एक वर्षमै फेरियो पगनाथ गाउँ आँगनमै स्वच्छ खानेपानी गाउँभरी सरसफाइ


असोज ९, दैलेख
दैलेखको दुर्गम भगवतीमाई गाउँपालिका वडा नं. १ पगनाथकी ७७ बर्षे इन्द्रा थापा आँगनमै पानी आएपछि निकै खुसी छिन । “हाम्रो पालामा ः झुसमुसे साँझमा धारा पुग्नु पर्दथ्यो, घाम झुल्किसकेपछि बल्ल घर आउँथ्यौँ, डोका भित्र गाग्री, काखमा छोरो बोक्नु पर्दथ्यो, चार देखि पाँच घण्टासम्म समय लाग्थ्यो । अहिले घर अगाडी चार पाईलामै पानी भर्न पाइयो, सरकार र सबैलाई धन्यवाद । ”
उनीसँगै वडा नं. १ का ६९ घर परिवार सबैको घर अगाडी स्वच्छ पिउने पानीको धारा निर्माण गरिएको छ । सबै परिवारले अहिले पुराना दुःख बिर्सेका छन् । बस्तीका कुमार नेपालीले भने, हाम्रो गाउँमा यस्तो विकास आउला सोचेका थिएनौँ, अति राम्रो लाग्यो ।
चौबीसै घण्टा पानी आएपछि शौचालय सफा छन्, सबै घर अगाडी भाँडा माझ्ने चाङ निर्माण गरिएको छ, फोहर व्यवस्थापन गर्ने खाडल खनिएको छ । बचेको पानीको सदुपयोग गर्न करेसा वारीको निर्माण गरिएको छ । तरकारी उत्पादन गर्न चाहेका किसानहरुलाई प्लास्टिक टनेल घर प्रदान गरिएको छ । प्लास्टिक घरमा लटरम्म टमाटर झुलेका छन् । गाउँका सार्वजनिक स्थानहरु विद्यालय, स्वास्थ्य संस्था, पार्टी पौवामा समेत फोहर व्यवस्थापनको राम्रो प्रबन्ध भएपछि भगवतीमाई गाउँपालिका वडा नं. १ पगनाथलाई जिल्लाकै पहिलो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ ।
विद्यालय पढ्ने विद्यार्थीहरुको पहिलो कक्षा सरसफाइको बारेमा हुन्छ । कोरोना लगायतका विभिन्न रोगहरुबाट कसरी जोगिन सकिन्छ भन्ने विषयको गाउँभरका सबैलाई जानकारी छ, जलस्रोत प्राविधिक संगम अधिकारीले जानकारी दिएका छन् ।
गत वर्ष पगनाथ गाउँमा जाँदा, जताततै फोहर थियो, बर्षातका बेलामा त झनै समस्या थियो, एक वर्ष भयो पगनाथले सरसफाइका क्षेत्रमा फड्को मारेको छ । ६९ घरले फोहर फाल्ने खाडल खनेका छन् । शौचालय सफा छन्, बालबालिका फोहोरी छैनन् वडा अध्यक्ष मानबहादुर बुढाले भने । यो गाउँ एक वर्षमै फेरियो । बर्षातको समयमा पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्दा पनि गाउँ सफा छ ।
गाउँपालिकाले लिएको एक घर एक धाराको नीति कार्यान्वयन भएसँगै, पूर्ण सरसफाइ अभियानलाई प्रभावकारी बनाउन ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र गाउँपालिकाको साझेदारीमा अभियान थालिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए । परियोजना र पालिकाको साझेदारीमा पालिकाभरी १ हजार ८ सय धारा निर्माण भइसकेका छन् । सबै धारा भएका घरमा सरसफाइ अभियान अनिवार्य गरिएको छ, करेसाबारी अनिवार्य निर्माण भएका छन् ।
उपाध्यक्ष चन्द्रा रेग्मीले भनिन्, “गाउँमा खानेपानीको समस्याबाट धेरैजसो महिला दिदिबहिनीहरु समस्यामा पर्नुभएको थियो, अहिले सहज भएको छ । महिला दिदिबहिनीहरुलेनै सरसफाइका काम र निर्माणमा सक्रियता देखाएपछि अभियान सफल भएको छ । ”
गाउँमा भएका विकास गतिविधिहरुलाई उचित संरक्षण गर्दै स्वास्थ्य र सरसफाइलाई पहिलो प्राथमिकता राखेर काम गर्न सके समाज परिवर्तनमा सहयोग हुने र यस्तो अभियान सबै स्थानीय सरकारले अवलम्बन गरेर कार्यान्वयन गर्नुपर्ने ग्रामीण जलस्रोत परियोजना डडेलधुराका डेपुटी टिम लिडर नारायण वाग्लेले बताए ।
सरकारले लिएको दिगो विकास लक्ष्यलाई पुरा गर्न भगवतीमाई गाउँपालिकाले सबै वडालाई पूर्ण सरसफाइ युक्त बनाउने अभियान थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार