काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नहुने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीति नियम सच्चाउन निर्देशन दिएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानून, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै गृहमन्त्री लामिछानले कानूनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत गरेको छ । जनताको जीवनस्तर जोगाउनका लागि सबै निकायले प्रभावकारी काम गर्नुपर्ने उनको सुझाव छ ।






