नजिकियो चाडपर्व कर्णालीमा ४२ ठाउँमा सुपथ पसल

सुर्खेत : बहुसंख्यक नेपालीले मनाउने दसैं, तिहार तथा छठ जस्ता चाडपर्व नजिकै आइसकेका छन् । यस्ता पर्वको सामाजिक र धार्मिक पक्षका अतिरिक्त परिवारजनसँगको भेटघाट पनि मुख्य हिस्सा हुने गरेको छ । त्यसैले रोजगारीका लागि विदेश पुगेका कैयौं नेपालीले यही अवसरमा आफ्नो बिदा मिलाउने गर्छन् र स्वदेश फर्किन्छन् । देशभित्र पनि अध्ययन, रोजगारी, व्यवसाय वा विभिन्न कारणले छरिएका प्रायजसो आफ्नै गाउँठाउँ पुग्छन् । सरकारी वा निजी कार्यालय यही बेला बन्द हुन्छन् । चाडपर्व नमान्नेहरूले पनि लामो बिदालाई उपयोग गर्नका लागि भ्रमणमा निस्किन्छन् । यो सबैको सार के हो भने, अबको एक–डेढ महिना मानिसको व्यापक रूपमा आवतजावत हुनेछ ।

अर्कोतर्फ चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्ने गरेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल लगायतको खाद्यान्नको मूल्य क्रमिक बढ्न थाल्छ । त्यसैलाई मध्यनजर गर्दै हरेक वर्ष चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन ल्याउने गरिन्छ । यसवर्षपनि कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । दसैँ तथा तिहारलाई लक्षित गर्दै गत भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेशिक कार्यालयका प्रमुख केशवराज बुढाले जानकारी दिए ।

सहुलियतमा बिक्रीवितरण हुने चामल, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको छ । तेलमा प्रतिलिटर सात छुट दिइएको छ । हाल १८ स्थानबाट गत सोमबारदेखि नै सहुलियत रुपमा खाद्यान्न बिक्रीवितरणको काम सुरु गरिएको छ । गत सोमबार डोल्पामा सदरमुकाम दुनै, जुफाल मुड्केचुलाको सर्मी, कालीकोट सदरमुकाम मान्मा, पादमघाट, खल्लागाड, जाजरकोटको सदरमुकाम, नायकवाडा, घोगीमा सुपथ मूल्य पसल सञ्चालन भएको छ ।

त्यस्तै मुगुको सदरमुकाम गमगढी, श्रीकोट र सोरुकोटमा आजैदेखि सञ्चालनमा आएको छ । रुकुमपश्चिमको सदरमुकाम मुसीकोट, हुम्लाको श्रीनगर, सर्केगाडमा सुरु भएको छ । जुम्लाको सदरमुकाम खलङ्गा, दैलेख सदरमुकाम र सुर्खेतको सदरमुकाममा बिक्रीको काम सुरु भएको छ । अठार डिपो तथा शाखाका साथै २४ वटा स्थानीय तहमा बिक्रीको काम सुरु भएको जनाइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल चामल १२ हजार क्विन्टल, चिनी १२४ क्विन्टल, २६ हजार लिटर तेल मौजदात रहेको छ । हाल अरुवा मोटा चामल, अरुवा मोटा एफ आर, अरुवा सोना मन्सुली, अरुवा मन्सुली एफ आर , स्टीम जिरा मसिनो , स्टीम जिरा मसिनो एफ आर, सूर्यमुखी तेल, सोयाविन तेल, तोरी तेल र चिनी बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार