
दैलेख जेठ १८ ।
जिल्लाभरका नागरिकहरुको आपतकालिन उपचार गर्ने दैलेख अस्पतालको इमरजेन्सी वार्ड सिल गरिएको छ । शनिवार रातिदेखि एक्कासि वार्ड सिल गरिएको हो । भारतबाट आएका एक युवा क्वारेन्टाइनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको इमरजेन्सी वार्डमा उपचार गराएका र उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि इमरजेन्सी वार्ड सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
२२ वर्षीय पुरुष सुगरका बिरामी रहेछन् । उनले अस्पतालमा सत्य कुना नगरेपछि अहिले इमरजेन्सीमा उपचार गरेका अन्य बिरामी र कर्मचारीहरू समेत सबैलाई सिल गर्नुपर्ने अवस्था आएको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिएका छन् । उनले आफू एक वर्ष अघि भारतबाट आएको भन्दै इमरजेन्सी वार्डमा भर्ना भएका थिए । बुझ्दै जाँदा केही दिन अघि मात्र भारतबाट आएकोमात्र नभै क्वारेन्टाइनबाट भागेको खुलेपछि उनको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि इमरजेन्सी वार्ड सिल गरिएको हो । उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
अहिले अन्य बिरामीहरूको उपचारका लागि छिट्टै आपतकालिन कक्ष स्थापना गरिएको छ । जिल्लामा स्वास्थ्यकर्मीहरुको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिएका छन् ।
भारतबाट आएका व्यक्तिहरू सभ्य तरिकाले क्वारेन्टाइनमा नबसेका कारण पनि जिल्लामा धेरै समस्या उत्पन्न भएको छ । प्रदेश सरकारले धमाधम मानिसहरू जिल्ला भित्राएपछि स्थानीय सरकार र प्रशासनले थाम्न नसक्ने अवस्था देखिएको छ । अवस्था जटिल बन्दै जान थालेपछि क्वारेन्टाइनको विकल्प खोजी गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् ।






