दैलेख : यहाँको महाबु गाउँपालिकामा भूकम्प, चट्याङ, आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको छ । प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बुधवार महाबुमा सुरक्षाकर्मीद्धारा कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको हो ।
साहस नेपाल र महाबु गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको कृत्रिम घटना अभ्यास प्रदर्शनीमा सुरक्षाकर्मीको उद्धार टोलीले भूकम्प गएको समयमा जनधनको क्षति हुन नदिन कुन प्रकारले काम गर्छ भन्ने बारेमा कार्यक्रममा सहभागी भएकालाई जानकारी गराइएको थियो ।
प्रदर्शनीको क्रममा सुरक्षाकर्मीको उद्धार टोलीले भूकम्प चट्याङ, आगलागीबाट घाइते भएका व्यक्तिलाई उद्धार गरी एम्बुलेन्स मार्फत अस्पतालसम्म कसरी लग्ने विषयमा अभ्यास गरी जानकारी गराएका थिए । साहस नेपालका संयोजक रोशनी घिमिरेले देशका २१ वटा जिल्लाहरूमा साहस नेपालले काम गरेको र दैलेखमा विगत १० वर्षदेखि जलवायु परिवर्तन र विपद् न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको जानकारी दिइन ।
उनका अनुसार महाबु गाउँपालिका–६, ३ र ४ मा खोज तथा उद्धार सम्बन्धी तीन दिने तालिम समेत दिइएको जनाइएको छ । महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले भूकम्प, चट्याङ, आगलागीका कृत्रिम घटना अभ्यास कार्यक्रम पालिकाबाट सुरुवात गरेको बताउँदै नागरिक स्तरमा समेत यस्ता कृत्रिम घटना अभ्यास गरिने बताइन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले प्रकोप जुनसुकै बेला जान सक्ने भएकाले हामी सबै त्यसको प्रतिकार र आफ्नो सुरक्षाका लागि तयार भएर बस्नुपर्ने बताए । उनले विपद्का घटना सम्बन्धी काम गर्ने साहस नेपाललाई अन्य पालिकाहरूमा गर्न सुझाव दिए ।
कृत्रिम घटना अभ्यास प्रदर्शनी कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, विद्यार्थी, शिक्षक गाउँपालिका कर्मचारीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल रेड क्रस सोसाइटी सुर्खेतले गरेको थियो ।






