काठमाडौं : यही सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२०आई सिरिजमा खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्यान उपाध्यक्ष रोशन सिंह सचिव पारस खड्कालगायतले टोलीको बिदाइ गरे ।
कार्यक्रममा बोल्दै सचिव खड्काले राम्रो प्रदर्शन गर्न र त्यसपछि हुने विश्वकप छनोटमा पनि सोही लय कायम राखी विश्वकपमा छनोट भएर आउन शुभकामना दिए । त्यस्तै राखेपका सदस्यसचिव टंकलाल घिसिङले पनि सिंगो देशमा नेपाली क्रिकेटप्रतिको लगाव बढ्दै गएको बताउँदै अझै उच्च स्तरको प्रदर्शन गर्ने अपेक्षा रहेको बताए । उनले सिरिज र विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना पनि दिए ।
त्यस्तै कप्तान रोहित पौडेलले पनि यो ऐतिहासिक सिरिज खेल्न उत्साहित रहेको बताउँदै सिरिजमा राम्रो प्रदर्शन गर्ने र विश्वकपमा छनोट पनि भएर फर्कने प्रतिबद्धता व्यक्त गरे । त्यसअघि जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन पनि गरिएको थियो । सिरिजका लागि दुवै टोलीको घोषणा भइसकेको छ । रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भएको छ भने अकिल होसेनको कप्तानीमा वेस्ट इन्डिजको टोली घोषणा भएको छ ।
सिरिजको पहिलो खेल २७ सेप्टेम्बरमा हुनेछ । त्यस्तै दोस्रो खेल २९ र तेस्रो खेल ३० सेप्टेम्बरमा हुनेछ । यस सिरिजलगत्तै नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिकको रिजनल फाइनलमा सहभागिता जनाउनेछ । त्यसकारण उक्त छनोटका लागि यस सिरिज अन्तिम तयारीमा रूपमा रहनेछ । अस्ट्रेलियामा खेलेको अनुभव बोकेर वेस्ट इन्डिजसँग खेल्दै बलियो प्रदर्शन गर्ने र त्यही लयलाई विश्वकप छनोटसम्म कायम राख्ने नेपालको लक्ष्य हुनेछ ।
नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर






