टेस्टट्युव वेबी विगत वर्तमान

मानिसको जन्म प्राकृतिक संरचना अन्तर्गत शरीर विज्ञानसँग सम्बन्धित विषय हो । स्त्री र पुरुषबीच यौनक्रिया भएपछि पुरुषको वीर्यबाट शुक्रकीट स्त्रीको डिम्बबाहिनी नलीमा प्रवेश गरेर डिम्बसँग मिसिन जान्छ । डिम्ब र शुक्रकीटको मिलनबाट भू्रण तयार हुन्छ र यो भ्रूण पाठेघरमा पुगेर विकसित हुँदै गर्छ । महिना दिन पुगेपछि शिशुको रुप धारण गर्छ । युरोपमा भएको एक अध्ययनले गर्भ नरहनुमा स्त्रीको ४० प्रतिशत र पुरुष पनि ४० प्रतिशत नै उत्तरदायी भएको र २० प्रतिशत समस्या संयुक्त भएको देखिएका छन् । विवाहित जोडीमा बच्चा नभएपछि समाजले स्त्रीलाई बाँझी र जोडीलाई निःसन्तान दम्पतीको संज्ञा दिन्छ । क्याम्ब्रिज विश्व विद्यालयका प्राध्यापक रबर्ट एडवार्डस्ले टेस्टट्युब बेबीको आविष्कार गरेर बाँझोपनाको समस्या हटाउन सफल भएकाले आधुनिक चिकित्सा विकासमा उनको योगदान कोसेढुङ्गा सावित भएको ठहर गरी उनलाई नोबेल पुरस्कार दिने निर्णय स्विेडेनको क्यारोलिन्सका इन्स्टिच्युटस्थित नोबेल कमिटीले गरेको हो । निःसन्तान दम्पतीका लागि टेस्टट्युब प्रविधिबाट बच्चा जन्माउने प्रविधिमा पुरुषको शुक्रकीट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर एकअर्कासँग मिलन गराई भ्रूण तयार गरिन्छ । यसरी टेस्टट्युबमा गर्भधानको प्रक्रिया पूरा भएपछि भू्रणलाई सिरिन्ज (सानो पाइप)को सहायताले स्त्रीको गर्भाशयमा प्रत्यारोपण गरिन्छ । त्यसपछि साधारण अवस्थामा जस्तै भू्रण विकसित भई शिशुको रुप धारण गर्दछ । यसरी जन्मने बच्चालाई टेस्टट्युब बेबी भनिएको हो ।
प्रा. एडवार्डस्ले सन् १९५० देखि ७० सम्म गरेको अथक प्रयासको उपलब्धि स्वरुप सन् १९७८ मा पहिलो पटक टेस्टट्युब बेबीको जन्म सम्भव भएको थियो । विश्वकी ती पहिलो टेस्टट्युब बेबी बेलायती नागरिक लुइज ब्राउनको जन्म सन् १९७८ को जुलाई २५ मा भएको थियो । हाल लुइजले समेत सन्तान लाभ गरेकी छन् । अहिलेसम्म यस प्रविधिको सहयोगमा विश्वमा करिब ४० लाख बालबालिकाको जन्म भएको छ ।
नेपालमा सन् १९९३ देखि यस प्रकारको उपचार भई रहेकोमा पुतली सडकस्थित प्रथम निःसन्तान केन्द्रले सन् २००२ मा पहिलो आइभीएफ सेन्टर स्थापना गरेर टेस्टट्युब प्रविधिबाट महिलाहरुमा भ्रूण प्रत्यारोपण गरेको थियो । ती महिलाहरुमध्ये काठमाडौंको एक महिलाले २०६० साल भदौ १७ गते भ्याली म्याटर्निटी नर्सिङ होममा अप्रेसनबाट १.८ केजी तौल भएकी छोरीको जन्म दिइन् । नेपाली विज्ञद्वारा नेपालमा जन्मिएको पहिलो टेस्टट्युब बेबी यिनै बालिका हुन् जसको नाम सिर्जना राखिएको थियो । तर यस अघि नै काठमाडौंका बीएस श्रेष्ठ र जेनी श्रेष्ठले दिल्लीको गङ्गाराम अस्पतालमा पहिलो नेपाली टेस्टट्युब बेबी स्प्रिहा श्रेष्ठलाई जन्माएको तथ्याङ्क पनि देखिन्छ । त्यसपछि ओम अस्पताल तथा अनुसन्धान केन्द्रबाट २०६१ साल फागुन २० गते भोजपुरकी सन्ध्या स्याङ्बोले टेस्टट्युब बेबीको जन्म दिएको खबर प्रकाशमा आएको हो । २६ असार २०६४ का दिन त्यस अस्पतालले टेस्टट्युब प्रविधिबाट गर्भाधान गराई जन्माइएका त्यस बेलासम्मका १०२ बालबालिकालाई वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जम्मा गराएर टेस्टट्युब बेबी साँझको आयोजना गरिएको थियो । त्यस भेलाबाट नेपालका सर्वसाधारण जनतामा टेस्टट्युब बेबीबारे चासो जगाउने काम भयो ।
यस किसिमको आधुनिक तथा वैज्ञानिक प्रविधिको विकासले जसरी अरुको आँखा, किड्नी, रक्तदानबाट मानिसले नयाँ जीवन पाउँछ, त्यसरी नै पतिको शुक्रकीट काम नलाग्ने भएमा वीर्यदानबाट पनि दम्पतीले सन्तानहीन हुनबाट मुक्ति पाउन सकिने भएको हुँदा त्यस्तो अवस्थामा परपुरुषको वीर्यदान लिएर जन्मेको बच्चा भएका कारण श्रीमतीले जन्माएको भए पनि श्रीमान् त्यस शिशुको नक्कली बाबु देखिने र सक्कली बाबु पर्दा पछाडि हुने देखिन्छ । आफ्नो वीर्यबाट नजन्मेको सन्तान भएपछि त्यस बच्चा र नक्कली बाबुबीच रगतको साइनो के हुन्छ ?
हुन त प्राचीनकालमा आजको जस्तो वैज्ञानिक प्रविधि नभएकाले पनि होला विवाहित स्त्री पतिद्वारा गर्भवती भइनन् भने परपुरुषसँग सम्बन्ध राखेर सन्तान जन्माउन सक्ने व्यावहारिक चलन थियो जसलाई नियोग प्रथा भनिन्थ्यो । रामायणकालमा राजा दशरथले तीन ओटी रानीसँग वैवाहिक सम्बन्ध गाँसे पनि बाबु हुन नसकेपछि गुरुहरुको सल्लाह अनुसार अग्निदेवको सहयोग लिएर रानीहरु गर्भवती भएका थिए । महाभारतकालमा राजा शन्तनु र रानी सत्यवतीका पुत्र विचित्र वीर्यको अम्बिका र अम्बालिकासँग बिहे भए पनि सन्तान जन्माउनुभन्दा पहिल्यै उनको मृत्यु भएको थियो । तसर्थ वंश चलाउनका लागि सत्यवतीले शन्तनु राजासँग बिहे गर्नुभन्दा अघि नै महर्षि परासरसँग संसर्ग गरी जन्माएको पुत्र व्यासलाई बोलाएर ती दुई भाइ बुहारीसँग सन्तान उत्पादनको आदेश दिएकाले नियोग विधि आदेशानुसार अम्बिकाबाट धृतराष्ट र अम्बालिकाबाट पाण्डुको जन्म भएको थियो ।
राजा पाण्डुका दुई रानी कुन्ती र माद्री भए पनि उनले रोगी रानीहरुसँग शारीरिक सम्बन्ध राखे त्यसैबेला मृत्यु हुने श्राप पाएकाले वंश चलाउनका लागि नियोग प्रथाद्वारा सन्तान जन्माउने उनकै स्वीकृतिमा जेठी रानी कुन्तीले धर्मराजाबाट युधिष्ठिर, वायुबाट भीम र इन्द्रबाट अर्जुन जन्माएकी थिइन् भने कान्छी रानी माद्रीले अश्विनीकुमारबाट नकुल र सहदेव जन्माएकी थिइन् । तसर्थ वर्तमान युगको सन्दर्भबाट हेर्दा राम, लक्ष्मण, भरत, शत्रुघ्न र धृतराष्ट्र, पाण्डु र पाँच पाण्डव टेस्टट्युब बेबीसरह नै हुन्
रामायण र महाभारतकालमा नियोग प्रथाद्वारा सोझै अन्य पुरुषसँगको सहवासबाट वंश चलेको पाइन्छ । आजको टेस्टट्युब प्रविधिबाट गर्भधारण गर्ने क्रियालाई विचार गर्दा प्रत्यक्षतः शारीरिक रुपमा नभए पनि अप्रत्यक्ष तथा अप्राकृतिक रुपमा परपुरुषसँग सम्बन्ध रहन गएको आभास मिल्छ । आज नोबेल पुरस्कार विजेता प्रा. एडवार्डस्को यस आविष्कारले चिकित्सा पद्धतिमा मानव शुक्रकीट बिक्री लागि बजार बन्न गएको छ र विश्वभर ठूलो संख्यामा फ्रिज मानव भू्रणले भर्न थालिएको छ ।
यस प्रविधिको विकासले गर्दा सन्तान जन्माउनुभन्दा पहिले नै पाठेघर नष्ट भई काटेर फालिसकेका महिलाले अब सन्तानहीन भएर बस्नु पर्ने अवस्था रहेन तर आश्चर्यजनक विकृति पनि देखापर्न थालेको छ । केही वर्षअघि एक जापानी ५० वर्षकी महिलाकी ३० वर्ष उमेरकी छोरीको पाठेघर काटेर फालिसकेकाले ती युवती बच्चा जन्माउन असमर्थ थिइन् । तर, आफ्नो छोरी र ज्वाइँका लागि सन्तानोत्पादन गर्न ती जापानी महिला सहमत भई छोरीको डिम्ब र ज्वाइँको शुक्रकीट टेस्टट्युबको प्रविधिबाट आफ्नो गर्भाशयमा प्रत्यारोपण गराई एक शिशुलाई जन्म दिइन् । यस घटनाले शिशु जन्माउने महिला त्यस बच्चाको आमा हुनु पर्नेमा नातामा हजुर आमा पर्न गइन् । त्यसैले ती जापानी महिला स्वयंले ‘नाति’ जन्माइन् भन्दा र सुन्दा आश्चर्य लाग्छ ।
आजभोलि अमेरिका, बेलायत र भारतमा समेत भाडामा शिशु जन्माउने भाडाकी आमा अर्थात् अरुका लागि अर्कैको डिम्ब र शुक्रकीट दुवै आफ्नो गर्भमा बोकेर बच्चा जन्माउने प्रचलन बन्दै गएको छ । कामकाजी, बेफुर्सदी तथा सम्पन्न परिवारकी आधुनिक महिलाले गर्भधारण गर्नसक्ने क्षमता भए पनि नौ महिनासम् मगर्भ बोकेर बच्चा जन्माएर समय बिताइरहनुको सट्टा आफ्नो डिम्ब र पतिको शुक्रकीट भाडाकी आमालाई दिएर सन्तान प्राप्त गर्न सक्ने भएको छ । बेलायती सेनाका श्रीमतीले श्रीमान् अफगानिस्तान र इरानमा तैनाथ हुनु अघि श्रीमान्को वीर्य सञ्चित गर्न थालेका   छन् । कदाचित् श्रीमान्को मृत्यु भएको खण्डमा विधवा भएको अवस्थामा पनि सन्तान जन्माउनका लागि उनीहरुले श्रीमान्को         वीर्य सञ्चित गर्छन् ।
 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार