छाउ बार्न त्रिपालमा बसेकी महिलासहित दुईको ढुंगाले लागेर मृत्यु

अछाम : पञ्चदेवल विनायक नगरपालिका–८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी (छाउ) बार्न त्रिपालमा बसेकी एक महिला र सँगै रहेकी एक बालिकाको ढुंगा लागेर मृत्यु भएको छ । घरछेउमा टाँगेको त्रिपालमा माथिबाट खसेको ढुंगाले लाग्दा ३९ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ज्यान गएको हो । मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारी घाइते भएकी छन् ।

मृतक खनालका दुई छोरा र एक छोरी छन् । उनका श्रीमान् श्री खनालको गत वर्ष हृदयघातबाट मृत्यु भएको भएको थियो । मंगलसेन नगरपालिका–६ की कविता भण्डारी भने मामा घर बस्दै आएकी थिइन् । उनकी आमा रत्नकला भण्डारी छाउ बार्न छोरीसहित त्रिपालमा बसेकी थिइन् । उनको सुर्खेतमा उपचार भइरहेको छ । निम र रत्नकला छाउ बार्न चार दिनसम्म बारीमा त्रिपाल हालेर बसिरहेका थिए । वर्षा नरोकिएपछि बिहीबार पाँचौं दिन उनी घरछेउ सरेका थिए ।

शुक्रबार घटनास्थलमा पुगेकी पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउनेका अनुसार ती महिला पानी मात्र छेक्ने थोत्रो त्रिपाल टाँगेर बसेका थिए । माथिबाट ठूलो ढुंगा खसेपछि ७ वर्षीया बालिकाको टाउको र खुट्टामा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो । टाउकोमा गहिरो चोट लागेकी निमको शुक्रबार बिहान मृत्यु भएको हो । ‘पहिले गोठमा बस्न मिल्दैन भनेर भत्कायौं । अहिले बारीमा त्रिपाल हालेर बस्न थाले । यसविरुद्ध कसरी लाग्ने भनेर चाँडै कार्यपालिकाबाट निर्णय गर्छौं,’ नगर प्रमुख चलाउनेले भनिन् ।

स्थानीय महिला देउताको डरले महिनावारीका बेला कोही पनि घरभित्र नबस्ने गरेको निवर्तमान वडाध्यक्षसमेत रहेका मृतक निमका आफन्त ताराप्रसाद खनालले बताए । ‘कुइँकेल्नी माई देवीको कारण यहाँ महिनावारीमा कोही घरनजिक बस्न मान्दैनन्,’ उनले भने, ‘छाउगोठ भत्काइएपछि धेरै महिला त्रिपाल टाँगेर बस्ने गरेका छन् । महिनावारी भएका बेला घरनजिक जान नमिल्ने सामाजिक नियम कडा छ ।’ उनका अनुसार बारलामा रहेका करिब ८ सय घरधुरीमध्ये झन्डै ३० परिवारका महिला मात्रै महिनावारी भएको समयमा घरमा बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार