एमालले महाधिवेशनबाट दियो जनाधार नखस्किएको सन्देश

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा भएको हो । नेकपा एमालेले भक्तपुरको सल्लाघारीबाट महाधिवेशन उद्घाटन कार्यक्रममार्फत जेनजी आन्दोलनपछि पनि आफ्नो जनाधार नखस्किएको सन्देश दिएको छ । जेनजी आन्दोलनपछि महाधिवेशन गर्ने पहिलो दल बनेको नेकपा एमालेले राजनीतिक दलहरूको जनतामा पकड कायमै रहेको देखाउन सफल भएको हो ।

सल्लाघारीस्थित तीनकुने मैदानमा भएको उद्घाटन समारोह भव्य बनाउन एमालेले हजारौं कार्यकर्ता उतारेको थियो । महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताए । एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा अग्रसर रहने जनाउँदै सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गरे ।

‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ,’ अध्यक्ष ओलीले भने ‘कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी हो । नागरिकले जीवनको आधार यही शक्ति हो ।’

एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए । एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए ।

महाधिवेशनको विशाल उपस्थितिलाई बेवास्ता नगर्न स्मरण गराउँदै अध्यक्ष ओलीले विघटित संसद् पुनःस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घुसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर बनाइए पनि शान्तिपूर्ण र न्यायपूर्ण बलको जगमा लोकतन्त्रलाई फर्काइने अध्यक्ष ओलीको भनाइ थियो । उनले अहिलेको सरकार निर्वाचनको वातावरण बनाउनभन्दा पूर्वाग्रह र संविधानविपरीतका काममा लागेको आरोप पनि लगाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार