दैलेख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेशका उप–सचिव तथा (एमाले)बाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्रराज शर्माले आफू जनताप्रति प्रतिबद्ध रहेको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको आयोजनामा सम्पन्न निर्वाचन केन्द्रित बैठकलाई सम्बोधन गर्दै उनले जनताको आकाङ्क्षा पुरा गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन देश निर्माण गर्ने र जलाउने बिचको जनमत सङ्ग्रहका रूपमा अघि बढेको बताए । विगतमा (एमाले) सरकारका पालामा मुलुक दिगो विकासतर्फ अघि बढेको स्मरण गर्दै शर्माले भदौ २३ र २४ गतेको आन्दोलन जेनजीका नाममा अन्य विखण्डनकारी तत्त्वले हालमा लिएर मुलुक अराजकतातर्फ धकेलेको बताए ।
शर्माले दैलेखको विकास र जनताका आकाङ्क्षा परिपूर्तिका निम्ति यहाँका आम नागरिकले (एमाले) को सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । ‘यहाँको भौतिकदेखि सामाजिक विकासमा (एमाले)ले विगतदेखि काम गर्दै आएको छ । बाँकी रहेका विकासे कामलाई सिग्र अघि बढाउन दैलेखी जनताले (एमाले)को सूर्य चिन्हमा मतदान गर्नेछन् ।’, शर्माले भने ।
उनले आफू पहिलो पटक प्रतिनिधि सभा सदस्य हुँदा दैलेख उज्यालो कार्यक्रमलाई अघि बढाएको जनाउँदै जिल्लामा अलपत्र पारिएका ठुला विकासे योजना÷आयोजनाको काम अघि बढाउन दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा (एमाले)का उम्मेदवार विजयी हुनुपर्ने तर्क प्रस्तुत गरे । उनले भने, ‘हामीले जनताका समस्या नजिकबाट बुझेका छौँ । सोही अनुरूप समाधानतर्फ लाग्छौँ । सूर्य चिन्हमा मतदान गर्नुहोस् ।,’
बैठकलाई सम्बोधन गर्दै (एमाले) केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य मिनासिंह रखालले राष्ट्रलाई सिरमा राख्दै (एमाले) मुलुकको विकासमा अघि बढेको बताइन् । उनले आगामी निर्वाचनमा (एमाले)का उम्मेदवारलाई निर्वाचित गर्न सबै तहका नेता÷कार्यकर्ता एक भएर चुनावी मैदानमा होमिन आग्रह गरिन् । ‘(एमाले)ले दैलेखको विकासका लागि धेरै काम गरेको छ । भए गरेका काम जनतामा पु¥याउन ।,’ उनले भनिन् ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज यामप्रसाद शर्माले निर्वाचनका माध्यमबाट (एमाले) का उम्मेदवारलाई विजयी गराउन सबै जनसङ्गठन कटिबद्ध भएर लाग्न निर्देशन दिए । उनले राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका निम्ति (एमाले)ले बहुमत प्राप्त गर्नुपर्ने धारण राखे । बैठकमा प्रेस चौतारी दैलेखका अध्यक्ष उदयराज अधिकारीले (एमाले)का उम्मेदवार विजयी गराउन परिवर्तित अवस्थामा सबै एकजुट हुन आग्रह गरे ।
उनले दैलेखको विकास र आम नागरिकलाई परिवर्तनको आभास गराउन सक्ने पार्टी (एमाले) मात्र भएकाले दैलेखका दुई वटै निर्वाचन क्षेत्रका नागरिकले सूर्य चिन्हमा मतदान गर्नुपर्ने बिचार व्यक्त गरे । ‘मुलुक समृद्धिको पेट्रोलियम अन्वेषणको काम (एमाले) सरकारका पालामा सुरु भएको हो । यसलाई पूर्णता दिन (एमाले)को सरकार आवश्यक छ सबैले सूर्य चिन्हमा मतदान गर्न आग्रह छ ।, अध्यक्ष अधिकारीले भने ।
आगामी फागु २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा मुलुकमा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचन आउन ३२ दिन बाँकी रहँदा दैलेखमा क्रियाशील राजनीतिक दलहरूले मत परिणाम आफ्नो पक्षमा पार्न मतदाता केन्द्रित अभियानलाई बढवा दिएका छन् ।






