कोरोना संक्रमित र मृतकका तस्बिर प्रकाशनमा सावधानी अपनाउन प्रेस काउन्सिलको आग्रह

काठमाडौं ः प्रेस काउन्सिल नेपालले कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको नाम र तस्बिर प्रकाशनका बारेमा सावधानी अपनाउन आग्रह गरेको छ ।
मृतकको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवं मृतकको सामूहिक दाहसंस्कारका तस्बिरहरु विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पोष्ट भएका घटनाप्रति ध्यानाकर्षण भएको प्रेस काउन्सिलले जानकारी दिएको छ । काउन्सिलले विज्ञप्ति जारी गर्दै ती घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
यसरी विवरण र तस्बिर सम्प्रेषण गर्दा गोपनीयतासम्बन्धी मौलिक हकको प्रतिकूल हुने, मानवीय संवेदना खल्वलिने, प्रभावित व्यक्तिलाई थप पीडा हुने भएकोले संवेदनशील यस घडीमा आम पत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तालाई सावधानी अपनाउन काउन्सिलले अपिल गरेको छ । काउन्सिलले यस्ता विषयमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) र कोरोना भाइरस संक्रमण सम्बन्धमा २०७६ चैत १० गते जारी निर्देशिका बमोजिम केही मिडियाको ध्यानकर्षण गराएर कतिपय पत्रकारहरूबाट प्रयोग भएको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गरी अभिलेख राखिएको बताएको छ । विभिन्न जिल्लामा निषेधाज्ञा समेत जारी भएकोले संवेदनशील अवस्थामा आमसञ्चारमाध्यामहरुबाट सम्प्रेषण हुने सामाग्रीमा सजगता अपनाउन काउन्सिलले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार