सुर्खेत : असोज ८ गते परेको चट्याङले जाजरकोटको बारेकोट गाउँपालिका–५ खम्बडाडाँमा रहेको सौर्य मिनिग्रेटमा क्षती बनाएपछि विद्युत सेवा अवरुद्ध भएको छ । झण्डै चार महिना बित्तिसक्दा पनि उक्त मिनिग्रेट मर्मत नहुँदा यहाँका पाँच सय भन्दा बढी घरधुरीले विद्युत बाल्न नपाएको बारेकोट ५ का घमण्ड सिंहले जानकारी दिए ।
सामान्य मोवाइल चार्ज गर्न समेत पालिकाको प्रशासकीय केन्द्र लिम्सा जानु परेको पीडा सिंहले सुनाए । एक सय ७० किलोवाट क्षमताको सौर्य मिनिग्रेट २०७९ जेठ १५ गतेबाट सञ्चालनमा रहेको थियो । टपसन इनजी प्रालिले बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रसँग सम्झौता गरेर १० करोड ९ लाख रुपैयाँमा उक्त मिनिग्रेट निर्माण कार्य सम्पन्न गरेको थियो ।
पालिका, प्रदेश सरकार र बैकल्पिक उर्जाको लगानीमा मिनिग्रेट निर्माण गरिएको थियो । विद्युतको केन्द्रीय लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण गरेर विद्युत सेवा उपलब्ध गराउने नीति अनुसार यो मिनिग्रेट निर्माण भएको थियो । मिनिग्रेटबाट उत्पादन भएको विद्युत लिएर नेपाल टेलिकमको रतनकोटमा रहेको टावर सञ्चालन गरिएको थियो । हाल विद्युत सेवा अवरुद्ध भएसँगै टावरमा आपुर्ती हुँदै आएको विद्युत अनियमितले गर्दा टावर सञ्चालनमा समेत समस्या भएको छ ।
यहाँका तोलखाना, पाखा, नायकवाडा लगायत अन्य ठाउँमा स्थानीयबासीहरु विद्युत सेवाबाट लिन पाएका छैनन् । विद्युत मर्मत कार्य गर्नका लागि बैकल्पिक उर्जा प्रवद्धन केन्द्रलाई २०८२ मंसिर ५ गते बारेकोट गाउँपालिकाले पत्राचार गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए । त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई समेत पत्र लेखिएको उनले जानकारी दिए ।
मंसिर २८ गते जिल्ला प्रशासन कार्यालयबाट समेत मिनिग्रेट मर्मतका लागि आवश्यक पहल गरिदिन भनि जिल्ला विपद व्यवस्थापन समितिको निर्णय सहित मन्त्रालयमा आवश्यक विवरण सहित जानकारी पठाएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । मिनिग्रेट निर्माण गर्ने टपसन इनजी प्रालिले चट्याङ परेको कारण आफूहरुले मर्मत गर्न नसक्ने बताएको छ ।
अन्य समस्या भए आफूहरुले बनाउने सहमति भएपनि चट्याङले बिग्रिएमा आफूहरुले बनाउन नसक्ने भनेर पालिका र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रलाई जानकारी गराइसकेको टपसन इनजी प्रालिका किरण गौतमले बताए । चट्याङले गर्दा खराबी भएको सामग्री जर्मनमा पाइने भएकाले कम्तिमा ४० लाख भन्दा बढी लाग्ने गौतमले बताए । बैकल्पिक उर्जाका कार्यकारी निर्देशक नवराज ढकालले मर्मतका लागि काम हुने बताए । कहिले सम्मा निर्माण हुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिएनन ।
मिनिग्रेट निर्माण गर्नका लागि वडाध्यक्षको नेतृत्वमा एउटा समिति समेत रहेको छ । विद्युत प्रयोग गरे बाफत उपभोक्ताले रकम तिनुपर्ने व्यवस्था रहेको छ । हालसम्म कति रकम उठेको छ भन्ने कुनै हिसाव नभएको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए । त्यहाँ हेरदेख गर्नका लागि दुई जना कर्मचारी रहेका छन् । कर्मचारीलाई तलब देखि अन्य कुराहरु विद्युतको महसुलबाट गर्नुपर्ने एक थरीको माग रहेको छ ।
बारेकोट गाउँपालिकाका पूर्वध्यक्ष महेन्द्रबहादुर शाहले विद्युत महसुल थोरै उठने भएकाले त्यसले केही पनि काम नहुने बताए । गाउँपालिकाका अध्यक्ष गिरीले पालिकाले सो मिनिग्रेट चलाउनु पर्ने बताए । पालिकालाई हस्तान्तरण भएमा मात्र काम गर्न सजिलो हुने बताए ।
हालसम्म कहाँ के भइरहेको छ, आफूलाई कुनै जानकारी नभएको उनले बताए । समस्या आएपछि मात्र पालिकालाई जानकारी दिने तर अरु समयमा कुनै कुराको जानकारी नदिने गरेको उनको भनाई रहेको छ । लामो समय देखि विद्युत सेवा अवरुद्ध हुँदा सम्मा सरोकारवाला निकायले कुनै प्रकारको प्रतिक्रिया नदिनु दुखद भएको स्थानीयबासीहरु बताउँछन् ।
पूर्व जलस्रोत तथा उर्जा विकासमन्त्री गणेश प्रसाद सिंहले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग कुरा भएकाले छिट्टै समस्याको समाधान हुने जानकारी दिए । उनले भने, ‘मैले मेरै पालामा उक्त मिनिग्रेट निर्माण गर्न पहल लिएको थिए, आफैँ शिलान्यास पनि गरेको हुँ । त्यसैले मैले त्यो समस्याका विषयमा सरोकार राख्नेसँग कुरा गरिरहेको छु । समस्या छिट्टै समाधान हुने छ ।,’
यो पालिकामा निर्माण हुने भनिएको ३३ केभी प्रशारण लाइन अझैँ निर्माण हुन सकेको छैन । निर्माण व्यवसायीले समयमा काम नगर्दा प्रशारण लाइन निर्माण हुन नसकेको हो । नेपाल विद्युत प्राद्यिकरण जाजरकोटले कानमा तेल हालेर बसेका कारण काम हुन नसकेको स्थानीयबासीहरु आरोप लगाउँछन् ।






