दुई दशकदेखि पुरानै चुनावी एजेन्डा

सुर्खेत : आगामी २१ फागुनका लागि देशै भरी चुनाव गतिविधिहरू तीव्र भइरहदा जाजरकोटमा समेत तीव्र बनाएको छ । जाजरकोटमा पूर्व मन्त्री नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेत, नेपाली काँग्रेस जाजरकोटका कार्यवाहक सभापति खडकबहादुर बुढा र नेकपा एमालेका केन्द्रीय सदस्य डम्बर बहादुर सिंहसँग चुनावी भिडन्तमा छन् । तीन वटा उम्मेदवारका चुनावी एजेन्डाहरू एकै प्रकार रहेका छन् ।

लुम्बिनी रारा राजमार्ग जाजरकोट खण्ड पुरा गर्ने, नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट निर्माण गर्ने, अधुरा कामहरू पुरा गर्ने लक्ष्य सबैको चुनावी प्रतिबद्धता रहेको छ । काँग्रेस र एमालेले पत्रकार सम्मेलन गरेर आफ्ना एजेन्डाहरू प्रस्तुत गरिसकेको छन् । उता नेकपामा नेता पूर्व मन्त्री बस्नेतले अहिलेसम्म भएको कामलाई रक्षा गर्दै बाँकी जाजरकोट निर्माणको कुरालाई जोड दिएका छन् ।

त्यस्तै भूकम्प पीडितका कुराहरू समेत चुनावी एजेण्डमा मुख्य रूपमा समेटिएको छ । अहिलेसम्म पूर्ण निर्माणको काम सुरु नहुनुमा यस अघिको सरकार दोषी रहेको पूर्व मन्त्री बस्नेतको आरोप छ । काँग्रेस र एमालेका उम्मेदवारले जिल्लामा बजेट आए पनि काममा परिणाम नआएको भन्दै अब परिणाम निकाल्नका लागि आफूहरूको उम्मेदवारी रहेको बताउँदै आएका छन् ।

उता नेकपाका उम्मेदवार बस्नेतले जाजरकोटमा विकास जग २०६५ बाट मात्र सुरु भएको बताउँदै आएका छन् । उनले जिल्लामा विद्युतीय, खानेपानी, सडक, सञ्चार तथा जलविद्युत आयोजनाको कामहरू गतिका साथ अगाडी बढाएको बताउँदै आएका छन् । बजेट जिल्लामा पठाए पनि निर्माण व्यवसायीको काम गर्ने तरिकाले असहयोग भएको उनले बताउँदै आएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार खडकबहादुर बुढाले आफू हुने कुरा मात्र गर्ने, आफूले नसक्ने कामको विषयमा नबोल्ने बताएका छन् । माओवादी द्धन्द्धकाल पछि मात्र जाजरकोटमा विकासको जग सुरुवात भएको देखिन्छ । जाजरकोट हुँदै डोल्पा पुगेर टुङ्गिने भेरी कोरिडोरको जाजरकोट खण्डको काम करिब करिब पुरा भएकोमा नेकपाका नेता बस्नेतले उपलब्धिको रूपमा राखेका छन् ।

मध्यपहाडी लोक मार्गको ८० प्रतिशत पिचको कामलाई बस्नेतले अर्को उपलब्धिका रूपमा लिएका छन् । नलगाड जलविद्युत आयोजनाको डिपिआर आफ्नै पालामा आफैँले स्वीकृत गर्न लगाएको भन्दै अर्को मुख्य उपलब्धिको रूपमा उनले अथ्याएका छन् ।

उनले लुम्बिनी रारा राजमार्गको कामलाई समेत उपलब्धिकै रूपमा लिएको प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । जिल्लाको बारेकोटमा रहेको कस्तुरी प्रजनन केन्द्रलाई समेत उनले आफूले गरेको कामका रूपमा सूचीबद्ध बनाएका छन् । उता काँग्रेस र एमालेका उम्मेदवारहरूले आफूले गरेको कामहरूको सूची नभई अधुरा कामहरू निर्माण गर्ने उद्घोष रहँदै आएको छ ।

जनमतको हिसाबले अघिल्ला चुनावको परिणाम हेर्दा तत्कालीन नेकपा माओवादी केन्द्रको जाजरकोटमा अवस्था तेस्रो रहे पनि हाल माधव कुमार नेपाल नेतृत्वको दलसँग एकता भए पनि बलियो देखिएको भन्दै नेकपा आफूले गरेका कामहरू जनता सामु धेरै गरेको दाबी गर्दै जस लिन खोजिरहेको देखिन्छ ।

हामीसँग नेतृत्व र इच्छा शक्ति रहेको टिम भएकाले जाजरकोट निर्माण गर्ने जिम्मेवारी समेत हाम्रो नै हो भन्दै हरेक चुनावी कार्यक्रममा बोल्ने गरेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । नेकपा एमालेले हालसम्म प्रदेश सरकारमा समेत जाजरकोटबाट मन्त्री पाउन सकेको छैन । शान्ति काल पछि पश्चिम जाजरकोटबाट एक पटक मात्र जितेको इतिहास रहेको छ ।

नेपाली काँग्रेसले जाजरकोटका दुई प्रदेशसभामा माओवादीको गठबन्धनको बलमा दुई सिट जितेको छ । हाल दुनै जनाले पालो, पालो प्रदेश सरकारको अर्थमन्त्रीको पद समालिसकेका छन् । पहिलो कार्यकाल क्षेत्र नम्बर १ का बेदराज सिंह र हाल बहालवालामा क्षेत्र नम्बर २ बाट राजीव विक्रम शाहले नेतृत्व गर्ने अवसर पाएका छन् ।

अघिल्लो कार्यकालको सरकारले लगाएका ठेक्काका कामहरू समेत हालको सरकारले गति दिन नसक्दा प्रदेशका मन्त्रीहरूको आलोचना हुँदै आएको छ । पाँच वर्षदेखि पाँच वटा पुराना पुल तथा सडकका ठेक्काहरू अलपत्र रहेको छन् । त्यस्तै अन्य दुई वटा सडक तीन वर्ष देखि अलपत्र पर्दै आएका छन् । अलपत्र आयोजना निर्माण गर्नका लागि प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्यहरूमा माथि दबाब तीव्र पर्दै आएको छ ।

सङ्घीय सरकारको भन्दा प्रदेश सरकारको कामहरू अलपत्र बढी भएकाले ती दुवै क्षेत्र काँग्रेसकै भागमा हुँदा थप आलोचना हुने गरेको छ । प्रदेशसभाको बैठकमा पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य बेदराज सिंहले विशेष समय लिएर अलपत्र आयोजनाका विषयमा बोले पनि प्रदेश सरकारले सुनेको देखिँदैन ।

सदनमा मन्त्रीले उठाएका कुराहरूको जवाफ दिने भएकाले राजीवविक्रम शाहले अलपत्र आयोजनाका विषयमा अनौपचारिक रूपमा कुराकानी गरे पनि सदनमा बोल्ने अवसर नपाएको अवस्था रहेको छ । काँग्रेस र एमालेका उम्मेदवारहरू काममा भएको ढिला सुस्तीका विषयमा खुल्ला रूपमा बोलिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार