आमाबावु संक्रमित बालकको रिपोट नेगेटिभ

  • दैलेखका तीन पालिकामा ७ संक्रमित कुल संख्या ८ पुग्यो, परीक्षण गर्ने दुबै किट अभाव
  • दैलेखको डुङ्गेश्वर गाउँपालिका एक दम्पतीसँगै १ वर्षे बालक साथमा छन् । शुक्रवार भारतबाट दैलेखको डुङ्गेश्वर आएका सबैको आरडिटी परीक्षण गरिएको मध्ये दम्पतीको रिपोट पोजेटिभ देखिएपछि बालक सहित आमा बावुको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि सुर्खेत पठाईएको थियो । सुर्खेत प्रयोगशाला हुँदै नेपालगंज पठाईएको स्वाबको रिपोर्टमा आमा बावुको पोजेटिभ आएपनि १ वर्षे बालकको रिपोट भने नेगेटिभ आएको छ ।
    उनीहरुलाई दैलेखको सरस्वती मा.वि. तर्ताङ्गमा निर्माण गरिएको आइसुलेसन अस्पतालमा राखिएको छ । १ वर्षे बालक पनि उनीहरुकै साथमा रहेका छन् । घरका आफन्तले उनलाई लिने वा संक्रमित आमा बुवा सँगै बालकलाई बसाल्ने भन्ने बिषयको टुँगो लागेको छैन् । उनीसँगै शनिवार दैलेखबाट पठाइएका ७ जनाको रिपोट पोजेटिभ देखिएको छ । दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । संक्रमित सबै भारतबाट आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । सवैको अन्यत्र कोही कसैसँग सम्र्पक भए नभएको बारेमा समेत खोजी कार्य सुरु गरिने जानकारी दिईएको छ ।
    संक्रमित सवै व्यक्तिहरु क्वारेन्टाइनमा भएकै बेलामा स्वाब संकलन गरिएकोले समुदायमा फैलिन नपाएको स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । दैलेखको गुराँस गाउँपालिकामा संक्रमितलाई सुर्खेत लिने वा दैलेख ल्याउने भन्ने बिषयमा छलफल भैरहेको छ । कर्णालीको पहिलो संक्रमित दैलेखको आठवीस नगरपालिकाका एक युवालाई दैलेखको शरस्वती मा.वि.मा निर्माण गरिएको आईसुलेसनमा राखिएको भन्दै चर्को बिरोध पछि उनलाई कोरोना अस्पताल सुर्खेत लगिएको भएपनि एकैपटक ७ जना नयाँ सक्रमित देखिएपछि उनीहरुको उपचारको बारेमा पनि प्रश्न चिन्ह खडा भएको छ ।
    दैलेखको आठविस नगरपालिकाका एक युवा संक्रमितको उपचार अहिले सुर्खेत भएको छ । त्यस्तै नारायण नगरपालिका २ जना १५ र १८ वर्षे बालकमा संक्रमण देखिएको छ । डुङ्गेश्वर गाउँपालिकाका एक दम्पती र अन्य एकजना पुरुष गरेर ३ जना संक्रमित भएका छन् । गुराँस गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।


    दैनिक हजारौं नागरिक दैलेख भित्रिदै
    सीमा क्षेत्रबाट उद्धार गर्ने कार्य सुरु भएसँगै कामको खोजीमा भारत गएका युवाहरू गृह जिल्ला दैलेख भित्रने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । अहिले दैलेख प्रवेश गर्ने मुख्य नाका गुराँसेबाट दैनिक एक हजार बढी नागरिकहरु दैलेख प्रवेश गरिरहेका छन् । शनिवार र आइतवार मात्र दैलेख जिल्ला भित्रनेहरुको संख्या २ हजार बढी पुगेको छ । रानीमत्ता प्रहरीका अनुसार शनिवार मात्रै दैलेख जिल्लामा ३३ गाडी यात्रु र आईतवार मात्र ३६ गाडी यात्रु भारतबाट दैलेख भित्रिएका छन् ।
    दैलेखको गुराँसे नाका हुँदै दैलेख प्रवेश गर्नेहरुको सङ्ख्या बढेसँगै दैलेखका सबै विद्यालयका भवनहरुलाई अस्थायी वासस्थान बनाउने तयारी पनि तीव्र पारिएको छ । दैलेखको नारायण नगरपालिका भित्र रहेको नारायण क्याम्पसमा १ सय ५० जनाका लागि क्वारेन्टाईन निर्माण गरिएको भए पनि एक्कासि संख्या बढेपछि सदरमुकाम दैलेख बजारभित्र रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालय र रेडक्रस मा.वि. भूर्तिमा रातारात नयाँ क्वारेन्टाइन निर्माण गरेर व्यवस्थापन गरिएको छ । शनिवार र आईतवार मात्र नारायण नगरपालिकामा ५ सय ३० बढी नागरिक भित्रिएका छन् ।
    चारवटा विद्यालयको क्वारेन्टाईनको संख्या समेत अपुग भएपछि महेन्द्र मा.वि. सोत, जाहारकोट, किमुगाउँका विद्यालयहरु गरेर सदरमुकाम दैलेख बजार आसपासका १० वटा बिद्यालयमा भारतबाट आएका नागरिकहरुलाई राखिएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिएका छ् । राती २ बजेसम्म भारतबाट आएका व्यक्तिहरूको व्यवस्थापन गर्न जुटेका छौं । चुनौती थपिएको छ । जेनतेन व्यवस्थापन गर्दा पनि अनावश्यक टिका टिप्पणीहरु धेरै हुन थालेकोले समस्या बुझेर मात्र टिप्पणी गरिदिन सामाजिक संजाल प्रयोग कर्ताहरुलाई खड्काले आग्रह गरेका छन् ।
    पालिकामा भएका विद्यालय भरीभराउ हुने अवस्था आईसकेको छ । मानिसहरू आउने क्रम रोकिएको छैन पालिकामा झनै समस्या बढ्ने निश्चित भएको महावु गाउँपालिकाका अध्यक्ष जङ्ग शाहीको गुनासो छ ।
    विदेशबाट ४ हजार ५ सय बढी जिल्ला भित्रिए,
    पिसिआरको दायरा बढाउन माग
    लकडाउनको अघि र लक डाउन अवधिभर दैलेखमा भारत र अन्य तेस्रो मुलुकबाट दैलेख प्रवेश गर्नेहरुको संख्या ४ हजार ५ सय बढी भैसकेको छ । दैलेखमा शुक्रवार बिहान सम्म २ हजार ७ सय बढी मानिसहरू भारतबाट दैलेख जिल्ला प्रवेश गरिसकेका छन् । शनिवार र आइतवार मात्र २ हजार बढी मानिसहरु भित्रिएका छन् । कुन पालिकामा कहाँबाट कति आए भनेर तत्थ्याँक राख्न समेत समस्या उत्पन्न हुने अवस्था आईसकेको दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् । गाडीका गाडी मानिसहरू जिल्ला र पालिकामा भित्रिएका छन् । तथ्याङ्क राख्न पनि हम्मे हम्मे हुने अवस्था सृजना हुन थालेको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले भने “को कति आए अहिले तत्थ्याँक संकलन भन्दा व्यवस्थापनमा लागेका छौं कसैलाई पनि बाहिर जान दिएका छैनौं । सकेसम्म राम्रो व्यवस्थापनमा जुटेका छौं आजबाट कुन स्थानमा कति आए भनेर बिवरण संकलन गर्छौ । ”
    भारतबाट भित्रने क्रम बढेसँगै स्वाब परीक्षणको दायरा बढाइदिन केन्द्र र प्रदेश सरकारसँग दैलेखका स्थानीय सरकारले आग्रह गरेका छन् । दैलेखका स्वाब परीक्षण निकै न्यून रहेको छ ।
    स्वास्थ्य परीक्षण गर्ने दुबै किट अभाव
    दैलेखमा कोरोना संक्रमणका लागि स्वास्थ्य परीक्षण गर्ने आर.डि.टि र स्वाब संकलन गर्ने दुवै किट अभाव देखिएको छ । भारतबाट जिल्ला भित्रनेहरुको संख्या दैनिक हजार हुन थालेपछि परीक्षण गर्ने किट अभाव देखिएको स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिएका छन् । केन्द्र र प्रदेश सरकारले तत्काल किट जिल्लामा पठाउनुपर्ने माग जिल्लाका नागरिकहरुको छ ।

    सकेसम्म काम गर्छु
    बिरोधको प्रवाह गर्दिनः नगरप्रमुख खड्का
    नारायण नगरपालिका दैलेख अहिले दुइतर्फी समस्यामा परेको छ । एकातिर आफ्ना ११ वटा वडाका नागरिकहरुको व्यवस्थापनको चुनौती कायमै रहेको छ भने अर्कोतर्फ जिल्लाका नौमूले, भगवतीमाई, भैरवी, दुल्लू लगायतका पालिकाका नागरिकहरु समेत दैलेख सदरमुकाम आएर जाने क्रम बढेपछि नारायण नगरपालिकालाई थप चुनौती बढेको हो ।
    बिभिन्न पालिकाहरुबाट आएका व्यक्तिहरुलाई नारायण क्याम्पसमै ल्याएर छोडिदिने अवस्था सृजना भएको छ । आफ्नै जिल्लाका नागरिकहरु हुन भन्दै आफुहरुले उच्च सर्तकताका साथमा बासस्थान, खापानको व्यवस्थापन गर्दै आएको भएपनि सयौंको संख्यामा अन्य पालिकाका नागरिकहरु आएपछि कतिपय समस्याहरु देखिएका छन् । अन्य पालिकाहरुले आफ्नो सवारी साधनको व्यवस्थापन गरेर दैलेख आउने बेलासम्म लाग्ने समय अवधिमा स्थानीयहरु आक्रोशित हुने गरेका छन् । हामिले उच्च सम्मानका साथ व्यवस्थापन गर्दा गर्दै देखिएका सानातिना कमजोरी देखेर बिरोध गर्नेहरुको प्रवाह नगरेरै काम गरिरहेको नगरप्रमुख खड्काले बताए ।
    नारायणका सबै टोलि खटिएका छन् । म आफै पनि राति २ बजेसम्म क्वारेन्टाइन निर्माण र व्यवस्थापनमा खटेको छु । हाम्रा वडा अध्यक्षहरु खटिएका छन् । खटिएको कुरा नदेख्ने तर केही समयका लागि कोचिएर बसेका तस्विरहरु हालेर बद्नाम गराउने काम गर्नुभन्दा दैलेखका नागरिकहरु कसरी बचाउन सकिन्छ भनेर रचनात्मक सुझाव दिन नगरप्रमुख खड्काले आग्रह गरेका छन् ।
    नगरपालिकाको स्वास्थ्य टोलि र जिल्ला स्वास्थ्यको टोलि उपचारका लागि क्वारेन्टाइनमा पालोपाले खटिएको छ । सुरक्षा अभाव हुँदा हुँदै पनि जनताको सुरक्षा प्रदान गर्ने काम भैरहेको छ । जनतालाई भ्रममा पार्ने गैर जिम्मेवारीपन कसैले पनि प्रकट गर्न नहुने भन्दै सवैलाई हातेमालो गरेर कोरोना संक्रमणबाट जनतालाई जोगाउन लाग्न खड्काले सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार