कालिकोट : कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो । जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन सकिएको छैन ।
दुर्गममा पर्ने यो विद्यालयले सङ्घीय अनुदान कोटामा गत वर्ष प्राप्त गणित विषयको दरबन्दीमा शिक्षक नपाएपछि १९औँ पटकको विज्ञापन गरेको हो । वैशाखयता १५÷१५ दिनको फरकमा १८औँ पटक विज्ञापन गर्दा पनि दर्खास्त नपरेको विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले बताए । ‘गणित विषयको शिक्षक पाउनै कठिन भएको छ,’ उनले भने, ‘शिक्षक अनुमतिपत्र लिएको व्यक्ति आवश्यक हुन्छ । अहिलेसम्म पनि कसैको दर्खास्त परेको छैन ।,’
गत कात्तिक ३० गते विद्यालयले १९औँ पटक आवेदन आह्वान गरेको थियो तर अध्यापन अनुमतिपत्र (लाइसेन्स) भएको शिक्षक हालसम्म नपाइएको प्रधानाध्यापकले जानकारी दिए । ‘अहिले पनि दर्खास्त नपरे पुनःविज्ञापन गर्नुपर्ने हुन्छ ।,’
स्थानीयले मानापाथी उठाएर २०३५ सालमा स्थापना गरेको रूपादेवी विद्यालयमा बालविकासदेखि १० कक्षासम्म ३ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् । तीन जना प्राथमिक विद्यालयमा स्थायी दरबन्दी भएको विद्यालयमा पालिका अनुदान, निजी स्रोत गरी १३ जना शिक्षक कार्यरत छन् ।
त्यस्तै, जिल्लाको शुभकालिका गाउँपालिका–५ का माध्यमिक विद्यालयमा दरबन्दी शून्य छन् । दाहाल मावि सुकाटिया र वडा नं १ को जनता माध्यमिक विद्यालय छातीले पनि सङ्घीय अनुदानको विज्ञान, गणित र अङ्ग्रजी विषयका शिक्षक नपाएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले बताए ।
‘स्थायी दरबन्दी नभएका १२ वटा माध्यमिक विद्यालयलाई अङ्ग्र्रेजी, गणित र विज्ञान विषयका प्रतिविद्यालय तीन जना शिक्षकका लागि सङ्घीय अनुदानको आएको छ,’ उनले भने, ‘प्रतिव्यक्ति ४३ हजार ६ सय ८९ तलव दिने सरकारी नीति छ । तर, यहाँ शिक्षक पाउन कठिन छ ।,’
पलाता गाउँपालिकाले गत वर्ष अंग्र्रेजी, गणित र विज्ञान विषयका शिक्षक व्यवस्थापन गर्न संघीय अनुदानको बजेटबाट आफै विज्ञापन गरे पनि दर्खास्त नपरेको शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईले बताए । उनका अनुसार विषयगत शिक्षक नपाउनु कालीकोटका नौवटै स्थानीय तहको साझा समस्या हो ।






