छ वर्षदेखि अलपत्र पाँच पुल, चौध पुलको लागेन ठेक्का

सुर्खेत : सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट–डोल्पा सडक खण्डको एक सय १८ किलोमिटरमध्ये एक सय ३ किलोमिटर सडकको ट्याक ओपन गरेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो ।

सडक हस्तान्तरण गरेको सात वर्ष पछि यो सडक खण्डको ५६ किलोमिटर कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । तर, यही सडक खण्डमा छ वर्षदेखि पाँच वटा मोटरेवल पुलको निर्माण कार्य अलपत्र छ । हाल यो सडक खण्डको नामकरण भेरी कोरिडोर सडक योजना राखिएको छ । यो कोरिडोरको कुल लम्बाइ तीन सय १० किलोमिटर रहेको छ । जाजरकोट खलङ्गाको पासागाडदेखि नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्रेको काम यत्ति बिल्ड्रस मार्फत भइरहेको छ ।

सुर्खेतबाट डोल्पाको अन्तिम विन्दु अर्थात् नेपालको चीनको सिमाना मरिम सम्मा तीन सय १० किलोमिटर रहेको भेरी कोरिडोर सडक योजना हाल जाजरकोटको अन्तिम बिन्दु तल्लुसम्म काम भइरहेको छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पाको अन्तिम विन्दु मरिम अर्थात् चीनको सिमानासम्म पुगेर यो सडक पुरा हुने गर्दछ । भारत, नेपाल र चीनलाई जोडने सबै भन्दा छोटो रुटका रूपमा रहेको योजना प्रमुख सुनिल रन्जितकारले बताए ।

कहाँ–कहाँ छन त अलपत्र पुल ?
भेरी कोरिडोरमा (जाजरकोट–डोल्पा) छ वर्षदेखि अलपत्र परेका पुलको निर्माण कार्य पुरा हुने निधो छैन । छ वर्ष अगाडी लागेको मोटरवेल पुलको ठेक्काको काम जिरो प्रतिशत समेत नहुँदा यस क्षेत्रका नेताहरूको गालीको वर्षा खेपिरहनु परेको छ । सबै पुलहरू क्याराभान हिराचन जेभीले लिएको छ ।

भेरी कोरिडोर जाजरकोट–डोल्पाको दुनै सडक खण्डको एक सय १८ किलोमिटर सडक खण्डको ५६ किलोमिटर भित्र सडक कालोपत्रेको काम यत्ति बिल्डर्सले अन्तिम चरणमा पु¥याएपछि सँगसँगै लागेको पुलको ठेक्का भने कुनै काम नभएको अवस्थामा रहेको छ । समयमै काम भइदिएको भए हालसम्म पुलमा निर्बाध रूपमा गाडी गुडिसकेका हुन्थे ।

योजना प्रमुख रन्जितकारका अनुसार निर्माण व्यवसायीलाई जति पटक पत्र काटे पनि सम्पर्कमा नै नआउँदा हैरानी खेप्नु परेको छ । पुल निर्माण भएको ढिलाइका विषयमा राससले निर्माण व्यवसायी चन्द्र थकालीसँग प्रतिक्रिया लिन खोज्दा, मुस्किलले फोन उठाउँदै धम्की दिने सम्मका कामहरू भएका छन् ।

उक्त क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते जाजरकोटको नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो । यो १८ करोड ४३ लाख ४३ हजारमा ठेक्का लिइएको थियो । त्यस्तै उक्त जेभीले २०७७ माघ २ गते भेरी कोरिडोरकै जाजरकोटको नलगाड नगरपालिका–९ को त्रात्रखोला, वडा–८ को मैदेखोला, वडा–११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यो दोस्रो ठेक्का १३ करोड ५४ लाख रुपैयाँमा यो ठेक्का सम्झौता भएको थियो ।

यी पुलहरू भेरी कोरिडोरका लाइफ लाइनका रूपमा रहेका छन् । त्यस्तै नलगाड नगरपालिका–१२ को तल्लुस्थित भेरी नदिको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडको पुल निर्माण कार्य सुरु भएको छ । खदाङको पुल विवादका कारण अझै सुरु हुन सकेको छैन । एयपी एमआरपी पुलचोक जेभीले चितवनले ठेक्का लिएको छ । रुकुम पश्चिमको आठबीसकोटको पिपलचौरस्थित छहरे खोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुलको काम ९५ प्रतिशत पूरा भएको छ ।

हाल नेपालगन्ज, सुर्खेत तथा काठमाडौँबाट सिधै डोल्पाको सदरमुकाममा यातायातका साधनहरू पुग्ने गरेका छन् । जाजरकोटको तल्लुसम्म कालोपत्रे गरेको सडकमा र बाँकी रुकुम पश्चिम हुँदै डोल्पाको सदरमुकामसम्म नेपाली सेनाले निर्माण गरेको कच्ची सडकमा गुड्दै डोल्पाको सदरमुकाम दुनैसम्म यातायातका साधनहरू पुग्ने गर्छन् ।

६२ किलोमिटर अर्थात् तल्लुदेखि डोल्पाको सदरमुकामसम्म असाध्य जोखिमपूर्ण रहेको बाटोमा यात्रा गर्नु परेको यातायात व्यावसायीहरु बताउँछन् । पछिल्लो समय यो सडक भारी मात्रामा सवारीसाधनको चाप समेत बढेको छ । डोल्पामा रहेका पर्यटकीय स्थलको भ्रमणमा जाने पर्यटकहरूको चाप ठुलो मात्रामा रहेको पाइन्छ ।

दैनिक यातायातका साधनहरूको चाप बढिरहने तर पुल निर्माणको विषयमा कुनै पनि प्रक्रिया अगाडी नबढ्दा हात्ती आयो, हात्ती आयो फुस्सा झैँ भएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । ‘निर्माण व्यवसायीलाई ताकेता गर्दा–गर्दा हैरान भइयो तर सम्पर्कमा नै नआउने अवस्था छ ।,’ उनले भने ।

चौध पुलको लागेन ठेक्का
यही सडक खण्डको जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनै सम्मा १४ वटा पुल निर्माण गर्नुपर्ने योजना प्रमुख रन्जितकारले बताए । स्रोत सुनिश्चित लागि फाइल पठाए पनि स्वीकृत भई नसकेको योजना प्रमुख रन्जितकारले जानकारी दिए ।

भेरी कोरिडोर जाजरकोट–डोल्पा सडक खण्डको ठेक्का खोल्नका लागि १४ वटा पुलको डिजाइन स्टमेट सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतमा पठाए पनि अझै स्वीकृत भएको छैन । ३० मिटर भन्दा कमको पुलको डिजाइन स्वीकृत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतले गर्दछ ।

डिजाइनको ढिलाइले ठेक्काको काम ढिला भइरहेको बताएको छ । भेरी कोरिडोर भित्रका फूलबारी खोला पुल, चिसापानी खोला पुल, खहरे खोला, घट्टे खोला, मनका खोला, रिजिगार, उसुम खोला, कर्पगाड, खदाङ, खदाङभेरी पुल, चुँगाड, त्रिपुराकोट, गल्लीगाड, खोरखोलाको डिजाइन स्वीकृत हुन बाँकी रहेको छ ।

यस्तै, जाजरकोटको तल्लुदेखि डोल्पाको त्रिपुराकोट सम्मको सडकमा कालोपत्रे गर्नका लागि ठेक्का लागेर काम हुने तरखरमा रहेको छ । योजना प्रमुख रन्जितकारले दिएको जानकारी अनुसार ७४ करोडमा उक्त ठेक्का लागेको छ । क्याब निर्माण, जावलाखेलले ठेक्का पाएको छ । ४२ किलोमिटर सडकमा कालोपत्रे गर्नका लागि ठेक्का लागेको हो । केही समय पछि काम सुरु हुने योजना प्रमुखले बताए । बाँकी छलगाडबाट मरिमसम्मएक सय २० किलोमिटर सडक रहेको छ ।

दुनै–लासिक्याप खण्ड निर्माणमा ढिलाइ
भेरी कोरिडोरकै डोल्पाको सदरमुकाम दुनै–लासिक्याप खण्डमा ठेक्काको म्याद सकिन सम्मा लाग्दा १५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । दुनै–लासिक्याप खण्डमा काम नहुँदा सोभन्दा माथिको सडक निर्माणमा बाधा पुगेको आयोजना प्रमुख सुनिल रञ्जितकारले बताए । डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटरमध्ये २५ किमी कच्ची सडक कटान गर्नुपर्ने छ ।

दुनै–लासिक्याप खण्डको काम छिटो भएमा सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले जिम्मेवारी दिने तयारी भएको छ । अहिले २५ किमी सडक खण्डभित्र कटानको कामलाई तीव्रता दिन निर्माण व्यवसायीलाई ताकेता गरिएको प्रमुख रञ्जितकारले जानकारी दिए । माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम ७५ किमीमध्ये नेपाली सेनाले ४० किमी कटानको काम गरिसकेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिए ।

दुनै–लासिक्याप खण्ड निर्माण सम्पन्न गर्न सूर्य–श्रेया–शान्ति देवी जेभीको म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । विसं २०७८ चैत १७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तल्लो सडक निर्माण नगरी माथिल्लो खण्ड निर्माणमा सेनाले आवश्यक उपकरण लिन नसक्ने भएकाले तल्लो खण्डको काम एक वर्षभित्र सक्नुपर्ने प्रमुख रञ्जितकारले बताए ।

सेनाले निर्माण गर्ने खण्डभन्दा दुनैबाट लासिक्यामअन्तर्गतको सडक यथाशीघ्र निर्माण भएमा माथिल्लो सडक निर्माण गर्न सहज हुने पूर्व मन्त्री धनबहादुर बुढाले बताए । भेरी कोरिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहन सेवामा सजिलो हुने भएकाले छिन्चु–जाजरकोट–डोल्पा त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको उनको भनाइ छ ।

यो कोरिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी कोरिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण विसं २०६५ मा सुरु गरेको थियो । ट्र्याक खुलेसँगै सेनाले एक सय १८ किमी सडक विसं २०७६ मा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको एक सय किमीमध्ये नेपालतर्फ ४० किमी निर्माण भइसकेको छ ।

दुनैबाट धोसम्म निर्माण हुन बाँकी छ । देशको उत्तरी सीमासँग जोडिएको माथिल्लो डोल्पाका तीन गाउँपालिकाका नागरिकलाई नेपालतर्फ सडक सुविधा नहुँदा जिल्ला सदरमुकाम दुनैसम्म पुग्न हप्ता दिनसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । दुनैबाट धोसम्मको ५० किमी खण्ड चट्टानैचट्टानले बनेकाले यस खण्डमा पर्ने चट्टान विस्फोट गराउनुपर्ने आयोजना प्रमुख रञ्जितकारले बताए ।

डोल्पा जडीबुटीको भण्डार भएकाले त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशसहित मुलुकको आर्थिक स्तर वृद्धि हुने अपेक्षा लिइएको उनले उल्लेख गरे । सडक समयमा निर्माण नहुँदा आफूहरूलाई सदरमुकामसम्म पुग्न पनि समस्या भइरहेको काइके गाउँपालिकाका अध्यक्ष अँकद रानाले बताए । दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानीमा समस्या भएको उनकोे भनाइ छ । भेरी कोरिडोरअन्तर्गत जाजरकोट–डोल्पा खण्डको विभिन्न स्थानमा पुल निर्माण नहुँदा थप सास्ती भइरहेको अध्यक्ष रानाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार