दैलेखः दैलेखको महावु गाउँपालिका वडा नं. १ दवडाका ११ बर्से विशाल ढकालले आफूलाई उपचार गरिदिन भन्दै सहयोगको अपिल गरेका छन् ।
११ बर्से बालक दुई वर्ष अघि सम्म सामान्य हिँडडुल गर्न सक्थे तर एक्कासि उनको दुवै खुट्टा लुलो भयो, अहिले उनी उभिन सक्ने अवस्थामा छैनन्, हिँड्नुपर्ने भयो भने पनि घस्रिएर हिँड्नुपर्ने अवस्था छ । विशालका बुवा एकबर्षदेखि विदेश गएका थिए अहिले उनी सम्पर्कमा छैनन्, आमाले पनि केही महिना अघि विशाललाई हजुर आमाको घर नजिक छोडेर आफ्नो नाति पाल्नु भनेर छोडेर गएपछि बुढेसकालमा अपाङ्ग नाति पालेर बस्नुपर्ने बाध्यता भएको हजुरआमा पदमकला ढकालले जानकारी दिएकी छन् ।
आर्थिक छैन उपचार गरेर निको भएको भए पनि पछि केही काम गर्न सक्ने हुने थियो आफूले बिहान बेलुकाको छाक टार्न समस्या भएका बेलामा विरामी नाति पाल्न समेत समस्या भएकोले नातिको उपचारका लागि सहयोगी निकायहरूले सहयोग गरिदिन आग्रह गरेकी छन् ।
धमाका दैनिकले सञ्चालन गरेको सहायता अभियानमा उपचारका लागि पहल गरिदिन विशालका पुसाइँ युवराज रेग्मीले आग्रह गरेका थिए । आफूले नेपालगन्ज सम्म उपचारका लागि लगेको र डाक्टरले टाउकोमा पानी जमेका कारण समस्या भएको जानकारी दिएका छन्, उपचार गरेको खण्डमा निको हुने भनेपछि सहयोगी अभियान मार्फत जानकारी गराइदिन रेग्मीले आग्रह गरेका थिए ।
बालकको उपचारको सहयोगका लागि व्यवसायी नरेन्द्र थापा, गोविन्द रेग्मी, विष्णु शर्मा, नन्दकला रेग्मी, मिसन सुनचाँदी पसल, एकराज वि.सी., आनन्द रावतले ३ हजार ५ सय ५ रुपैयाँ सहयोग उठाएर बालकको उपचारको लागि धमाका दैनिकको सहायता अभियान मार्फत विशाल ढकालकी हजुरआमा पदमकला ढकाललाई उपचारका लागि सहयोग रकम प्रदान गरेका छन् । अन्य सहयोग गर्न चाहने निकायहरूले पीडित बालकका हजुरआमा पदमकला ढकालको नाममा बैक खाता खोलिएको छ ।






