सिमकोट (हुम्ला) : चंखेली गाउँपालिका–४ देसीखोलामा शुक्रबार बिहान ११ः०० बजे बोलेरो जीप दुर्घटना परी घाइते भएकाहरूको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याईएको छ । घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उनका छोरा र चंखेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । घाइते भएका अन्य चार जनाको पनि पुनः उद्धारको तयारी भइरहेको स्थानीय ध्रुव शाहीले बताए । सोही गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जाने क्रममा जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनका अनुसार बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ मनवीर बुढा, उहाँका छोरा र सिमकोट गाउँपालिका–८ की वसन्ती बुढा रहेका छन् । त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारणले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए । ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो । कर्णाली प्रदेश०२००१च १०९१ नम्बर जीप दुर्घटनामा परेको हो ।






