दुई पदका लागि ४० जना सिफारिस

दैलेख  : आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेट सहित जेनजी आन्दोलन पछि बनेको सरकारले चुनावको तयारीलाई तीव्रता दिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले जिल्लामा आफ्नो तयारीलाई समेत बढवा दिएका छन् । दैलेखका दुई निर्वाचन क्षेत्रमा मुख्य गरी एमाले, काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनलाई प्रतिष्ठाको लडाइका रूपमा अघि बढाएका छन् ।

दैलेखका दुवै निर्वाचन क्षेत्रमा विगतका वर्षहरूदेखि एमाले र काँग्रेसबिच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । मुख्य दुई दलको प्रतिस्पर्धाबिच नेपाली कम्युनिस्ट पार्टीले समेत जिल्लामा आफ्नो प्रभुत्व कायम गर्न निर्वाचन केन्द्रित कार्यलाई अघि बढाउँदै आएको छ । जिल्लामा क्रियाशील दलहरूले निर्वाचन केन्द्रित गतिविधिसँगै आ–आफ्ना दलहरूबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएका हुन् ।

प्रतिनिधि सभा सदस्यका लागि दलहरूमा आकाङ्क्षीको लर्को देखिन्छ । अन्य दलहरूको तुलनामा केही समय अगावै काँग्रेस दैलेखले आकाङ्क्षी उम्मेदवार सिफारिस गरेको हो । काँग्रेसले दैलेख–१ बाट १३ जना र दैलेख–२ बाट ७ जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको हो । आकाङ्क्षी उम्मेदवारको सङ्ख्या धेरै हुँदा यहाँका दुई वटा निर्वाचन क्षेत्रबाट २० जनाको नाम सिफारिस गरिएको काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले बताए ।

नेकपा एमालेले यहाँका दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि आठ जनाको नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट ५ जना र निर्वाचन क्षेत्र नम्बर २ बाट ३ जना गरी एमालेले दुई पदका लागि दुई वटा निर्वाचन क्षेत्रबाट ८ जनाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ मा एमालेले उम्मेदवार छनोटका लागि निर्वाचन प्रक्रिया अवलम्बन गरेको थियो । निर्वाचन प्रक्रिया मार्फत पहिलो हुने विष्णु रिजाल सहित ३ जनाको नाम सिफारिस गरिएको एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले जनाए ।

माओवादी केन्द्र र समाजवादीको एकता पछि गठित नेपाली कम्युनिस्ट पार्टीमा समेत प्रतिनिधि सभा सदस्यका लागि एक दर्जन आकाङ्क्षीको नाम सिफारिस भएको छ । एमाले र काँग्रेस भन्दा जनमतका हिसाबले पछि रहेको नेकपामा उम्मेदवार आकाङ्क्षीको सङ्ख्या भने ठुलो रहेको हो । नेकपाले क्षेत्र नम्बर १ बाट ५ जना र क्षेत्र नम्बर २ बाट ७ जना गरी दुई पदका लागि १२ जना आकाङ्क्षीको नाम सिफारिस गरेको हो । युवासहित यहाँका दुई वटा निर्वाचन क्षेत्रबाट १२ जना आकाङ्क्षी नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी दैलेखका संयोजक गोपाल रिजालले बताए ।

पार्टी केन्द्रको निर्देशन अनुसार नेपाली काँग्रेसले एक महिला सहित एक निर्वाचन क्षेत्रबाट ३ जनाको नाम सिफारिस गर्नुपर्ने हो । तर, आकाङ्क्षीको सङ्ख्या धेरै हुँदा यहाँका दुई वटा निर्वाचन क्षेत्रबाट २० जनाको नाम सिफारिस गरिएको काँग्रेस सभापति रेग्मीले बताए । नेकपा दैलेखलाई एक निर्वाचन क्षेत्रबाट ५ जनाको नाम सिफारिस गर्न केन्द्रको निर्देशन थियो । उत् पार्टीले दैलेख–२ बाट ७ जनाको नाम सिफारिस गरेको हो । पार्टी निर्देशन अनुसार एमालेले समेत एक निर्वाचन क्षेत्रबाट महिला सहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने हो । तर, दैलेख–१ मा आकाङ्क्षी धेरै हुँदा ५ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै, दैलेखमा क्रियाशील अन्य साना दलहरू राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी लगायतले समेत आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियाको थालनी गरेका छन् । समाचार तयार पार्दासम्म उनीहरूले प्रतिनिधि सभा सदस्यका जिल्लाबाट सिफारिस गरेका आकाङ्क्षीको विवरण उपलब्ध हुन सकेन । निर्वाचनको मिति नजिकिएसँगै दैलेखमा राजनीतिक सरगर्मी बढेको छ भने दलहरूका नेता मतदाता केन्द्रित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार