ गते क्रमशः गौरी स्वास्थ्य चौकी, कालभैरव स्वास्थ्य चौकी र छिउडिपुसाकोट स्वास्थ्य चौकीमा मासिक रूपमा नियमित अल्ट्रासाउन्ड सेवा प्रदान गर्ने स्वास्थ्य शाखा सहसंयोजक आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार