दैलेख : दैलेखका विभिन्न १५ भन्दा बढी जङ्गलमा आगलागी भएको छ । जङ्गलमा आगलागी भएकोले बस्तीमा आगो आउन नदिन पूर्व सर्तकताका अभियान सञ्चालन गरिएको छ । गर्मीयाम बढेसँगै दैलेखका जङ्गलमा लगातार एक सातादेखि आगलागी बढी रहेको छ । जङ्गलमा आगलागी भएका कारण नियन्त्रणमा लिन सकिएको छैन ।
डुगेश्वरा गाउँपालिका, भगवतीमाई गाउँपालिका, महावु गाउँपालिका, चामुन्डाबिन्द्रासैनी नगरपालिका लगायतका जङ्गलहरूमा आगलागी भइरहेको छ । जंगलहरुमा लागेको आगो नियन्त्रण गर्न समस्या देखिएको छ । स्थानीय तहलाई सचेत रहन र सचेतना अभियान सञ्चालन गर्न विपद् समितिको बैठकबाटै आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् ।
आगलागी नियन्त्रणका लागि जनचेतना अभियान प्रभावकारी बनाउन मातहतका प्रहरी युनिटमार्फत पनि जनचेतना अभियान थालनी गरिएको, नेपाली सेना र शसस्त्र प्रहरीलाई तैनाथ राखिएको कतिपय बस्तिमा जोखिम हुने स्थानमा गएर नियन्त्रणका कामहरु समेत गरिएको भुसालले जानकारी दिएका छन् । आगलागीबाट जङ्गलमा क्षेती गरेको भएपनि भौतिक र मानवीय क्षेती भएको छैन ।






