काठमाडौं : हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ । हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरु गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
इसराइली सेनाका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले चार जना मृतक बन्धकबारे पुष्टि गरेका हुन् । विपिन जोशीको अवस्था यसअघि अस्पष्ट थियो । हमासले सोमबार मात्र उनको मृत्यु भइसकेको पुष्टि गरेको हो । नेपालका सुदूरपश्चिमका जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएको थियो । उनी इसराइलमा कृषि प्रशिक्षण कार्यक्रमअन्तर्गत काम गरिरहेका बेला अपहरणमा परेका थिए ।
यसअघि विपिनको परिवार तथा इसराइलस्थित नेपाली दूतावाससँग भिडियो कन्फरेन्स गरेर इसराइली सरकारले विपिन जीवित नरहेको जानकारी दिएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका थिए । ‘इसराइली डिफेन्स फोर्स (आइडिएफ) ले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो,’ राजदूत धनप्रसाद पण्डितले भनेका थिए, ‘परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ ।’






