दैलेख : दैलेखमा अथाह सम्भावना हुँदा हुँदै पनि राज्य सत्ताको आँखा नपुगेका कारण पछाडि पर्दै आएको विषय लुकाउनुपर्ने विषय छैन । ऐतिहासिक, धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको दैलेख अहिले समृद्धिको पाइला उचालेको अवस्थामा छ ।
अहिले समृद्धिका दुई पाइला अघि बढेका छन् । धेरै सम्भावना मध्ये देशको मात्र हैन विश्वकै ध्यान केन्द्रित गरेको पेट्रोलियम अन्वेषण परियोजना नजिताको नजिक नजिक पुगेको छ । ०७२ मा जब नेपालमा अघोषित नाकाबन्दी भयो त्यसपछि पेट्रोलियम खानी उत्खननको काम तीव्र पारिएको थियो अहिले उत्त काम नतिजाउन्मुख देखिएको छ । अहिले जलजलेमा जमिनमुनि पेट्रोलियम रहेको पुष्टि भएसँगै कति परिमाणमा छ भन्ने विषयको खोजवीन सुरु भएको छ ।
चीन सरकार र नेपाल सरकार सँगको जीटूजी सम्झौता भएसँगै अढाई अर्बभन्दा बढी लगानीमा चीन सरकारले यो परियोजना सुरु गरेको छ । नेपालको एक करोड बढी रकम मात्र खर्च भएको देखिन्छ ।
०७२ मा नेपाल र चीनबिच अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जिटुजी) भएपछि सन् २०१९ मा खानी विभाग र चाइना जियोलोजिकल सर्भेबिच अन्वेषणका लागि सम्झौता भएको यो परियोजना कोभिड– १९ का कारण केही समय ढिला भएको थियो । अबको केही महिनाभित्र नजिता आउने देखिएको छ ।
अर्को महत्वपूर्ण गेम चेन्जर परियोजनाको रूपमा मध्य पहाडी राजमार्ग निर्माणको अन्तिम चरणमा छ । १ सय २५ किलोमिटर क्षेत्र रहेको मध्य पहाडी राजमार्ग सञ्चालनमा आएसँगै धेरै ठुला विकासका सम्भावनाहरूको ढोका खुलेको छ ।
निर्माणको जिम्मा लिएका निर्माण कम्पनीहरूले काममा गरेको ढिलाइ, गुणस्तरीयताको विषय लगायतका विषयमा धमाका दैनिकले निरन्तर खबरदारी मात्र गरेको छैन, कमजोर संरचना भत्काउने सम्मका अभियान थालेको विषयले पनि काममा केही हदसम्म तीव्रता र गुणस्तरीयता भएको पाइएको छ ।
यी दुई ठुला परियोजना अहिले अन्तिम अवस्थामा छन् । यसले दुई पाइला अगाडी सारेको भान आम नागरिकलाई भएको छ । दैलेखको सम्मृद्धिका आधार यी मात्र होइनन् तर परिणाममुखी परियोजनाका रूपमा देखिएका आयोजना हुन् ।
धेरै आयोजना अस्तव्यस्त
कर्णाली प्रदेश राजधानीको महत्वपूर्ण द्वारका रूपमा दैलेख परिचित छ । साबिक कर्णालीका पाँच जिल्ला प्रवेशको मुख्य द्धार बनेको दैलेख सङ्घीयताको ७ वर्ष पुग्नै लाग्दा दैलेख सँगै समग्र कर्णालीका ६ वटा जिल्लाको परिवर्तनको बाहक बनेको कर्णाली राजमार्ग अहिले पनि मृत्यु मार्गको रूपमा परिचित छ ।
कर्णालीका उत्पादनहरू नुनसँग साटेर कर्णालीबाट हजारौँ टन, धान, गहुँ, कोदो, मकै, फापर, निर्यात हुने उति वेलाको समय अहिले कहानीमा परिणत हुन थालेको छ । कर्णाली राजमार्ग जबसम्म दुई लेनको हुन सक्दैन तबसम्म विकासको वाधकका रूपमा रहिरहने छ ।
माथिल्लो कर्णाली आयोजना के भो ?
१६ वर्ष देखि रोकिएको माथिल्लो कर्णाली आयोजना निर्माण सम्पन्न भएको भए, अबको दश वर्ष पछि अर्थात् २०९१ मा नेपालकै हुने थियो । तर १६ वर्षदेखि विभिन्न बहानामा विकास विरोधीहरूले यो आयोजना बन्न दिएका छैनन् । केन्द्र सरकारले किन चाहना राख्न सकेन, निर्वाचित जनप्रतिनिधिहरू कानमा तेल हालेर किन बसेको ? आम नागरिकको प्रश्न छ ।
आयोजना राम्रो या नराम्रो, जन पक्षीय वा राष्ट्रघाती त्यसको निर्णय गर्ने अधिकार केन्द्र सरकारलाई छ । छिटो निर्णय गरेर निर्माण गर्ने वा नगर्ने टुङ्गो लगाउनुपर्ने अहिलेको आवश्यकता हो । घाटगद्धी गरिएका सालका मुढा कुहिने अवस्थामा छन् । कसको लापरबाहीले दैलेखको भविष्य बदल्ने आयोजना बन्न सकेको छैन ?
कता हराए, नयाँ सहर स्मार्ट सिटी
दैलेखको राकम कर्णाली बजार रारा पुग्ने लाखौँ पर्यटकको विश्राम स्थल हो । यही स्थानमा सुरु गरिएको नयाँ सहर आयोजनाको काम सुरु भएको वर्षौँ पुग्न थाल्यो, अव पुरानो सहर भन्नुपर्ने अवस्था छ । तीन तहका सरकारले किन यो विषयमा चासो र चिन्ता गर्दैनन् जनताहरू प्रश्न गर्दा गर्दा थाकिसकेका छन् ।
दैलेखको क्षेत्र नं. २ दुल्लुमा स्मार्ट सिटीको अवधारणा ल्याइयो तर अहिले उक्त कार्यको प्रगति उल्लेख्य मात्रामा हुन सकेको छैन । यसबारेमा स्थानीय सरकार र जिल्ला सरकारहरूले किन बोल्न सकेको अवस्था छैन ।
मानव निर्मित ताल बेताल
मिनी फेवातालको अवधारणाले दुल्लु नगरपालिका र नारायण नगरपालिकाले थालेको प्रभावकारी योजना अहिले शून्यमा झरेको छ । क्षेत्र नं. १ र २ को सङ्गम स्थल मानिएको कोटिला क्षेत्रमा बहु उपयोगी बनाउन सकिने यो ताल अहिले बेतालमा परिणत भएको छ ।
राजनीतिक खिचातानीले अहिले दुल्लुको वार्तडीमा अर्को नयाँ तालको सुरुवात गरिएको छ । कुनै पनि अध्ययन अनुसन्धान विना करोडौँ रकम विनियोजन गरिएको छ यसको पनि बेहाल हुने अवस्था छ । एउटा दिगो काम गर्न निर्वाचित जनप्रतिनिधिहरूले किन सक्दैनन् भन्ने विषयले जनताले उठाई रहेको अवस्था छ ।
अस्तव्यस्त तीनवटा रणनीतिक सडक
मृत्यु मार्गको उपमा पाएको सुर्खेत दैलेख जुम्ला सडक खाल्डा समेत पुर्ने काम भएको छैन । १७वर्षसम्म जाक्सिको पुल बन्न सकेको छैन । विकल्पका रूपमा खनिएका अन्य दुई वटा तल्लो डुङ्गेश्वर, दुल्लु, भैरवी कालिकोट जुम्ला सडक र सुर्खेत दैलेख सदरमुकाम महावु कालिकोट जुम्ला हुम्ला हुँदै नाग्चेनाग्ला सडकको कामको जिम्मेवारी लिएका निर्माण कम्पनीहरूले लापरबाही गरेका कारण कामले प्रभावकारिता पाउन सकेको छैन ।
रणनीति बिनाको पञ्चकोशी
प्रदेश सरकारको ६ वर्षको प्रगति सामान्य रूपमा केलाउने हो भने ६ सय बढी कुल देवताका मन्दिरमा अरबौँ रकम खर्च गरिएको छ तर पञ्चकोशी जस्ता महत्वपूर्ण क्षेत्रहरूमा दीर्घकालीन रूपमा विकासको खाका कोरिएको छैन । कुल पूजाका लागि मन्दिरमा रकम विनियोजन गरेमा सामान्य रंगरोकन गरेर लाखौँ रकम कुम्ल्याउन सजिलो हुन भएपछि ठुला पर्यटनका क्षेत्रमा काम गर्न नसकेको गुनासो नागरिक समाजको छ ।
पञ्चकोशी क्षेत्रको विकासका लागि ठोस रणनीति निर्माण गर्नुपर्ने हो । अहिले सम्म ठोस रणनीति बन्न सकेको छैन । अधिकांश रारा पुग्ने र फर्कने आन्तरिक र बाह्य पर्यटकहरूको रोजाईमा परेको दैलेखको पञ्चकोशी क्षेत्रका हजारौँ मूर्तिहरू दिनप्रतिदिन मासिँदै गएका छन् । यसको वास्तविक परिचय झल्काउने सामग्रीहरू छैनन् । पशुपतिदेखि पञ्चकोशी यात्रा, भारतीय पर्यटकहरूलाई दैलेख भित्राउने अभियान पञ्चकोशी क्षेत्रको विकास नभएसम्म सफल हुन सक्ने देखिदैन् ।
रित्तिएका बस्तीमा उत्पादन अभियान खै ?
पहाडी बस्तीहरू रित्तिँदै जाने विषय पछिल्लो पुस्ताका लागि निकै गम्भीर विषय हो । विषादी रहित आफ्नै उत्पादनको उपभोग गरेका ६० काटेका बृद्धहरुको अनुभव सुन्ने हो भने पछिल्लो पुस्ताले रातारात लखपति हुन्छु भन्दै खाद्य बस्तुमा गरिएको विषादी प्रयोग निकै गम्भीर विषय बनेको छ । अहिले क्यान्सर जस्ता खतरनाक रोगको सिकार बन्नु परेको विषय अव स्थानीय सरकारले अभियानका रूपमा लिनुपर्ने देखिन्छ ।
अधिकांश खेतहरू बर्षौंदेखि बाँझै छन्, भिर पाखामा अव उत्पादन अभियान नचलाउने हो भने पहाड खाली हुनेछन् । विपन्न समुदायहरू गासको जोहो गर्न विदेश जानुपर्ने विदेशमै ज्यान गुमाउनुपर्ने रहर हो कि बाध्यता हो सरकारले विशेष ध्यान दिनुपर्ने बेला आएको छ ।
विकास खाने कि गर्ने?
विकास खाने हो गर्ने हैन, उपभोक्ता समितिमा बसेपछि अलिकति भए पनि आम्दानी गर्नुपर्छ, उपभोक्ता समिति रोजगारीको महत्त्वपूर्ण माध्यम बनाउन कसको हात बढी छ राजनीतिक दल, कर्मचारी वा अन्य निकाय यसको खोजी गर्नुपर्ने बेला आएको छ ।
बिभिन्न पुर्वाधार निर्माणका लागि खर्च गरिएका करोडौँका योजनाहरू प्रयोगविहीन छन् । पहिलो वर्ष खनिएका सडकहरू अर्को वर्ष गोरेटो बाटोको रूपमा परिणत भएका छन्, विकासमा दिगोपना छैन, कमिसनको जालो टोल बस्तीसम्म पुगेको छ । अव विकास खाने हैन, गर्ने हो, दिगो बनाउने हो भन्ने भाष्य बदल्नु छ ।
समस्या कहाँ हो त ?
चुनाव ताका गरिएका घोषणा पुरा गर्ने सोच नेतामा हुनुपर्दछ । जनता निकै सचेत भई सकेका छन् भन्ने कुरा नेताहरूले बुझेर हरेक गतिविधिमा पारदर्शीता अभियान जरुरी देखिन्छ ।
आर्थिक सङ्कटको मारमा गरिब, विपन्न समुदाय बढी जोखिममा छन्, बैकबाट ऋण ल्याएका व्यापारीहरूका जाया जेथा लिलामीको प्रक्रियामा पुगेको अवस्था छ । मिटर व्याजेहरु रातारात गरिब मारेर धनी बनिरहेको अवस्था छ । दलाल र भ्रष्टहरूको बिगबिगी बढेको छ ।
प्रभावकारी नीति बनाउलान्, ठुला विकास ल्याउलान्, रोजगारी देलान् भनेर पठाएका नेताहरू मध्ये एक, दुई जना औलामा गन्न सकिने बाहेक अधिकांश पार्टीका नेताहरूले दैलेखबाट राजनीति गरेर सुर्खेत, नेपालगन्ज, काठमाडौँमा महल खडा गरेर नफर्कने योजना बनाएका छन् ।
तीनै नेताले पठाएको विकास गतिविधिहरूमा आफन्तवाद, फरियावाद घुसेको छ । घुमाउरो पारामा कमिशनको खेल अत्यधिक बढेको छ । संस्थागत भ्रष्टाचार बढ्दै गएको छ । कसले र कहिले यो समस्या समाधान गर्छ जनताले यो विषय बुझ्नुपर्ने आवश्यकता छ ।









