काठमाडौंः ‘हामीले नेपालबाट क्रिकेटको पाठ सिक्यौं । नेपालले सामान्यतया खेल्नेभन्दा फरक शैलीमा खेल्यो,’ नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले त्रिकोणात्मक टी–२० सिरिजमा नेपालसँग व्यहोरेको हारको सटिक समीक्षा सुनाए ।
त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य ठूलो त होइन, तर ओपनिङमा लामो समयदेखि समस्या झेल्दै आएको नेपालका लागि साह्रै सहज पनि थिएन । त्यसमाथि पारस खड्का चोटका कारण बाहिरिएपछि ब्याटिङ चिन्ताको विषय थियो ।
तर टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै ओपनिङ जोडी बनेका कुशल र आसिफ शेखले नेपाली समर्थनको चिन्ता मात्र दूर गरेनन्, डच टोलीलाई खेलमा फर्किने अवसर नै दिएनन् ।
कुशल र आसिफको ओपनिङ जोडी डच टोलीका लागि एक प्रकारको ‘सरप्राइज’ थियो ।
ओपनिङमा समस्या झेल्दै आएको नेपालले गरेका थुप्रै प्रयोग सफल भएको थिएन । यो पटक कप्तान ज्ञानेन्द्र मल्ल पक्का जस्तै थिए, तर उनलाई कसले साथ दिने भन्ने यकिन थिएन । घरेलु प्रतियोगिताहरुमा राम्रो गर्दै आएका कुशल वा आसिफ सम्भावित विकल्पमा थिए ।
तर खेलको अघिल्लो दिन पारस खड्का नखेल्ने पक्का भयो । आइतबार अभ्यास खेलमा क्याच दिने क्रममा उनको कुममा चोट लागेको थियो । चिकित्सकले २÷३ साता आराम गर्न भनेपछि उनले सिरिज गुमाए । पारसको अनुपस्थितिका कारण ब्याटिङमा समस्या नआओस् भनेर कप्तान ज्ञानेन्द्र वान डाउनमा आए, कुशल र आसिफ ओपनिङमा छानिए ।
‘पारस इन्जर्ड भएपछि हामीले रोल सिफ्ट ग¥यौं र दुईजनालाई ओपनिङमा मौका दियौं,’ ज्ञानेन्द्र भन्छन्, मलाई लाग्छ, उनीहरुले राम्रो गरे ।’ यद्यपि पारस टिममा हुँदा पनि उनीहरु प्लेइङ ११ मा पर्नसक्ने कप्तान मल्लले बताए ।
पहिलो विकेटका लागि १ सय १६ रनको कीर्तिमानी साझेदारी गरेका उनीहरुले व्यक्तिगत रुपमा अर्धशतक पनि बनाए र नेपालले १ सय ३७ रनको लक्ष्य मात्र १५ ओभरमा एक विकेट गुमाएर भेट्टायो । कुशल र आसिफको प्रदर्शन साँच्चै हेर्नलायक थियो ।
नेपालले १५ ओभर ब्याटिङ गर्दा कप्तान ज्ञानेन्द्र मल्लले ७ बल खेले । बाँकी ८३ बल कुशल र आसिफले नै खेले ।
नेपाली कप्तान ज्ञानेन्द्र मल्लले पनि दुई ब्याट्सम्यानको तारिफ गरे । ‘कुशल र आसिफले शनिवार योङ प्लेयरले म्याचमा आएर एक्सपोज मात्र होइन, प्रदर्शन गर्न सक्छन्, म्याच जिताउन सक्छन् भने देखाएका छन्,’ उनले खेलपछि सञ्चारकर्मीहरुसँग भने, ‘इनिङ्पछि नेपाली टिमले पनि डोमिनेट गर्न सक्छ जस्तो लाग्छ ।’
कप्तान ज्ञानेन्द्र शनिवारको खेललाई नेपालले खेलेको उत्कृष्टमध्ये एक खेल मान्छन् । ‘ओभरअल गेम भन्नुपर्दा हामीले वान अफ दी बेस्ट क्रिकेट खेलेको जस्तो लाग्छ,’ उनले भने, ‘शुरुमा फिल्डमा के नमिलेजस्तो भएपनि बलरले कमब्याक गरे र १ सय ४० भित्र रोक्यौं । १ सय ३७ चेज गर्न दुई जनाले हात (अर्धशतक बनाएर ब्याट उठाउनु) उठाए ।’
डच कप्तान सिलरले पनि नेपालले धेरै राम्रो खेलेको बताए । कुशल भुर्तेलको खेलको प्रशंसा गरेका उनले भने, ‘हामीले भन्दा नेपालको सय प्रतिशत राम्रो रह्यो । हाम्रो लागि यो राम्रो पाठ रह्यो ।’
नेदरल्याण्ड्स ९ विकेटले पराजित
शनिबार घरेलु मैदानमा कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट अर्धशतकीय पारी खेलेसँगै नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।
नेदरल्याण्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमै एक विकेट गुमाएर पार गयो । कुशलले डेब्यु खेलमै अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ६२ रनको महत्वपूर्ण योगदान गरे । उनले ५ छक्का र ५ चौका हिर्काए ।
अर्धशतकीय पारी खेलेका अर्का खेलाडी आसिफले ३८ बलमा अविजित ५४ रन बनाए । उनले ४ छक्का र ४ चौका हिर्काए। कप्तान ज्ञानेन्द्र मल्ल ७ बल खेल्दै १३ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको पाहुना टोली नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो ।
उसका लागि बस डि लिड्सले सर्वाधिक ४१ र स्कट इडवार्डस्ले ३० रनको योगदान गरेका थिए । नेदरल्याण्ड्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले २, सोमपाल कामी र साहब आलमले एक÷एक विकेट खसालेका थिए ।






