मोहन वैद्य ‘किरण’ अध्यक्ष नेकपा –माओवादी
पार्टी विभाजन भएको दुई वर्ष नबित्दै तपाईको नेतृत्वको पार्टी फेरि विभाजन हुन पुग्यो, सचिव नेत्रविक्रम चन्दले नयाँ पार्टी खोल्नु भयो नि, के छ तपाईको प्रतिक्रिया ?
उहाँले गल्ती गर्नुभयो भन्ने लाग्छ मलाई । पार्टीको केन्द्रीय समितिको प्लेनम बैठकको माग उहाँले नै गर्नु भएको थियो तर उहाँ आपैm बैठकमा आउनु भएन । अघिल्ला बैठकहरूमा उहाँले प्रतिवेदन पनि पेश गर्नु भएको थियो, त्यसमा छलफल भएकै थियो । यति हुँदाहुँदै सम्बन्ध–विच्छेद गरेको पत्र उहाँहरूले पार्टीमा दिनुभयो । यस्तो ढंगले त पार्टी चल्दैन ! छलफल बहस गरेकै हो, विशेष महाधिवेशन पनि बोलाइएकै हो । ढिलोमा सात आठ महिनामात्रै थियो । यो बीचमै उहाँहरू आत्तिनु भयो नयाँ पार्टी खोल्नु भयो । त्यो खोल्नु हुँदैनथियो । उहाँहरूले गल्ती गर्नुभएको छ । गल्तीलाई सच्याउनु हुनेछ भन्ने विश्वास हामीलाई लागेको छ ।
केन्द्रीय समितिको विस्तारित बैठक माग गर्दा पोलिटब्युरो बैठक बोलाई दिएर तपाईले नै उहाँलाई विद्रोह गर्न बाध्य बनाउनु भएको आरोप छ नि तपाईलाई ?
त्यो सरासर गलत आरोप हो । उहाँहरूको माग अनुसार नै हामीले पूर्ण केन्द्रीय समितिको बैठक बोलायौं । उहाँ पनि त्यो बैठकमा आउनु भयो । बैठकमा उपस्थित पनि हुने अनि आपूmले बोलाउन लगाएको होइन भनेर अरुलाई आरोप थोपर्ने प्रवृत्ति ठीक होइन । उहाँले बैठकमा आफ्ना कुराहरू पनि राख्नुभयो, बैठकमा कुरा राख्दा पार्टी अलग खोलेर जाने कुरा गर्नु भएको थिएन, तर एकाएक कसरी यस्तो गर्नुभयो, हामीलाई आश्चर्य लागेको छ ।
तपाईहरूले त उहाँलाई आरोप लगाउनु भयो रे नि ?
राजनीतिमा व्यक्तिगत कुरा भन्दा पनि प्रवृत्तिको कुरा गरिन्छ । बैठकमा उहाँहरूले पनि त्यस्तो कुरा गर्नु भएको छ । कमीकमजोरीको विषयमा छलफल गरिन्छ । उहाँले पनि यस्ता कुरा राखेर अरुका कमीकमजोरी औंल्याउनु भएको थियो । अरुलाई आरोप पनि लगाउनु भएको थियो । आफै बैठक बोलाउने अनि आफैं हिंड्ने गर्नु हुँदैनथ्यो । उहाँले बैठक छाडेर जिल्ला जानु हुँदैनथ्यो । पार्टीभित्र छलफल र बहस चलाएर बहुमत आधारमा निर्णय लिएर अगाडि बढ्नु नै पार्टी पद्धति हो । त्यसरी पार्टीलाई एकताबद्ध बनाएर लैजान सकिन्थ्यो । तर उहाँहरूले बिल्कुल गलत ढंगले आफ्नो जिद्दी गर्नुभयो भन्ने हामीलाई लागेको छ । बहुमतको निर्णय नमान्ने हो भने त्यसलाई पार्टी पद्धति उल्लंघन गरेको ठानिन्छ ।
तपाईहरूले त जनवाद छाड्नु भयो भन्ने आरोप छ नि ?
त्यो गलत आरोप हो । त्यस्तो हुँदै होइन । पार्टीमा बसेर आफ्नो कुरा राख्नुस् भन्नुभन्दा ठूलो जनवाद के हुन्छ ? छलफल बहस गरेर क्रान्तिको बारेमा एउटा निष्कर्ष निकालौं, कमीकमजोरी हटाउँदै जाऔं भनेर भन्नुलाई जनवाद छाडेको हो भन्न मिल्छ ? पार्टीको बैठकमा कुरा राख्नै नदिएर निरंकुश ढंगले उहाँहरूलाई पन्छाएर जान खोजिएको भए आरोप लगाउनु ठीक हुन्थ्यो । यस्तो आरोप गलत हो ।
पार्टी महासचिव रामबहादुर थापा ‘बादल’ले जे भन्नुभयो तपाईले त्यही गर्नुहुन्छ भन्ने आरोप छ नि ?
पार्टी भनेको सामूहिक रूपमा जाने विधिबाट सञ्चालन हुने संगठन हो । म वा अरु कोही एक्लै बढ्ने भन्ने कुरा हुँदैन । त्यसरी एक्लै बढ्न थालियो भने पार्टीभित्र सामूहिक नेतृत्वको विकास हुन सक्दैन । बैठक बहिस्कार गर्ने, महाधिवेशनमा पनि नजाने, अनि अरुलाई जथाभावी आरोप लगाएर हुँदैन । विप्लबले आफूले पेश गरेको प्रस्तावअनुसार नै जानुपर्छ भनेर बारम्बार भन्दै आउनु भएको छ । एकजनाले भन्दैमा पार्टी त हिंड्दैन नि ! पार्टीभित्र आफ्नो प्रस्तावमा बहुमत नपुगेपछि पार्टी फुटाउनु ठीक होइन । यस्तो गर्ने हो भने त पार्टीभित्र दुईलाइनको संघर्ष जाँदैजाँदैन । पार्टीमा आएका प्रस्तावहरू छलफल बहस गरेर जुन बहुमतबाट पास हुन्छ त्यसैमा जाने हो, तर विप्लवजीले ठूला गल्ती गर्नुभएको छ । आफ्नो प्रस्ताव अल्पमतमा परेपछि छुट्टै पार्टी खोल्नु पार्टी पद्धति विपरीत चरित्र हो ।
देशमा माओवादी पार्टी कतिवटा बन्ने हुन् त अब ?
हामी सच्चा क्रान्तिकारीहरू एक भएर कम्युनिष्ट केन्द्र बनाउँछौं । विप्लवले पार्टी फोडेर गए पनि उहाँलाई हामी छाड्दैनौं, एक ठाउँमा ल्याउँछौं, ल्याउँछौं । अहिलेको आवश्यकता त्यही हो । विप्लबलाई साथ लिएर जान हामी अझै पहल गर्छौं ।
कार्यदिशामै विवाद छ, कसरी एक भएर जानु हुन्छ ?
हो, बहस र छलफल छ । उहाँले मैले भनेको मात्रै हुनु पर्छ भन्नु हुन्छ । पार्टीमा जनवादी केन्द्रीयता हुन्छ । उहाँहरूले कमीकमजोरी सच्याएर, छलफल र बहसबाट जानुपर्छ । त्यसो गरियो भने पार्टी पनि बलियो हुन्छ र पार्टीले निर्धारण गरेको कार्यक्रम पनि सक्रिय रूपमा लागू हुन्छ ।
माओवादी पार्टी त धेरै भइसके नि ?
तेस्रो महाधिवेशन यता छ वटा पूmटहरू भइसकेका छन् । तर एकता पनि हुन्छन् । कम्युनिष्टहरू फुट्न मात्रै जान्दैनन् जुटेर अघि बढ्न पनि तयार हुन्छन् । हामी कम्युनिष्टहरूलाई एक बनाएर नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्र बनाउँछौं । फुट्नु दुर्भाग्यपूर्ण छ । कम्युनिष्ट नाम राखेर गैरकम्युनिष्ट कार्यनीति लिनेहरू पनि छन् । नेपालमा क्रान्तिकारी माओवादी फुट्यो भनेर खुसी भएका होलान् तर यो धेरै दिन रहन दिन्नौं । क्रान्ति गर्न भीड होइन, जुझारूपन चाहिन्छ, सानो पार्टीले पनि क्रान्ति गर्न सक्छ । हामी जुझारुहरूको कम्युनिष्ट केन्द्र बनाउने अभियानमा लाग्नेछौं ।
तपाई अब विप्लबलाई नजिक देख्नु हुन्छ कि प्रचण्डलाई ?
को नजिक र को टाढा भन्ने होइन । कसको विचार के छ ? राष्ट्रिय स्वाधीनताको सवालमा को ठीक छ ? जनताका अधिकारका सवालमा को ठीक छ ? त्यसैले निर्धारण गर्छ को नजिक छ भन्ने कुरा । एकदमै क्रान्तिकारी लाइनमा देश र जनताको पक्षमा जाने हो । माओवादले माग गरेको क्रान्तिकारी लाइनमा गइन्छ । त्यो क्रान्तिकारी लाईनमा प्रचण्ड र विप्लब जो इमान्दारीका साथ आउँछन् उनै नजिक हुने स्पष्टै छ ।
तपाईकै नेतृत्वमा सबै आउनु पर्ने कि ?
होइन, मेरो नेतृत्व होइन । पहिला छलफल गरौं, राजनीतिक कार्यदिशा बनाऔं, अनि नेतृत्व चयन गरौं । कसको नेतृत्वमा को जाने ? को नेता बन्ने भन्ने कुरा पहिलै निर्णायक हुँदैन । म नै नेतृत्व गर्छु भनेर हुँदैन । नेतृत्व भनेको विवाद मिलाउने विषयमा सक्षम हुनुपर्दछ ।
प्रस्तुति ऋषि धमला







