गाई जात्रा डामाडोल दैलेख २०७२

 दैलेख, २०७२ भाद १५ गते
यही बेला नेपालमा भूकम्प आउनुपर्ने, यही वेला नेपालमा संविधान निर्माण हुनुपर्ने, यहीवेला नेपालमा सिंमाँकन हुनुपर्ने, यहीवेला नेपालले अण्डर नाईन्टिन जित्नुपर्ने । हरे शिव, कति त राम्रा भए कति भने बेकार भए । सिमा चाहियो भन्दा सरकारले सुर्खेतमा गोलि हान्यो त्यो पनि दुःखद भयो । कैलामीमा केही अराजक भिडले जनताको सुरक्षा गर्ने प्रहरीको हत्या गर्यो साना नावालकलाई समेत गोली हान्यो त्यो झनै दुःखत भयो । आँखिर संघियता र सिमाँकन केही नेताहरुलाई मात्र चाहिएको हो कि ? जनताहरुलाई पनि चाहिएको हो ।
दैलेख लगायत भेरी कर्णालीका जनताहरुले १३ दिन सम्म आन्दोलन गरे बल्ल बल्ल सुदुर पश्चिमबाट छुट्टीएर एउटा राज्य दिएको छ । सँधै हेला गर्ने सरकारले यसपालि पनि भेरी कर्णालीलाई सिँमाँकनमा हेला गरेको छ । चिन्ता छैन दैलेखि जनताहरु हो मेहनत गर्न सिक, ८ घण्टा अनिवार्य काम गर, अर्काले प्रगती गरेको भन्दै रिस हैन् ईमान्दार र वफादार भएर काम गर्न सिक, आएको बिकास बजेट ४० प्रतिशत मात्र काम गर्ने अनि ६० प्र्रशित खाने हैन, बजेटको सदुपयोग गर हाम्रो राज्य त्यसै सम्पन्न हुन्छ ।
भारतले सिधै आँखा लगाउने हाम्रो देशमा यसपालि कालापानी जस्तै भएको छ माथिल्लो कर्णाली नदी, यसको पनि ख्याल गर कर्णाली नदीमा भारतको दृष्टि परेकै कारण हामी सदुरपश्चिमेली हुनु परेको थियो लडेर             राज्य पाएका छौं । देशमा प्रहरी र सरकारले चाहे जे पनि हुन्छ चरी उडायो घैटो फुटायो त्यसैमा अधिकार जोडीएको छ । थुक्क नेताहो अराजकता रोक्दा अधिकार ठूलो कि पद्दती ठूलो । दैलेखका कुनामा बसेका जनताले भने न्याय पाउने दिन कहीले आउने हो । महाबु जगनाथ तिमीले नै जान । अव दैलेखतिरै लागौं । टुप्पोमा टेलिफोन टावरको वाँस छ, टावरले कहिल्यै टिप्दैन् । ईन्टरनेट राम्रो हुँदैन् पैसा नतिरेको दिनमै लाईन काटीन्छ, तर विग्रेको कहिल्यै पनि बनाईदैन् । साहारेले बगाउला झै गरि भेल उर्लेको छ । मिटर चढेको भन्दा पैसा धेरै आउँछ । अहिले त रकम पनि बढेको छ । मिटर नाप्नेले अंकै नहेरेर धमाधम पानीको वील काटेको काट्यै छ । खानेपानी कार्यालयले जनता ढाँटेको ढाँट्यैं छ । गाउँ   भरी करोडौंका योजना वनायौं भन्ने खानेपानी कार्यालयले ठूलो साहारे योजना ल्याएको छ । योजना कहिल्यै सम्पन्न हुँदैनन् सबै क्रमागत मात्रै रे ? जय होस् बिकास निर्माण जय होस खानेपानी । धन्न खुला दिशामुक्त जिल्ला घोषणा भो सदरमुकाममा अहिले सम्म सौचालय छैन् । सौचालय बनाउने जिम्मा बोकेको नगरपालिका आफै चकितपरेको छ । योजना सम्पन्न नहुँदै रकम सकिएको छ । जय होस खुला दिशामुक्त जिल्ला ।
टावर सँगै घरेलुको तान, तानका नाममा रकमको तानातान । द्धन्द्धपीडितका नाम, महिलाका नाम, युवतीका नाम, तालिम तालिममै सकिएको   घरेलुको तान । अव जे हुन्छ होस् यसका बाबु । बर्षात आयो कि पहिरो  रोकथाम अभियानमा, भू संरक्षणको त कुरै नगरौं । सिचाई, पानी मुहान यसो, त्यसो मिलाउँदै मेसो, जाली र तारको फालाफाल भएको यो बर्षको खवर छापीएको छ तर पहिरो रोकथाम गर्ने ठाउँमा न जाली छ न तार नै छ । सामान्य पहिरोले नमूना बस्तिमा तीन जना मरि           सके । प्रशासन प्रमुख उचित बास भन्दै जग्गा खोजेका खोज्यै छन् । कसैले पनि बादी समुदायलाई आफ्नो नजिक बस्न नदिने भन्दै तानावाना बुनेका बुन्यै छन् । के पीडित समुदायको मानव अधिकार हुँदैन लोकतन्त्रमा ।
बा बा बा हेर्नुत कति महंगो जडीबुटी आएको रहेछ । छोपेर मिलाए पछि केही आउँछ की ? वन भरी सल्लाका रुखहरु सुकेका छन् खोटो कम्पनी पनि   मालामाल । वन उपभोक्ता समितिका अध्यक्ष र टाँठाबाँठा पनि मालामाल वनका कर्मचारीको त कुरै नगरौं । अध्यक्षलाई पाँच हजार दिए पुग्ने । कर्मचारी देखि प्रमुखलाई अरु के के भए पुग्ने । विचरा सल्लाका रुखहरु पाँच ठाउँमा खोपिएको छ । हे प्रभु जंगलै सुक्ने अवस्था आएको छ । नयाँ प्रमुखले खोटो संकलन रोकेका छन् भन्ने खवर छ । पहिलाको भन्दा अलि बढी खोजेर हो वा साँच्चै  रोकेका हुन् त्यो पछि हेर्दै जाउँला । जथाभावी रुपमा खोटो संकलन गर्ने कर्मचारीहरुलाई राउटेको बस्तिमा गएर हेरचाह गर्न पठाउने सरकारले निर्णय गरेको समाचार छ ।    सवैलाई मोज छ यहाँ । रुख सुकेका सुक्यै छन् । सुकेका रुखबाट दाम झरेका झर्यैं छन् । जिल्लामा ठूला ठूला भवन वनेका छन् रातारात काठ भित्रिन्छ । प्रहरीले पनि थाहा पाउँदैन । वन कार्यालयले झन् के थाहा      पाओस् । रकम गोजीमा नपरे पछि मात्र खवर हुन्छ । जसले दिदैन दाम उसको हुँदैन काम । यस्तो वनको जनतालाई के काम । दाम तिरे पछि रातारात भित्रन्छ वनको अवैध काठ । अव ठोक्नु पर्छ यस्ता फटाहाहरुले टापका टाप । अब भुत्राको हरियो वन नेपालको धन ।
उत्पादनले दैलेख ढाकीको छ । सुन्तला आफै फलेका छन् । टुप्पोमा स्याऊ फलेको छ । अहिले त च्याऊ पनि फलेको छ । रोपाँई जात्रामा मदिरा रोपाँई हुन्छ । कृषकका नाममा बेकृषकलाई समेत मालामाल, भनेको समयमा मल पाँईदैन् । राम्रा र व्यवसायिक कृषकहरुलाई यहाँ जिल्ला कृषि चाँहिदैन् । कलेक्सन सेन्टर छन् तरकारी छैन । तरकारी     छ । सेन्टर छैन् हरे कृषि हरे कृषक तिमीहरु आफै जान ।
निर्वाचनको पनि भवन बन्दैछ । हाकिमको घर नजिकै जाने बाटोमा, हुलाक त्यस्तै छ, कोलेनिका पनि त्यस्तै छ । नगरपालिका सकिन लागेको देखिन्छ । अन्य धेरै कार्यालयहरुले करोडौंको भवन निर्माण थालेका छन् अरुलाई सुशासन सिकाउने प्रमुखहरुले सदरमुकाममै बनेका भवनहरुको रकम र कामकारबाहीबारे बारे जनतालाई थाहा दिएका छैनन् । सर्वाजनिक सुनुवाई हुँदैनन् । सार्वजनिक परीक्षण हुदैनन् । सरकार कार्यविधि जारी गर्छ । स्थानीय निकायका पदाधिकारीहरु कार्यविधिको पालनामा उदासिन देखिन्छन् । हरे शिब जनतामारा हरुले गरेको यस्ता बिकासको कति दिगोपना होला । दैलेखका जनतालाई ठगी गर्ने नेताहरुनै देखिए । न महावु सडक बनाउँछन् । न मध्य पहाडी सडक  बनाउँछन् । ईन्जिनियर आएर हुँदैन भन्दै जनता भड्काउने नेताहरु काठमाण्डौंमा मकै पड्काउने । कोही सदरमुकाम नभएर जानुपर्छ भन्दै मन्त्र बाँड्दै हिड्ने । जितेका नेताले बनाए उनकै श्रेय हुने हारेका नेता चुप्प लागेर बस्ने नेताकै मेल नभएर मध्य पहाडी राजमार्ग नवन्ने भो । जनताहरु आफै जान । म त अहिले जिल्लाराम परेको छु । असारमा धमाधम बिल मिलाएको देखेर यहाँ प्रहरी पनि जिल्ल परेका छन् । ठेकेदारहरु पनि जिल्ल परेका छन् । उपभोक्ता समितिका मान्छेहरु पनि जिल्ल परेका छन् । कतिको घरघरेडी भएको जस्तो छ त कतिको घरघरेडी जोडिएको जस्तो छ ।     कर्मचारीहरु पनि जिल्ल परेका छन् । ओभरसियरहरु झन् तीन छक परेका छन् ।  यीनीहरु त परेका थिए थिए पत्रकारहरु पनि जिल्ल परेका छन् । यिनको होस कहिले खुल्ने हो किन कि असारको कमिशनले अँझै निकास पाएको छैन् । बाटै ननापेर ठेक्का पास, उपभोक्ताको उठिवास, बाटोभरी असारे भल, स्थानीय विकास अधिकारीलाई रकम फुक्का गरिदिनु पर्र्यो भनेर आउँछन् कलका कल । स्थानीय विकास अधिकारीको अनुगमन । चित परे जनता ।
नयाँ स्थानीय बिकास अधिकारी आएपछि अहिले कमाउनेहरुको सातो गएको छ । मिलाउनेहरु तीन छक     परेका छन् खुरापातीहरु । तर पनि चोरी मार्काझै भिलाएको छन् भन्ने सुनिन्छ धन्न जिल्ल बिकासको बिग्रेको संरचना केही सुध्रिएको छ । अँझै बाँकी छ   सुधार्न । सिधै प्रतिशत माग्दा जनताले सभासद सम्म गुहारे, यिनका बाबुको घरको पैसा ल्याएझै गरि रकम मिलाउँदै खाने यस्तो चलन कहिले अन्त्य हुने हो । उनले पनि मेसो मिलाएका छन् भन्छन् सबै ।
यसपालि महावु पुगेका दैलेखका बिशेष प्रमुखहरु झण्डै भिरबाट चिप्लेर थाकेको खवर पनि आएको छ । १३ बर्ष बिते महावु सम्म सडक पुर्याउने भनेको तर काम शुन्य भन्न मिल्दैन । पुरा कहिल्यै हुँदैन । कसल,े कति, कहाँ, कस्ता,े मोज गरे जनता तिमिहरुले नै खोज हिसाव किताव । जिल्लाका व्यापारीहरु चकित परेका पर्यैं छन् । जुम्लाबाट सिमि झरेका झर्यैं छन् । हजारौ भेडाको बगाल हुने दैलेखमा अहिले ओखर फुटाएर खानुपर्ने भएको छ । व्यपार छैन्, व्यवसाय घटेको छ । व्यापारीहरु किन चुप लागेका हुन्। बैंकको ऋण तीर्न नसकेर मुग्लान जानेबेला थाहा पाउला । अहिले जुम्लाबाट सामान किन्न आउने व्यापारीहरुलाई फोटो खिच्नुपर्ने अवस्था छ । सडक बन्दैन । धार्मिक पर्यटकीय स्थल महावुमा समेत त्यस्तै समस्या छ । गतिलो पर्यटकीय क्षेत्र बन्ने यस्ता ठाउँहरुको उठिवास छ ।
जिल्ला भरिका बाटामा करोडौं   करोड सकिन्छ सवारी साधननै    गुड्दैनन् । गाउँबाट आएका बाघहरुले मकै नभेट्टाएर हैरान परेका छन् । स्थानीय विकास अधिकारीज्यू होसियार झम्टेलान् नी वाघहरुले । अव जिल्ला विकास समितिका करिव ६० जना कर्मचारीलाई बाघलाई चाहिने मकै लिनको लागि डोजरमा चढेर कालिका पठाई दिनु पर्नेे निर्णय गरेको छ । सिँचाई कुलोमा बग्ने खतरा छ । माटो मिसाएर प्लास्टर गरिन्छ । कमिशनको नाममा खाता रोकिन्छ । बरिष्ठहरु बरिष्ठै आधारमा कमिशन खाने, बिकास कता जाने ।
पहिले पहिले प्रिय तिमिसँग अव एक महिना पछिको पत्रमा भेट गरौंला भनिन्थ्यो तर आज भोली त निकै सजिलो भएको छ । सेकेण्ड सेकेण्डमा आई लभ यू , लभ लभालभ यू , ज्यानै तिमी विना छैन् । यिनका वाजे आज भोली त मोवाईलले फेसनै बनायो ” । “१२ बर्षमै आई लभ यू १३ बर्षमा खचाखच क्यू, १४ बर्षमा ६ किलोको ज्यूँ अव कसले    रोक्ने हो ।” प्रहरी अगाडी छौं । तिमिहरुले सक्छौं भने रोक । सक्दैनौ भने ठोक । नत्र तिम्रा बाबुले देख्लाननी ख्याल गरेर बस ।
तपाँई कतै केटिको लफडामा त हुनुहुन्न । कतै फोनमा समस्या त छैन् । कतै बहुविवाह वा अन्य केही सामान्य चिथर चाथर देखी अन्य केही यौनजन्य हिंसा गर्नु भएको त छैन् । प्रहरी भित्र नपर्नु होला किनकी भित्र खोरमा जाने वित्तिकै तपाँईलाई निस्कन हल्का फुल्का नभए सम्म गाह्रो पर्छ । साँच्चै हिंसा   गरे पनि यहाँ उपचार रकमकै हुन्छ । कसैलाई फसाउनु छ भने पनि काम रकमकै हुन्छ । किनकी यहाँ कहिल्यै पनि मुद्धा चल्दैन भन्ने गुनाँसो छ । नयाँ    प्रहरी प्रमुखज्यू आउनु भएको छ । अव जनतालाई सहज हुन्छ रे न्यायमा निश्पक्षता हुन्छ रे ख्याल गर्नुपर्ला ।
ॐ श्री आरायणम न….. म…..अ ……. । फोहोरको थुप्राए न..म…। पानीको समस्याय ..न…. म….। सडक भरी गाडी, वालुवा र गिटी थुपाराए न…म…. । पिच नवन्दै रकम सक्याए न… म….। भित्र भित्र विल मिलाए …. न…. म…. । सडक भरी दिशा..आए नम…. । नयाँ हाकिम…आ ए… नम …. । नयाँ भवन छिट्टै निर्माणाय…. नम…. । जनताले बर्षको बर्ष कर तिरेका तिर्यैं छन् । कर्मचारी त्यही करमा मोज गरेर फिरेका फिर्यैं छन् । नयाँ हाकिमले केही नयाँ गरे भने जय नराायण । नत्र कुम्लायण नारायण ।
जय विद्युत, जय पोल, जय दारु, जय झोल । विद्युत बनाउनेहरुनै झोलमा चुमुल्गं डुवेपछि भुत्राको बिजुली । पोल एकातिर ढल्छ मान्छे अर्कोतिर जान्छ । बत्ती के भयो भनेर सोध्नु मात्रै पर्यो कोहलपुर बिग्रेछ भनेर सजिलै टार्ने । थुक्क विद्युत विकास । नगरपालिका घोषणा भएको १८ बर्षसम्म नगरका वडाहरुमा बत्ती बल्दैन्  अनी कसले हो यसको रेखदेख गर्ने ।
एक जनाले चाकवाट बल लगाएर चिच्चायो भने दैलेखको वत्ति र टेलिफोन एकै पटक जान्छ । हावा हुरी पानी असिनाको त कुरै नगरौं । गाउँमा वत्ति बाल्ने बाहना रकम गोजिको चाहना । यस्तो विद्युत कार्यालयका सवै कर्मचारीहरुलाई माथिल्लो कर्णाली जलविद्युत आयोजना, नेपाल सरकार र दैलेखि जनताको लगानीमा निर्माण गर्न भन्दै आयोजना स्थलमै सरुवा गरेको खवर छ ।
शिक्षाको त कुरै नगरौं रातारात आफ्ना मान्छेलाई ठाउँका ठाउँका सरुवा गर्न निकै तल्लिन देखिएका छन् नेताहरु । नयाँ नाम निकाल्ने शिक्षकहरुले पढ्न सम्म पढे, बिचरा तिनको हरिगती कुनै पार्टी निकटको शिक्षकको संस्था नसमाते भनेको ठाउँमा जान   पाईदैन् । धमाधम खाता    रोक्दै चाहियो हजुर नत्र खोलीदैन भन्दै अचालक्लि गरेको खबर समेत आएको      छ । खाता मात्रै किन रोक्छौं काम नगरेर रकम खानेलाई जेलमा कोच्ने काम गर । पढेर के सार, शिक्षा कार्यालय त आजभोली दुई चारवटा व्यक्तिले चलाएको भन्ने खवर आएको छ । अव लोकसेवा आयोग नचाहिने भयो राजनीतिक दलका नेताहरुले आफ्ना संगठीत र सक्रिय सदस्यहरुलाई शिक्षा कार्यालय चलाउने निर्देशन सहित नेपाल सरकारले नियुक्ती गरेको खबर गाईजात्रे कोशेलीमा छापिएको छ ।
एकताका विल मिलाउन हैरान स्वास्थ्य कार्यालयमा यो बर्ष ठूलो भूकम्प नआएको खवर छ । साना सना भूकम्पका झड्काहरु भने यो बर्ष देखिए तर त्यस्ता झड्काहरु भित्रै मिलेछन् धन्न बाहिर आउन पाएन  । आएको भए यसपालि पनि यिनको         भूडिँपुराण हुनेवाला थियो । दरबन्दिका डाक्टर साहेवहरु जिल्लामा छौं । अव गाउँतिर जान तम्सिनुपर्र्यो । नत्र फेरी हैजा आयो भने खाउला लड्डु ।
एनजिओ, तुमजिओ, हामजिओ यसका बाजे । ईनका के कुरा गर्ने । प्रस्तावना खोल्नु अगाडीनै कार्यक्रम दिने प्रमुखलाई भेटिन्छ, लाखौको बिटो खोलिन्छ । कति बाटा हुन् नागरिक समाजका मान्छेहरु अव ईनलाई डोकोमा घाँस काट्ने परियोजना ल्याउनु पर्छ । बिल, भरपाई सरपाई, केटीपाई, केटापाई, लभर पाई, लभरनी पाई, सवै चल्छ एनजिओमा । कतिले करोडौं कमाए कतिले लाखौं गुमाए । कतिले घरवार डुवाए, बुढो केटी लगेर फिल्ड तिर, बुढी फोन तिर । हे राम  डलर खेती । मकैको रोपाँई, धानको मुल विऊ । यस्तालाई कसरी बुद्धि फिराउने हो ।      सवैलाई सगज गराउने पत्रकार समाजको चारवटा अंग । त्यसमा पनि दैलेखको ईतिहाँस डकेन्द्रसँग जोडिएको जिल्ला । दैलेखको शान, मान, ईज्जत र प्रतिष्ठा । यो भने कायम राख्न सकेनन् की भन्ने चिन्ता छ दैलेखका पत्रकारहरुले । अरुलाई राम्रो सिकाउने जिम्मा पाएका पत्रकारले आफै जे पायो त्यही गरेपछि समाज कसरी सुध्रन्छ । अँझै केही बिग्रेको छैन् । अरुलाई राम्रो आँखा देखाउनेहरुले आफ्नै आँखा पहिला निष्पक्ष भएर खोल नत्र तिम्रा आँखा फ्ट्छन् । जेरी बेडीएझै गरि बेडीएर मात्र हुँदैन् । पहिला घर मिलाऊ, अनि वन मिलाउन लाग । नत्र वन चरिले मनपरी गर्लान्् । होस गर । व्यापारी एकता बढाउन उद्योग बाणिज्य संघ पनि त्यस्तै छ । चुनावको रिस अँझै सकिएको छैन् । पत्रकार र उद्यागीहरु चुनाव देखि नै बेडीएका      कारण कार्यालय प्रमुखहरु पनि समस्या   छन । अव सवै बिवाद मिलाउन सच्चा नागरिक संगठन बन्ने प्रयास गर । नत्र तिम्रो यस्तो पाराको चुनाव अवका दिनहरुमा नगर्ने भन्दै महावुधामबाट शिवजीले निर्णय गरेर पठाउने खबर छ  । गाईजात्रे कोशेली डामाडोल २०७२ यसपालि बिदा माग्दछ । लेखेका जति र लेख्न छुटेका जती सवैलाई बुद्धि पलाओस् जिल्लाका यि सवैलाई एक एक महिनाको लागि भारत भ्रमण गरेर सवैको दशा शान्ति गर्न नेपाल सरकारले निर्णय गरेको छ । यसपाली भेरी कर्णाली प्रदेश मोदि सरकारबाट छुटेकोले चाईना सरकार सँग तत्काल नाका जोड्न चाईना सरकारलाई खबर पठाईएको छ ।
सवैलाई शुभ यात्राको कामना
प्रस्तोता ः
गाईजात्रे कोशेली डामाडोल दैलेखको संयुक्त प्रस्तुती (२०७२)
बाघ जात्राको दिन प्रस्तुत गरिएको
सम्पादन नगरिएको कोशेली ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार