पूर्णबहादुरलाई सातदिने स्पष्टीकरण

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गत चैत ३० गते विधान विपरित काम गरेको भन्दै सो कारबाही गरेको जनाएको हो ।

समितिले नेता खड्काले यसअघि चैत १४ गते पनि पार्टीको लेटरप्याडमार्फत वक्तव्य जारी गरेको भन्दै सचेत गराउने निर्णय गरेको थियो । यसैगरी समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको विधानविपरित अनुशासन उल्लङ्घन गरेका व्यक्ति उपर उजुरी दिने अवधि थप गरी यही वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

यस्तै, खड्काले पार्टीको अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई हास्यास्पद रहेको प्रतिक्रिया दिए । नेता खड्काले आफूले सक्कली लेडरहेड नै प्रयोग गरेको दाबी गरेका छन् । उनले आफूले विशेष महाधिवेशन, विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अवैध भनेर मागवादी गर्दै सर्वोच्च अदालत गएको पनि स्मरण गरे ।

‘अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका अवैध संरचनाले स्पष्टीकरण सोध्ने भन्ने निर्णय जुन भएको छ,’ खड्काले भने, ‘यो निर्णय निरर्थक छ, हास्यास्पद छ, अर्थहीन छ । यत्ति हो मेरो कुरा ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार