दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा एक दिने कृषि मेला प्रर्दशनी गरिएको छ । डुङ्गेश्वर गाउँपालिका र एभरेस्ट क्लब दैलेखको पोषण परियोजनाको आर्थिक सहयोगमा कृषि सामाग्री तथा बाली प्रदर्शनी मार्फत कृषकको श्रम र समयको बचत गरी कृषि उत्पादनमा जोड दिने उद्देश्यले कृषि मेला प्रदर्शनीमा कृषि औजार र बाली प्रदर्शनी गरिएको हो । कृषि मेलाको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले नेपाल कृषि प्रधान देश भएपनी खाद्यान्न, तरकारी तेलहन लगायतका सामाग्री अन्य देशहरू बाट आयत गर्नुपर्ने दुखद अवस्था रहेको बताउँदै अव आयत होइन निर्यात गर्ने गरी युवालाई कृषि पेशामा प्रोत्साहन गर्नका लागी तीन तहकै सरकारले नीति बनाएर लाग्नुपर्ने अवस्था आएको बताए ।
नेपालीको मुख्य पेशा कृषि भएको र कृषि बाट मात्र मुलुक समृद्धिको यात्रामा अगाडी बढ्ने बताउँदै कर्णाली प्रदेश सरकारले कृषकहरूलाई प्रोत्साहन गर्नका लागी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । पछिल्लो समय युवाहरू रोजगारीका लागी विभिन्न मुलुकहरूमा जाने प्रतिस्पर्धा चलिरहेको बताउँदै प्रदेश सरकार र स्थानीय सरकारले आधुनिक प्रविधि सहितको व्यावसायिक कृषि खेतीमा युवाहरूलाई कृषि पेसामा जोड्नका लागी पहल समेत भइरहेको मन्त्री शाहले बताए । पछिल्लो समय जलबायु परिर्वतनका कारण कृषकहरु मारमा परेको बताउँदै त्यसको निराकरणका लागी जलवायु अनुकुलन प्रविधि अपनाउन समेत आग्रह गरे । कृषि पेशालाई अपमान गर्ने समस्या रहेको भन्दै कृषिलाई सम्मानको पेशा बनाउन समेत सबै तह तप्का लाग्नुपर्ने उनको भनाई छ । कृषि बालीमा प्रयोग गर्ने विषादीका सवालमा कर्णाली प्रदेश सरकारले कानुनको मस्योदा समेत तयार गरीरहेको छ ।
एभरेस्ट क्लब दैलेखको पोषण परियोजनाका कृषि जीविकोपार्जन तथा बजारीकरण अधिकृत ललित थापाले कृषि मेलामा कृषि सामाग्री तथा बाली प्रदर्शनी मार्फत कृषकको श्रम र समयको बचत गरी कृषि उत्पादनमा जोड दिने उद्देश्यले उक्त कृषि मेलाको आयोजना गरिएको बताए । उनले जलवायुमैत्री कृषि प्रविधि, एकीकृत शत्रु जीव व्यवस्थापन प्रविधि,पोषण तथा सरसफाइमा सुधार गरी स्वास्थ्य जीवन सुखी परिवार निर्माण गर्ने उद्देश्यले परियोजनाले काम गरिरहेको बताए । कृषि मेलामा प्रदर्शन गरिएको कृषि बाली प्रदर्शन बाट अन्य कृषकहरूलाई प्रोत्साहन हुने उद्देश्य समेत रहेको छ ।
कृषि मेलामा सहभागी डुङ्गेश्वर गाउँपालिका–२ लाकुँरीका कृषक तेज बहादुर विकले आफूले उत्पादन गरेका कृषि बालीहरू ल्याएर प्रदर्शन गर्न पाएको खुसी भएको बताए । उनले आफूले उत्पादन गरेको कृषि बालीको आम गाउँपालिकाका कृषकहरूलाई समेत अवलोकन गर्ने अवसर प्राप्त भएको बताए । ‘हामीले उत्पादन गरेका कृषि बालीहरूको बजारीकरणका लागी गाउँपालिकाले विशेष पहल गर्नुपर्दछ,’ उनले भने ।
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले कृषि उत्पादन र पोषण सुधार गर्नका लागी गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले कृषकहरूलाई जलवायुमैत्री कृषि प्रविधि खेती तर्फ आकर्षण गर्नका लागी आवश्यक तालीम र प्रविधि हस्तान्तरण गरिरहेको बताए । ‘मेलामा राखिएका बाली प्रदर्शन बाट उत्कृष्ट कृषहरूलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ, गाउँपालिकाले विभिन्न वडामा छुट्टाछुट्टै खेती हुने भएकाले माटो जाँच गरेर माटो सुहाउँदो खेती गर्न कृषकहरु आफै जागरूक हुनेछन्,’ उनले भने । मेलामा कृषि मेसनरी औजारमा कुटानी पिसानी मिल, हाते ट्याक्टर, मकै खोल्साउने मेसिन, कृषि बालीमा आलु, साग, सुन्तला, कागती, च्याउ पशु पालनमा कुखुरा, खसीहरू समेत स्टलमा राखिएको थियो ।






