
जेठ १०, दैलेख
जिल्लाभरीका कोरोना संक्रमणका बिरामीहरुलाई उपचार गर्नुपर्ने स्वास्थ्य सेवा कार्यालय दैलेखमा अक्सिजनको अभाव देखिन थालेपछि दैलेखबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुको संयुक्त पहलमा जिल्लाका लागि १० वटा अक्सिजन सिलिण्डर आएको छ । प्रतिनीधि सभा सदस्य रबिन्द्रराज शर्मा, राजबहादुर बुढा र पार्वतीकुमारी विशुन्केले प्रयास थालेसँगै दैलेखका लागि अक्सिजन सिलिण्डर प्राप्त भएको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले स्वास्थ्य मन्त्रालयलाई लेखि पठाएको पत्रका आधारमा प्रतिनिधि सभाका सदस्यहरुको पहलमा अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामग्रीहरु दैलेखमा आएको छ । सांसद विशुन्केले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य सामग्री आफ्नो मातहतमा बुझेर जिल्ला पठाएकी छन् । दैलेख अस्पतालका लागि दश वटा अक्सिजन सिलिण्डर, दुई वटा अक्सिजन कन्सनट्रेटर, दश वटा इन्फारेड थर्मोमिटर, पीसीआर किट र स्वास्थ्य सामग्रीहरु दैलेख पुगेको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सवारी साधानको व्यवस्थापन गरिदिएसँगै सामग्री जिल्ला ल्याउन सहज भएको हो ।
जिल्ला प्रहरी कार्यालयले पनि अक्सिजन सिलिण्डरको खोजी कार्य तीब्र पारेको छ । नौमूले हाइड्रोपावरबाट संकलन गरेको दुई वटा अक्सिजन सिलिण्डर अस्पताललाई बुझाएको छ । दैलेख अस्पतालमा ५१ वटा ठूला सिलिण्डर रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखेका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले बताए ।
जिल्लाभर एक सय बढी अक्सिजन सिलिण्डर रहेका छन् । निकै आवश्यक भएको खण्डमा पालिकाबाट केही दिनका लागि सापटी मागेर समेत आपतको अवस्थामा काम चलाउने गरी सहमती भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
दैलेखको भगवतीमाई गाउँपालिकाले पालिका भित्रका कोरोना संक्रमितहरुको सहज उपचारका लागि ३० थान अक्सिजन सिलिण्डर गाउँमै उपलब्ध गराएको छ ।
गाउँपालिकाले आफैले काठमाडौं गाडी पठाएर सिलिण्डर व्यवस्थापनको काम गरेको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिएका छन् । गाउँपालिकाले २० वटा अक्सिजन सिलिण्डर आफै खरिद गरेको छ । स्वास्थ्य बिभागबाट ५ वटा सिलिण्डर र १ थान कन्सन्ट्रेटर प्रदान गरेको र औधोगिक क्षेत्र विकासका अध्यक्ष नन्दकिसोर बस्नेतले ५ वटा प्रदान गरेका छन् ।
पालिकामा आएका सबै उपकरणहरु कोभिड अस्पतालमा जडान गरेको थापाले जानकारी दिएका छन् । अहिले पालिकामा २५ जना कोरोना संक्रमितहरु रहेको र सबैलाई सामान्य अवस्था भएकोले अक्सिजन दिनु नपरेको भएपनि आपतकालिन अवस्था र जनताको सुरक्षाका लागि अक्सिजन सिलिण्डर जडान गरेको स्वास्थ्य शाखा प्रमुख टिकाराम बिष्टले जानकारी दिएका छन् ।






