दैलेख : दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जोड दिएका छन् । नगरपालिद्वारा आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको समीक्षामा बोल्दै उनले सीमित साधन श्रोतलाई सही ढङ्गले परिचालन गर्दै स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउनु पर्नेमा जोड दिएका हुन् ।
उनले स्वास्थ्य क्षेत्रमा रहेका सीमित श्रोत साधनको सही प्रयोग गर्नुपर्ने बताए । नारायण नगरपालिका यहाँका अन्य स्थानीय तह भन्दा हरेक क्षेत्रमा पहिलो हुनुपर्नेमा नगर प्रमुख शर्माको जोड रहेको थियो । सीमित श्रोत साधनका बाबजुद स्वास्थ्यकर्मीहरुले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउँदै नगर प्रमुखशर्माले सबै नागरिक स्वास्थ्य सेवाको पहुँचमा समेटिनुपर्ने बताए ।
समीक्षाकार्यक्रममानगरपालिकाअन्तर्गतका १५ वटा स्वास्थ्य संस्था र साझेदारीमा कामकाज गर्ने संस्थाले गरेका कामहरूको प्रस्तुतीकरण गर्दै लक्ष्य अनुसारको प्रगति हासिल गर्न आइपरेका चुनौती र समस्याका बारेमा छलफल गरी आगामी वर्षमा सुधार गर्नुपर्ने विषयमा कार्य योजना बनाइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए ।
स्वास्थ्य संस्थाहरूको वार्षिक कार्यपत्र तथा समीक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगरपालिका भित्रका स्वास्थ्य केन्द्रहरूको अवस्था, बजेट र खर्चको अवस्था, तथा वित्तीय प्रगति विवरण, सम्पन्न हुन नसकेको कार्यक्रमहरू, स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको व्यवस्थापनका साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था, सुत्केरी, गर्भपतन, परिवार नियोजन लगायतका विषयमा स्वास्थ्य संस्था प्रमुखद्वारा कार्यपत्र विवरण प्रस्तुत गरिएको थियो ।






