सुर्खेत : फिरन्ते जीवन बिताउँदै आएको अल्पसंख्यक राउटे समुदायको एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय गोविन्द शाही हुन् । सुर्खेतको लेकबेँसी नगरपालिका–१० मा बसोबास गर्दै आएका उनको सोमबार मृत्यु भएको राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको उनले बताए । उनले भने, ‘अघिल्लो महिना भत्ता बुझेदेखि राउटे समुदायका सदस्यहरूले मदिरा सेवन गरिरहेका थिए । गोविन्दले पनि निरन्तर रूपमा मदिरा सेवन गरिरहेका थिए । मदिराकै कारण उनको मृत्यु भयो ।’ उनी सोवंशी राउटेका मुखिया दिलबहादुरका छोरा हुन् । उनको मृत्युसँगै राउटेको जनसंख्या १ सय ३६ झरेको छ ।






