दैलेख : दैलेखको नौमुले गाउँपालिका–२ बालुवाटार रापटका पूर्णबहादुर खड्का उमेरले ३३ वर्ष पुगे । उनी गाउँमा व्यवसायिक कृषकको रुपमा परिचित छन् । उनले चार वर्षअघि व्यवसायिक तरकारी खेती अपनाएका थिए । त्यसअघि खड्काको परिवारले गुजारामुखी अन्नबालीको खेती गर्दै आएको थियो । व्यवसायिक तरकारी खेती अपनाएपछि पनि उनले मिहेनत अनुसारको उत्पादन गर्न सकेका थिएनन् ।
खड्का भन्छन्, ‘२०७७ तिर व्यवसायिक तरकारी खेती सुरु गरेको हुँ, सुरु–सुरुमा हुनुपर्ने जति उत्पादन पनि हुँदैनथ्यो, उत्पादन भएको पनि कोशेली दिएरै सकिन्थ्यो ।’ जलवायुमैत्री खेती प्रविधि अपनाएपछि भने उत्पादन बढ्दा राम्रो आम्दानी हुन थालेको खड्का बताउँछन् । उनले तरकारीमा जैविक मल प्रयोग गरेका छन् । ‘जैविक मल प्रयोग गर्न थालेपछि तरकारीको उत्पादन बढ्न थालेको छ,’ उनले भने ।
खड्काले स्थानीयस्तरमा पाइने जडीबुटीबाटै घरमै बनाउन सकिने र वातावरणीय हिसाबले पनि उपयुक्त भएको जैविक विषादीको प्रयोग गरेको बताए । रापट आयआर्जन समूहको अध्यक्ष समेत रहेका खड्का भन्छन्, ‘म जस्तै यहाँका अधिकांश किसानहरुले जैविक विषादी प्रयोगलाई अनिवार्य जस्तै गरेका छौँ, रासायनिक मलको प्रयोग गर्दा माटोलाई, वातावरणलाई तथा मानव स्वास्थ्यलाई हानि गरेको थियो, जैविक विषादी प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणमा कुनै प्रकारको नकारात्मक असर नपर्ने रहेछ ।’ अहिले खड्काको परिवारले तरकारी खेतीबाटै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेको छ । मौसमअनुसार आलु, काउली, बन्दा, टमाटर, खुर्सानी, बोडी र काँक्रालगायतका तरकारी उत्पादन हुने गरेको खड्का बताउँछन् । उनले उत्पादित तरकारी नौमुले बजारमा बिक्री गर्छन् । खड्काले तरकारी बेचेरै ८ जनाको परिवारको खर्च चलाइरहेका छन् । पाँच कक्षासम्म अध्ययन गरेका खड्का भन्छन्, ‘पाँच छोरी र एक छोरासहित ८ जनाको परिवारको खर्च तरकारी खेती र पशुपालनबाट धानिरहेको छु,’, मेरा लागि विदेश यही गाउँ हो ।’
सोही ठाउँकी २५ वर्षीया अमृता बस्नेतले पढाईसँगै अध्ययनलाई निरन्तरता दिइरहेकी छन् । अमृता अध्ययनसँगै तरकारी खेती गर्छिन् । उनले आलु, बन्दा, काउली, टमाटर, प्याज लसुनलगायतका तरकारी उत्पादन गर्दै आएकी छन् । उनको परिवार नै व्यवसायिक कृषिमा सक्रिय छ । गत वर्ष मात्रै बस्नेत परिवारले ६ लाख बराबरको आलु खेती गरेको थियो । उत्पादन भएको आलु दैलेख, सुर्खेत र नेपालगंजसम्म बिक्री गरिएको बस्नेतले बताइन् । बस्नेत परिवारले केही वर्षअघिसम्म खेतीमा रोग किरा नियन्त्रण गर्न रासायनिक विषादी प्रयोग गथ्र्यो । खेतीमा रोग किराको प्रकोप बढ्न थाल्यो । पहिलाको तुलनामा उत्पादन घट्न थाल्यो । दुई वर्षदेखि भने बस्नेत परिवारले खेतीमा जैविक विषादी प्रयोग गरिरहेको छ । खेतबारीमा रासायनिक मलको प्रयोगले गर्दा उत्पादन शक्तिमा ह्रास आएको बुझेपछि रासायनिक मलको विकल्प खोजेको बस्नेतले बताइन् । ‘जैविक विषादी प्रयोग गरेदेखि उत्पादन पनि बढेको छ, खेतीमा रोग किराको प्रकोप पनि कम भएको छ,’ उनले भनिन् । यसले जैविक मल र जैविक विषादी दुवैको काम गर्ने उहाँको अनुभव छ । घर वरपर पाइने वनस्पतिहरु तितेपाती, असुरो, प्याज, लसुन, सिस्नु, बनमारा, अदुवा, खिर्रो, गाईबस्तुको गोबर र गहुँत तथा पानी मिश्रण गरेर झोल बनाउने गरेको उनको भनाई छ । जैविक विषादी आर्थिक रुपमा पनि सस्तो, सर्वसुलभ पाइने हुनाले कृषकलाई सहज भएको छ ।
नौमुले गाउँपालिकाका खड्का र बस्नेतजस्तैै भैरवी गाउँपालिका–३ कोइराल गाउँकी लक्ष्मी न्यौपाने पनि व्यवसायिक किसान हुन् । उमेरले ३३ वर्ष पुगेकी न्यौपानेले व्यवसायिक रुपमा गरेको तरकारी खेतीबाटै परिवारको खर्च धानिरहेको बताइन् । उनले व्यवसायिक तरकारी खेतीबाट छोराछोरीको पढाई खर्च र घरायसी खर्च टारिरहेकी छन् । आफ्नै मेहनतमा छोरा विशाललाई कक्षा ४ सम्म दैलेख सदरमुकामस्थित फूलबारी बोडिङ्ग स्कुलमा पढाएकी न्यौपानेले तीन वर्ष अघिदेखि घरवरपरको करेसाबारीमा तरकारी लगाउन सुरु गरेकी थिइन् । त्यसअघि उनको जीविकोपार्जनको मुख्य स्रोत सिलाई बुनाई थियो । अहिले सिलाई बुनाई र तरकारी खेतीलाई सँगसँगै अघि बढाएको न्यौपानले बताउँछिन् ।
‘सुरुमा घरको छेउछाउ घरमा खानका लागि मात्रै तरकारी लगाएँ, सिमी, बोडी, काँक्रा, सागहरु लगाउँथे । पछिल्लो एक वर्षदेखि उत्पादन बढ्न थाल्यो, खेतीको क्षेत्र पनि विस्तार गरेकी हुँ,’ उनले भनिन् । आफ्नो गुजारामुखी तरकारी खेती विस्तार हुनुमा ग्रेप परियोजनाको मुख्य योगदान रहेको न्यौपाने बताउँछिन् । न्यौपानले पनि तरकारी बारीमा किटनासक विषादी प्रयोग गर्न छाडिसकेकी छन् । ‘बारीमा बजारको विषादी छथ्र्यौ, किटनासक विषादीले माटोको उर्बरा शक्ति नष्ट हुँदै जान्छ भन्ने थाहा नैै थिएन् । स्थानीय जडीबुटीबाट जैविक विषादी बनाउन सकिन्छ भन्ने थाहा पाएपछि बजारको विषादी प्रयोगलाई बन्द गरेँ, उनले भनिन् । गाउँघरमा प्रशस्तमात्रामा पाइने तितेपाती, असुरो, केतुकी, अदुवा, खिर्रो, प्याज, लसुन, सिस्नु, बनमारा, गाईबस्तुको गोबर र गहुँत तथा पानी मिश्रण गरेर झोल बनाउने गरेको उनको भनाई छ । जलवायु अनुकुलित खेती सुरु गरेपछि बिक्री गर्दा पनि अर्गानिक उत्पादन हो भनेर दाबी गर्न सजिलो भएको र रोग किराको प्रकोप पनि नदेखिएको उनको अनुभव छ ।
भैरवी गाउँपालिका–३ सान्तडाका किसान भगतबहादुर शाही समेत आफ्नो स्याउको नर्सरीमा जैविक मलको प्रयोग गर्छन् । उनले गाउँमा सूर्य कृषि तथा पशुपंक्षी फर्म छ । फर्म सञ्चालनमा आएको चार वर्ष पूरा भयो । रोजगारीको सिलसिलामा झण्डै १९ वर्ष भारतमा बिताएका शाहीले गाउँ फर्किएर फर्म सञ्चालन गरेका हुन् । उनले गाउँमा झण्डै २२ रोपनीमा फर्म चलाएका छन् ।
गत वर्ष उनले झण्डै ६ लाख रुपैयाँ बराबरको स्याउको बिरुवा बेचेका थिए । हाल उनको नर्सरीमा आगामी पौष (२०८१) मा बेच्न सकिने गरी झण्डै १५ लाख रुपैयाँ बराबरको १० जातको बिरुवा छ । स्याउ तथा तरकारी बालीमा जैविक मल र विषादी प्रयोग गरिरहनुभएका शाही भन्छन्, ‘रासायनिक मल र विषादी प्रयोगलाई पूर्ण रुपमा निषेध गरेका छौँ । गड्यौंले मल र तितेपाती, बनमारा, टिमूर, लसुन लगायतका वनस्पतिको मिश्रणबाट तयार हुने झोल मल प्रयोग गर्छौ ।’ नर्सरीलाई जलवायु अनुकुलित बनाएको उनको भनाई छ । ‘बजारमा पाइने रासायनिक विषादी प्रयोग गर्दा माटोको उब्जाउ हुने शक्ति नै नष्ट हुँदै जाने रहेछ, अचेल जैविक विषादीको प्रयोग गर्न थालेका छौँ,’ शाहीले भने ‘स्थानीय जडीबुटीबाट तयार गरिने जैविक विषादी प्रयोग गर्न थालेपछि एकातिर रोग किराको प्रकोप रोकिएको छ भने अर्कोतर्फ माटोको उब्जाउ क्षमता पनि बढेको छ ।’
यी किसानमात्रै होइन, पछिल्लो समय यहाँका अन्य किसानहरुले पनि किटनाशक विषादीको विकल्पमा जैविक मलको प्रविधिलाई अपनाएका छन् । सुरक्षित र स्वस्थ तरकारी, फलफूल तथा खाद्यान्नका लागि रासायनिक मल र विषादी प्रयोग नगरिएको अर्गानिक खेती प्रवद्र्धनमा किसानहरु जुटेका छन् । जैविक मलले वातावरणीय नास पु¥याउँदैन । जैविक मलले बोटबिरुवालाई छिटो र छरितोसँग बढाउन, माटोको उत्पादन शक्ति बढाउन, पौष्टिक तत्वको साथै रोग किराको प्रकोपबाट समेत बचाउने काम गर्ने किसानहरु बताउँछन् । जैविक मलको प्रयोगले मानव स्वास्थ्यमा असर नगर्ने र माटोको उर्वराशक्ति कमजोर नहुने यो प्रविधि अपनाएका किसान बताउँछन् ।






