दैलेख : दैलेखको नारायण नगरपालिकालाई सामाजिक सुरक्षा भत्ता लाभग्राही पहुँच सुनिश्चितता पालिका घोषणा गरिएको छ । संविधानमा सामाजिक सुरक्षा भत्तालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरे अनुसार २०३० सम्ममा नेपालका ६० प्रतिशत जनसङ्ख्यालाई आधारभूत सामाजिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य अनुरूप नारायण नगरपालिकालाई नेपालको पहिलो सामाजिक सुरक्षा भत्ता लाभग्राहीको पहुँच सुनिश्चित पालिका घोषण गरिएको हो ।
सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चित गर्न नगरपालिकाले कार्यविधि निर्माण गरी सोही कार्यविधिका आधारमा घर–घरमा सूचना सङ्कलन गरी टोल हुँदै वडा स्तर सम्मका सामाजिक सुरक्षा भत्ता पाउने योग्य लाभग्राहीको पहिचान गरेको थियो । घर, टोल हुँदै वडा स्तरको पहिचानका आधारमा कार्यविधि लागु पछि नारायणमा सामाजिक सुरक्षा भत्ताको पहुँचमा दुई सय ८ जना लाभग्राही समावेश भएका छन् । समावेश लाभग्राहीमध्ये सामाजिक सुरक्षा भत्ता पाउने क्षेत्र तोकिएका बालबालिकाको सङ्ख्या धेरै रहेको छ ।
सामाजिक सुरक्षा नीति तथा आधारभूत कार्यविधि लागु भए पश्चात् अति अशक्त अपाङ्गता भत्ता पाउने १४ जना, अन्य जेष्ठ नागरिक ८ जना, क्षेत्र तोकिएका बालबालिका एक सय ६ जना, जेष्ठ नागरिक एकल महिला ४ जना, जेष्ठ नागरिक दलित १७ जना, दलित बालबालिका ५१ जना, पूर्ण अपाङ्ग १ जना र विधवा ७ जना गरी कार्यविधि लागु पछि दुई सय ८ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही थपिएका नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख तारा खड्काले बताइन् ।
घोषणका लागि सामाजिक सुरक्षा भत्ता लाभग्राहीको पहुँच सुनिश्चितताका लागि ९८ प्रतिशत योग्य व्यक्तिहरूको पहिचान र प्रमाणीकरण, १ सय प्रतिशत बैङ्कमार्फत भुक्तानी प्रणालीमा दर्ता भएका योग्य सेवा ग्राहीहरू, १ सय प्रतिशत सरकारी तालिका अनुसार समयमा भत्ता प्राप्त गर्ने, १ सय प्रतिशत डिजिटल प्रणालीमा दर्ता तथा अद्यावधिक भएका सेवाग्राही, ९८ प्रतिशत जोखिममा रहेका र छुट्न सक्ने सम्भावना भएका समूह, १ सय प्रतिशत समय सीमा भित्र लाभग्राही प्रमाणीकरण र प्रतिवेदन पुरा गर्ने वडा लगायतका मापदण्डहरू पुरा गरिएको थियो ।
नेपालको संविधान २०७२ को धारा ४३ ले आर्थिक रूपमा विपन्न तथा असहाय नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने प्रत्याभूति गरेको छ । संविधान अनुसार पाँच वर्ष मुनिका बालबालिका, एकल महिला (६० वर्ष माथि), विधवा महिला, अपाङ्गता भएका व्यक्ति जेष्ठ नागरिक (७० वर्ष माथि), दलित जेष्ठ नागरिक (६० वर्ष माथि) र लोपोन्मुख समुदायका व्यक्ति सामाजिक सुरक्षा भत्ता योग्य लाभग्राहीमा पर्दछन् । नारायण नगरपालिकामा हाल पाँच हजार १ सय ८५ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही छन् ।
सामाजिक सुरक्षा भत्ता लाभग्राही पहुँच सुनिश्चितता पालिका घोषणाले स्थानीय तहमा समावेशी सामाजिक सुरक्षा, उत्तरदायित्व र पहुँच सुधारको महत्त्वपूर्ण उपलब्धि रहेको जनाइएको छ । यसको दिगो पनाका लागि वडा स्तरमा नियमित तथ्याङ्क अद्यावधिक, सामाजिक सुरक्षा फोकल पर्सनमार्फत निरन्तर अनुगमन, नीति तथा आधारभूत कार्यविधिको वार्षिक अभिमुखीकरण, नगरपालिकाको योजना तथा बजेटसँग एकीकृत र कागजातका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिने जनाइएको छ ।
यस्तै, सामाजिक सुरक्षा भत्ता लाभग्राही पहुँच सुनिश्चितता पालिका घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दिगो विकास लक्ष्य प्राप्तिका निम्ति सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता रहेको बताए । उनले नागरिक जीवन स्तरलाई सुधार गर्न प्रदेश सरकारले नागरिकमैत्री कामहरूको थालनी गरेको बताए ।
बसाइसराइ रोक्ने स्थानीय सरकार र प्रदेश सरकारले शिक्षा स्वास्थ्य लगायतका अत्यावश्यक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । उनले नागरिकको स्वास्थ्य सुरक्षाका निम्ति प्रदेश सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई अघि बढाइएको बताउँदै स्थानीय तहको समग्र विकासका लागि सबै जिम्मेवार ढङ्गले अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले सामाजिक सुरक्षा भत्ता वितरणमा सबै योग्य लाभग्राहीको पहुँच सुनिश्चितता भएको जनाए । उनले मुलुकका सात सय ५३ स्थानीय तहमध्ये सामाजिक सुरक्षा भत्ता वितरण योग्य लाभग्राहीको पहुँच सुनिश्चितता घोषणा गर्ने नारायण पहिलो पालिका भएको जनाए । यसको दिगोपनका निम्ति सबैको सहयोग र समन्वय आवश्यक रहने नगर प्रमुख शर्माले बताए ।
सामाजिक सुरक्षा भत्ता लाभग्राही पहुँच सुनिश्चितता पालिका घोषणा कार्यक्रममा नगरपालिका उपप्रमुख तप्ता कुमारी थापाले राज्यको नीतिमा रहेर पहुँच बाहिर रहेका नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्दै सुनिश्चितता पालिका घोषणा गरिएको बताइन् । उनले योग्य नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट नछुटुन् भन्ने उद्देश्यले मापदण्ड पुरा गरी सामाजिक सुरक्षा भत्ता लाभग्राही पहुँच सुनिश्चितता पालिका घोषणा गरिएको बताइन् ।






