कोशी र मधेश प्रदेश विजयी

सुर्खेत ः नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व तारिणीविक्रम (टी.बी) शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन कोशी र मधेश प्रदेश विजयी भएका छन् । सोमबार पहिलो दिन वीरेन्द्रनगर मैदानमा भएको खेलमा मधेशले सुदूरपश्चिमलाई ७ विकेट र कालुचोक मैदानमा भएको अर्को खेलमा मधेशले कर्णालीलाई ९२ रनले हराउँदै ३–३ अंक हात पारेका हुन् ।
टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरसम्म खेल्दा सबै विकेट गुमाएर २ सय १४ रनको लक्ष्य खडा गरेको थियो । घरेलु मैदान र दर्शकका साथ पाएको कर्णाली भने २५ ओभर ४ बलमा अलआउट हुँदा जम्मा १ सय २२ रन मात्र जोड्न सफल भयो । पहिलो ईनिंगको ओपनरका रुपमा आएका मधेशका कप्तान परिमर्जन यादवले टिमलाई तीव्र शुरुवात दिलाउने क्रममा १ सय ४ को स्ट्राईक रेटसंगै २५ बलमा २६ रन जोड्दै टिमका लागि जीतको बलियो जग बसाले । उनैले बनाएको जगमा उभिएर खेलेका मधेशका सलमान अलि मनसुरीले सर्वाधिक ४२ सन्तु मण्डलले २८ रनको योगदान दिंदा रोहन यादव र अभय यादवले आप्mनो तर्फबाट समान २०–२० रन थपे ।
कर्णालीका कप्तान विपिनप्रसाद शर्माले अपेक्षित प्रदर्शन गर्दै १० ओभर बलिङ गर्दा ७ मेडेन र ५७ डट कायम राखे भने जम्मा ३ रन खर्चेर २ विकेट लिएर घरेलु दर्शकलाई सान्त्वना दिए । एकपछि अर्को विकेट झारेर शुरुवाती अग्रता दिलाउने क्रममा कैलाश खड्का, विजय बोहोरा र निश्चल हमालले समान २–२ विकेट लिएपनि मधेशलाई ठूलो स्कोर बनाउनबाट रोक्न भने कर्णाली असफल रह्यो ।
२ सय १५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको कर्णालीका लागि ओपनर कौस्तुभ खड्काले ३१ बलमा २५ रन जोड्दै आक्रामक शुरुवात गर्ने लक्षण देखाए । तर । उनलाई ननस्ट्राईकमा टिकेर सघाउने अर्को ब्याटर नहुँदा कर्णालीले लय गुमाउँदै गयो । त्यसपछि एकैचौटी छैठौं नम्बरमा क्रिजमा आएका विजय बोहराले १५ र सातौं नम्बरमा क्रिजमा आएका विजय शाहीले १९ जोड्न बाहेक अरु कुनै ब्याटरले सन्तोषजनक प्रदर्शन गर्नसकेनन् ।
त्यसअघि सकिएको अर्को खेलमा कोशी प्रदेशले सुदूरपश्चिमको टोलीलाई हराउँदै पहिलो जितको रेकर्ड बनाएको छ । सुदूरपश्चिममाथि ७ विकेटको फराकिलो जीत निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै पहिलो जीत निकाल्दै रेकर्ड बनाएको हो । टस जितेर फिल्डिङ रोजेको कोशीले बलिङ र फिल्डिङ दुबैमा नियन्त्रण राख्दै सुदूरपश्चिमको टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो ।
सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिंदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो । कोशीका लागि निकै प्रभावकारी सावित भएका राजीव महतोले ५ ओभर ३ बलमा ३ दशमलव ८२ को औषतमा २१ रन खर्चिएर ५ विकेट लिए । निकै अनुशासित बलिङ गरेका महतोले २३ डट खेल्दा २ ओभरको मेडन मेन्टेन गरे ।
बलिङ र फिल्डिङलाई जीतको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले ३ र सुयोग भट्टाराईले १ विकेट लिंदै सुदूरलाई पहिलो जीतबाट विमुख गराए । १ सइ २ रन्क्ँे सहज लक्ष्यसहित जवाफी ब्याटिंगमा उत्रिएको कोशीको पहिलो जीतमा शिवांश बजगाईँको ३४ रनको पारी महत्वपूर्ण बन्यो । २६ बल खेलेका शिवांशले ६ चौका ठोक्दा उनलाई पछ्याएका प्लेयर अफ दि म्याच राजिव महतोले नटआउट ३० रन बटुलेर टिमको जीत सहज बनाए । ५९ रन खेलेका महतोले ५० को औसतमा ४ चौकासहितको व्यक्तिगत स्कोर खडा गरे । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना, प्रदेश क्रिकेट संघको सह–आयोजना तथा जिल्ला क्रिकेट संघको व्यवस्थापनमा पहिलो पटक क्यानको औपचारिक प्रतियोगिता कर्णालीमा भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार