सुर्खेत : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान सुरु भएको हो । अभियानअन्तर्गत यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएको छ । अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।
नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन । बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् । पछिल्ला वर्षहरुमा प्रविधिको विकाससँगै ‘डिजिटल हिंसा’ बढ्दो छ । जुन महिलाविरुद्ध हुने हिंसाको नयाँ स्वरूप हो ।
महिलामाथि हुने डिजिटल हिंसाको अवस्थामा नेपालमा बढ्दो छन् । पछिल्लो वर्ष मात्र साइबर ब्युरोमा १८ हजार ९ सय २६ साइबर अपराधका घटनाहरू दर्ता भएकोमा ती मध्ये ७ हजार ९०० भन्दा बढी उजुरी महिलाहरूबाट आएका थिए । यसमा १ हजार ८०० अनलाइन दुव्र्यवहार, ४ सय ९५ घृणास्पद अभिव्यक्ति, ८४ यौन दुराचार ९सेक्सटोर्सन० र २७ वटा डिपफेक तथा इमेज मर्फिङका घटना समावेश थिए । विश्वव्यापी रूपमा लगभग ६० प्रतिशत महिलाहरूले डिजिटल दुव्र्यवहारको सामना गरिरहेको राष्ट्र संघको तथ्यांक छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताउँछन् । उनले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुपर्ने बताए । प्रविधिले सिकाइ र कामलाई सहज बनाए पनि धेरै महिला तथा किशोरीका लागि यो क्षेत्र अझै पनि जोखिमपूर्ण र असुरक्षित रहेको औँल्याउँदै मन्त्री खरेलले भने ‘अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमति बिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्छ ।’ डिजिटल हिंसाविरुद्धको लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै मन्त्री खरेलले कानुनी र नीतिगत ढाँचालाई बलियो बनाउने प्रतिबद्धता जनाए । उनले पीडितलाई न्याय दिलाउन र पीडकलाई जवाफदेही बनाउन साइबर कानुनको समीक्षा गरिने जानकारी दिए ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्न सिकाउनुपर्ने बताउँछिन् । लैङ्गिक हिंसा बढिरहेको बताउँदै सानैदेखि महिला पुरुषबीच एकअर्कालाई सम्मान गर्न सिकाए लैङ्गिक हिंसामा कमी आउने बताइन् । उपसभामुख राना मगरले पछिल्लो समय महिला तथा किशोरीमा साइबर आक्रमण अत्यधिक देखिएको भन्दै यसविरुद्ध सचेतना र उहाँले हिंसा रोक्न पुरुषको पनि साथ हुनुपर्नेमा जोड दिइन् ।
नेपाल प्रहरीअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रतिनिधि प्रहरी उपरीक्षक ९एसपी० वसन्धुरा खड्काले लैङ्गिक हिंसा अन्त्य गर्न साहस, ऐक्यबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याउँछिन् । ‘लैङ्गिक हिंसा बढ्दो छ, तर यसलाई रोक्न प्रहरी मात्र काफी छैन, सबैको सामूहिक प्रयास जरुरी छ । सामाजिक सञ्जालमार्फत हिंसा बढी देखिने गरेको छ । यस विषयमा नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ,’ उनले भनिन् । मनोचिकित्सक डा। वासुदेव कार्कीले डिजिटल प्रविधिलाई स्वस्थ्यकर तथा विवेकपूर्ण ढङ्गले चलाउन सके त्यसबाट हुने हिंसा तथा त्यसले उत्पन्न गराउने मानसिक असरबाट बच्न सकिने बताउँछन् । साइबरविज्ञ अभिजित गुप्ताले अनलाइनमा के ‘सेयर’ गर्ने र नगर्ने बुझेर मात्र प्रयोग गर्नुपर्ने बताउँदै प्रविधिको सही प्रयोग गर्न सके हिंसाबाट बच्न सकिने बताउँछन् ।






