दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेखमा तीन हजार बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ मतदाता छ सय ९१ र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने दुई हजार ९ सय १३ जना गरी दैलेखमा तीन हजार ६ सय ४ जना नयाँ मतदाता थपिएका हुन् ।
निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेमध्ये छ सय ९१ नयाँ मतदातामध्ये दुई सय ७४ महिला र चार सय १७ पुरुष छन् । राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताए ।
उनका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा नाम दर्ता गरिएका ३१ जनाको आवेदन अस्वीकुत भएको छ । आवश्यक कागजात अपुग हुँदा उनीहरूको आवेदन अस्वीकुत भएको हो । ‘नयाँ मतदाता नामावलीमा नाम दर्ताका लागि राष्ट्रिय परिचयपत्रका आधारमा नाम दर्ता गराउनेमध्ये ३१ जनाको आवेदन अस्वीकुत भएको छ । उहाँरूलाई थप आवश्यक कागजात पु¥याउन सात दिनको समय हुन्छ ।,’ निर्वाचन अधिकारी सलामीले भने ।
दैलेखमा राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने बढी देखिन्छ । प्राप्त विवरण हेर्दा दैलेखमा मतदाता नामावलीमा नाम दर्ता उत्साहजनक रहेको पाइदैन् । दैलेखमा २०७९ सालको निर्वाचनमा एक लाख ५९ हजार ८ सय ६५ मतदाता थिए । ११ वटा स्थानीय तह रहेको दैलेखमा चार वटा प्रदेशसभा र दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् ।






