गर्भवती भेट्दै उप–प्रमुख


कात्र्तिक २७,दैलेख
गर्भअवस्था भएकै बेलामा आराम गर्नुपर्ने ठाउँमा घर परिवारको थिचोमिचो सहनुपर्ने, पोषिलो खानेकुरामा बिभेद गर्ने, कामको धेरै जिम्मेवारी बहन गर्ने पुरानो प्रचलनका कारण दैलेखको नारायण नगरपालिका भित्रका आमा र बच्चाहरु समस्यामा पर्दै आएका बेला यस्ता समस्या समाधानका लागि दैलेखको नारायण नगरपालिकाले गर्भवती महिलासँग उपप्रमुख कार्यक्रम यो वर्षबाट संचालन गरेको छ । कार्यक्रमले महिलाहरुका समस्या बुझ्ने, समाधानका उपायको खोजी गर्ने र आपतमा परेका महिलाहरुको थप व्यवस्थापन गर्न सहज देखिएको छ ।
नारायण नगरपालिका भित्र करिव ८ सय बढी गर्भवती रहेकोले सोही अनुसार कार्यक्रम तयार गरि वडा वडामा गर्भवती महिलाहरु सँग नगर उपप्रमुख सावित्रि मल्लले भेटघाट बढाएकी छन् । वडा स्तरमा रहेका स्वास्थ्य संस्थाहरुको समन्वयमा गाउँभरिका गर्भवती महिलाहरुको एकै स्थानमा भेला गराएर उनिहरुका समस्याका बारेमा छलफल गर्ने गरिएको छ ।
गर्भवती महिलाहरुलाई १ सय ८० दिन सम्म पुग्ने आईरन चक्कि १० वटा अण्डा, सावुन, नुन, फलफुल लगायतका सामानहरु राखेर तयार पारिएको झोला नगर उपप्रमुख सावित्रि मल्लले गर्भवती महिलाहरुलाई प्रदान गर्ने गर्दछिन् । नारायण नगरपालिकाको भवानीबाट यो कार्यक्रमको सुरुवात गरिएपछि अहिले ना.न.पा. ४ सोत र नारायण नगरपालिकाको कार्यलयमै समेत कार्यक्रम आयोजना गरिएको छ ।
गर्भवती महिलहरुका समस्या बुझ्न, नियमित चारपटक स्वास्थ्य जाँच गर्न, पोषिलो खानेकुरा खान, आराम गर्न र स्वास्थ्य संस्थामै पुगेर अनिवार्य रुपमा सुत्केरी हुन आफुले गर्भवती महिलालाई जानकारी गराउँदै आएको नगर उपप्रमुख सावित्रि मल्लले जानकारी दिएकी छन् ।
यो वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर नारायण नगरपालिका दैलेखले ५ लाख रकम बिनियोजन गरेअनुसार कार्यक्रम सुरु गरिएको हो ।
नारायण नगरपालिका कार्यालय दैलेखमा बुधवार १ सय ११ जना गर्भवती महिलाहरु जम्मा गरेर नगरपालिकाले बृहत अन्तरिक्रिया सँगै पोषिलो झोला समेत बितरण गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्मा, पार्वती बिशुन्के, जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले महिलाहरुले आफ्ना समस्याहरुको बारेमा तत्काल स्वास्थ्य संस्थामा जानकारी गराउँदै सुरक्षति सुत्केरीका लागि उनका परिवारहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका छन् ।
स्थान अभाव भएपछि भुईमै गर्भवती, सोफामा जनप्रतिनिधि
कार्यक्रम स्थल नारायण नगरपालिका दैलेखको कार्यकक्ष अगाडी गर्भवती सँग उपमेयर कार्यक्रम सुरु गरिएको भएपनि स्थान अभाव सँगै कुर्चि अपुग भएपछि धेरै जसो गर्भवती महिलाहरु २ घण्टासम्म चिसो म्याट ओछ्याएको भुईमा बस्नुपर्ने
बाध्यता भएको थियो ।
११ बजे गर्भवती महिलाहरु जम्मा भएको भएपनि १ बजे मात्र कार्यक्रम सुरु भएपछि महिलाहरु समस्यामा परेका थिए । सहभागिको संख्या धेरै भएपछि कतिपय कुर्चिमै बसेका थिए भने कतिपय भुईमै बसेका देखिन्थे ।
निर्वाचित जनप्रतिनिधिहरु र अन्य बिशेष व्यक्तिहरु कुर्चिमा बस्ने र जसको लागि कार्यक्रम गरिएको हो उनिहरु चिसो भुँईमा बसेको प्रति सहभागिले असन्तुष्टि व्यक्त गरेका थिए । आगामी दिनमा कार्यक्रम संचालन गर्दा सुत्केरी महिलाको अधिकारको ख्याल गर्दै उचित बस्ने स्थान बनाउन नारायण नगरपालिकालाई सहभागि महिलाहरुले आग्रह समेत गरेका छन् । नारायण नगरपालिकाले पहिलो पटक भएकोले स्थान अभाव भएको भन्दै आगामी दिनहरुमा यस्तो समस्या नदोहोराउने प्रतिबद्धता समेत गरेको छ ।
कार्यक्रम प्रभावकारी व्यवस्थापन फितलो
स्थानीय सरकारले गर्नुपर्ने निकै महत्वपूर्ण कार्यक्रम मानिएको भएपनि यसको व्यवस्थापन फितलो देखिएको छ । पहिलो पटक भएकोले व्यवस्थापनमा केही समस्या देखिएको भएपनि आगामी दिनहरुमा गर्भवती महिलाहरुका खास समस्याहरुको बिश्लेषण गर्दै निकै समस्यामा परेका महिलाहरुकालागि उचित व्यवस्थापन सहितको कार्यक्रम गर्न सके अँझै यसको प्रभाव बढ्ने देखिएको छ । स्थानीय सरकारहरुले गर्नुपर्ने खास कामहरु यस्तै हुन् । दलित, जनजाती, गरिव, महिलाहरुको समस्याहरु सँग वडा तहसम्म पुगेर समस्या समाधानका लागि, सशक्तिकरणका लागि स्थानीय सरकारले काम गर्नु पर्ने देखिएको सहभागिहरुले बताएका छन् ।
नगरपालिकाद्धारा
स्तनपान कक्ष स्थापनाः
महिलाहरुको अधिकार र सवालमा आधारित बिभिन्न समस्याहरुको बिश्लेषण गर्दै हरेक गर्भवती महिलाको पोषण क्षमता बिकास गर्नका लागि आफुहरुले नगरपालिकाको द्धारमै पोषण कर्नर स्थापना गरेको नगर प्रमुख रत्नबहादुर खड्काले बताए । बालबच्चा भएका महिलाहरुले सेवा लिन आउँदा उनिहरुको समस्यालाई मध्यनजर गर्दै स्तनपान कक्ष समेत निर्माण गरेर गत बर्षदेखिनै सेवा प्रभावकारीताको काम सुरु गरेको खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार