वीरेन्द्रनगरमा ‘हेलो गर्भवती कार्यक्रम’ सुरु

सुर्खेत : कर्णालीको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल सोमबार सहरी स्वास्थ्य केन्द्र दौलतपुर पुगिन् । वीरेन्द्रनगर–२ मा रहेको उक्त केन्द्रमा पुगेर नगरप्रमुख ढकालले गर्भावस्थामा रहेकी स्थानीय नर्मा थापालाई फोन गरिन् । नगरप्रमुख ढकालले थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् ।

नियमित गर्भ जाँच गरे नगरेकोबारे जानकारी सोधिन् । प्रसूती सेवामा जाने ठाउँ थाहा भए नभएको बारेमा बुझिन् । पोषणको स्थितिबारे समेत जानकारी लिइन् । उनले थापालाई गर्भावस्थामा केही समस्या आए ढुक्कसँग स्वास्थ्य संस्थामा आएर नगरपालिकाले दिने सुविधा लिन आग्रह गरिन् । यसरी नै हरेक गर्भवतीसँग फोनबाटै भलाकुसारी गर्ने सेवा अब वीरेन्द्रनगरका १६ वटै वडाबाट कार्यान्वयनमा आउनेछ ।

नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरमै स्वास्थ्य सेवा प्रदान गर्न ‘हेलो गर्भवती आमा’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यो कार्यक्रम अन्र्तगत अब हरेक हप्ता गर्भवती तथा सुत्केरी आमाहरुलाई दक्ष स्वास्थ्यकर्मीहरुले फोन गर्नेछन् । स्वास्थ्यकर्मीले फोनबाटै आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिनेछन् । नियमित गर्भ जाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाब तथा आवश्यक जाँच, खोप, पोषण तथा सरसफाई, गर्भवती अवस्थामा देखापर्ने खतराका चिन्हहरु, प्रसूतीपूर्वको तयारीका साथै अन्य स्वास्थ्य सेवा गर्भवती तथा आमालाई टेलिफोनमार्फत घरमै सेवा दिने उद्देश्यले कार्यक्रम कार्यान्वयन गरिएको नगरप्रमुख ढकालले बताइन् ।

‘वीरेन्द्रनगरमा रहेका गर्भवती आमाहरुलाई सरकारले तोके अनुसार अनिवार्य चार पटक गर्भ जाँचमा एक हजार रुपैयाँ र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेका छाँै, नगरप्रमुख ढकालले भनिन्, ‘गर्भावस्थामा रहेका महिलाहरुले जाँच गर्न स्वास्थ्य संस्थामा आउने समय बिर्सिएर छुट्न थालेपछि नयाँ कार्यक्रम थालनी गरेका हौँ ।’ महिला स्वास्थ्य स्वंयम्सेविका मार्फत् १६ वटा वडामा रहेका गर्भवती आमाहरुको पूर्ण विवरण स्वास्थ्य केन्द्रहरुमा राखिएको छ । सोही विवरण हेरेर हप्ता तथा जाँच गर्ने समयमा स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीले गर्भवतीलाई टेलिफोनमार्फत् आवश्यक सरसल्लाह तथा परामर्श दिने व्यवस्था मिलाइएको छ ।

चार पटक गरिने गर्भ जाँचलाई बढाएर सरकारले आठ पटक गर्नुपर्ने अनिवार्य प्रोटोकल लागू गरेपछि यसबाट छुट्न सक्ने सम्भावित आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गरेर टेलिफोनबाटै परामर्श दिन थालिएको नगरप्रमुख ढकालको भनाई छ । ‘नयाँ प्रोटोकल लागू भएपछि यसको जानकारी नहुनु र जाँच गराउने समय बिर्सिने लगायतका कारणले गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा जाँच गराउन नआउने भएपछि स्वास्थ्य संस्थाबाटै सम्पर्क गरी सेवा दिने प्रणालीको विकास गरिएको हो,’ नगरप्रमुख ढकालले भनिन् ।

नगरपालिकाले यसअघि चार पटकसम्म जाँच गर्न आउने गर्भवतीलाई प्रोत्साहनस्वरुप एक हजार रुपैयाँ र निःशुल्क एम्बुलेन्स सेवा दिदैं आइएको थियो । नगरपालिकाका १६ वडामा २० वटा स्वास्थ्य केन्द्रहरु रहेका छन् । नगरपालिकाले यी स्वास्थ्य संस्थाबाट हालसम्म दुई सय ८४ जना गर्भवती आमालाई सुत्केरी हुन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । आठ पटक गरिने जाँचमा भने अधिकांश गर्भवती महिलाहरु छुट्न थालेपछि नयाँ रणनीति लिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमले आर्थिकरुपमा विपन्न महिलाहरुलाई आवश्यकताका आधारमा घरमै सेवा लिन समेत सहज हुनेछ । नगरपालिकाले हालसम्म पाँच हजार गर्भवती तथा सुत्केरी आमालाई प्रत्येक महिना टेलिफोनमार्फत गर्भावस्थाका जोखिमका कारण हुनसक्ने अकाल मृत्युलाई रोक्न परामर्श सेवा दिएको छ ।

सुत्केरी हुनका लागि बर्थिङ सेन्टरसम्म पुग्न नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिएको नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले बताए । ‘दुई सय १२ जना गर्भवतीको भिडियो एक्सरे, एक सय ७२ जनालाई नगरप्रमुख पोषण कोशेली प्रदान गरिएको छ,’ गिरीले भने । नगरपालिकाले दुई हजार सात सय ५३ जना महिलालाई स्तन र पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी जाँच सेवा प्रदान गरेको छ । यस्तै ३८ हजार प्रजनन् उमेर समूहका महिला तथा किशोरीलाई सेनेटरी प्याड प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार