
दैलेख ः कर्णाली सुरक्षा अभियान कार्यक्रमअन्तर्गत प्रहरीका हरेक युनिटमा अब दैलेखका सबै प्रहरी युनिटमा नागरिक सहजकर्तामार्फत सेवा प्रवाह गर्न थालिएको छ । प्रहरी कार्यालयको मूलढोकामा एकजना युनिफर्ममा रहेको सिपाही नागरिक सहजकर्ताका रूपमा खटाउने व्यवस्थापन गरिएको छ ।
प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीले के(कति कामले आएका हुन् । सोधपुछ गर्ने र सेवाग्राहीले भनेअनुसारको कामको प्रकृतिअनुसार सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको हो ।
दुर्गम ठाउँका अशिक्षित व्यक्ति सेवाका लागि प्रहरी युनिटमा आएका हुन्छन् । उनीहरू कस्तो सेवाका लागि कुन ठाउँ जाने के गर्ने भनेर निकै अलमलमा परेका हुन्छन् । यस्ता अलमलमा पर्ने सेवाग्राहीलाई सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको दैलेखका प्रहरी प्रमुख किशोर लक्साले बताए ।
‘प्रहरी कार्यालयमा एउटै युनिफर्म लगाएका धेरै प्रहरी हुन्छन् । सेवाग्राहीलाई कसलाई सोध्ने के गर्ने भनेर अलमल परेका हुन्छन्,’ प्रमुख लम्सालले भने, ‘सेवा लिन पुग्ने नागरिकलाई सहजीकरण गराउने उद्देश्यले नागरिक सहजकर्ता राख्न सुरु गरिएको हो ।’ प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको उनले बताए ।
उनले भने, ‘नागरिक सहजकर्ता हरेक प्रहरी कार्यालयको गेटमा नागरिकलाई सेवा दिने गरी बस्नेछन् । न्यायका लागि आउने जोकोही नागरिकलाई दिने हाम्रो सेवा सहज र सरल हुनुपर्छ, सहजकर्ताका रूपमा खटिने प्रहरीलाई निर्देशित पनि गरेका छौँ ।’ दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सहयोगी भावनासहितको सेवा प्रवाह गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयसहित दैलेखमा २४ वटा प्रहरी युनिट रहेका छन् । २४ वटै प्रहरी युनिटमा एकजना सहजकर्ता खटाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताएका छन् । सहजकर्तालाई काम कतव्य सम्बन्धी प्रशिक्षण तगतै सबै ठाउँमा सेवा सञ्चालन हुने लम्सालले बताए ।









