झुटा कुरा सहन सकिँदैन, नगरपालिकाका सबै विषयमा छानबिन गर्न नगर प्रमुखको चुनौती – भिडियो सहित

नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले झुटा कुरा सहन गर्न नसकिने भन्दै व्यक्तिगत र संस्थागत रूपमा अनावश्यक भ्रम सृजना गर्ने कामको विरोध गरेका छन् । नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख शर्माले दैलेखको नारायण नगरपालिकामा बेरुजुको विषयलाई लिएर सिङ्गो संस्था र व्यक्तिमाथि लगाइएको भ्रष्टाचारको आरोप असत्य रहेको र पूर्वाग्राही रूपमा बदनाम गराउने काम मात्र भएको टिप्पणी गरेका छन् ।
आफूहरूले निर्वाचन पश्चात् अघिल्ला सरकार चलाएकाहरूका बेलादेखिको बेरुजु फच्र्योट गर्ने कामलाई थप प्रभावकारी बनाउँदै करिब तीन करोड बढी बेरुजु रकम मिलान गरेको तर केही सञ्चारकर्मीहरूले अनावश्यक झुटा प्रचार गरेर व्यक्तिगत चरित्रमाथि समेत आँच आउनेगरि समाचार प्रकाशन र प्रसारण गरेको भन्दै नारायण नगरपालिकाका सबै विषयमा छानबिन गर्न चुनौती दिएका छन्
“ म मेरो व्यक्तिगत सम्पत्ति र नारायण नगरपालिकाका जनप्रतिनिधिहरूको छानबिन गर्न सुरुमा आह्वान गर्दछु, गल्ती भए कारबाही भोग्न तयार छौँ तर अनावश्यक झुटा प्रचार गरेर चरित्र हत्या गर्ने छुट कसैलाई छैन, हाम्रो बारेमा समाचार लेखेको न्युज सेभेनलाई मेरो चुनौती छ यहाँ आउनुस्, छानबिन गर्नुस् हाम्रो गल्ती भेटिए कारबाही हुन तयार छौँ नभए तपाईँ आफू कारवाहीको दायरामा आउने आँट राख्नुहोस् ।
हामी निर्वाचन भए यता गत वर्षको मलेपको प्रतिवेदनमा १ करोड ९० लाख बेरुजु छ, त्यसमा कुनै पनि निर्वाचित जनप्रतिनिधिहरूबाट असुल गर्नुपर्ने बेरुजु छैन, विभिन्न प्रक्रिया नपुगेका बेरुजुहरू छन् त्यसलाई पनि हामी नियमित गर्ने तयारी गर्दै सकेसम्म बढ्दो बेरुजु घटाउने अभियानमा छौँ । नगरपालिका सुरु भए देखिको बेरुजुलाई देखाएर अहिले व्यक्तिगत रूपमा नगर प्रमुख माथि आरोप लगाउने कुरा पत्रकारिताको आचारसंहिता विरुद्ध भएको स्पष्ट छ सम्बन्धित निकायहरूले कारबाही गर्न नगरपालिकाले आग्रह गरेको छ । लोमन शर्माले जानकारी दिएका छन् ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के.सी.ले नारायण नगरपालिकाको हरेक वर्षको बेरुजुको बिवरण सार्वजनिक गर्दै, नियमित गर्नुपर्ने बेरुजु र अधिकांश करार शिक्षक र स्वास्थ्यकर्मीको तलबमा खर्च गरिएको रकम बेरुजुको रूपमा आएको तर भ्रामक सुचना प्रकाशन गरेर जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको भन्ने विषय मिथ्या सूचना भएकोले सम्बन्धित निकायले तत्कालै माफी माग्न आग्रह गरेका छन् । त्यसो नभए कानुनी प्रक्रियामा अगाडी बढ्ने के.सी.को भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार