दैलेखमा २ सय ५२ केन्द्रबाट कोरोना बिरुद्धको खोप दिइने


फागुन १७, दैलेख
११ वटा स्थानीय तह रहेको दैलेखमा स्वास्थ्य सेवा कार्यालय दैलेखले कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानलाई तीव्रता दिइने भएको छ । दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप दिइने उद्देश्यका साथ स्वास्थ्य सेवा कार्यालय दैलेखले नियमित २ सय ५२ खोप केन्द्र सञ्चालन गर्ने भएको हो ।
स्वास्थ्य कार्यालय दैलेखले गरेको कोभिड–१९ रोग विरुद्धको खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यालयका निमित्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मिले दैलेखमा दोस्रो चरणको कोरोना खोप दुई चरणमा लगाइने र खोप अभियानका लागि नियमित २ सय ५२ खोप केन्द्र सञ्चालन गरिने जानकारी दिए ।
उनले यही फागुन २३ गतेबाट सरकारले सुरु गर्न लागेको कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य कर्मीहरूलाई पूर्ण तालीम दिइने र जनसंख्याको चाप हेरेर विभिन्न ठाउँमा स्वास्थ्य कर्मी खटाउँने योजना रहेको बताए ।
सरकारको नीति अनुसार दोस्रो चरणका ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने तयारी भएकोमा दैलेखमा दोस्रो चरणमा अनुमानित ३६ हजार ९ सय १० जनालाई खोप गाइने र सरकारले शिक्षकहरूलाई पनि खोप लगाउने अनुमति दिएको खण्डमा यो संख्या बढ्न सक्ने रेग्मीले बताए ।
दैलेखमा हालसम्म १४ सय ८३ जना स्वास्थ्यकर्मी र १७ सय १ जना पत्रकार जनप्रतिनिधि सरकारी कर्मचारी गरी ३ हजार १ सय ८४ जनाले खोप लगाइ सकेका स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
यस्तै दैलेखमा कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा पाठेघर खस्ने समस्या भएका महिलाहरूका लागि नौ दिने निःशुल्क शिविर सञ्चालन हुने भएको छ ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टरहरूले सेवा दिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर राजीव शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार