मलाई बचाउने भगवान छैनन्

दैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. ५ धिताका २० वर्षे गणेश बिक अहिले उपचार अभावमा मृत्युसँग लडिरहेका छन् । २०८१ साल साउन २५ गते आएको बर्सातसँगै उनको घर भत्कियो । उनी सुतिरहेको अवस्थामा भत्केको घरेले उनलाई च्याप्यो, घरले च्यापेपछि उनको मेरुदण्ड भाँचियो । छिमेकीले च्यापिएको अवस्थामै उनको उद्धार गरे ।उनीसँगै उनको भाइ मङ्गल विक पनि घाइते भए, भाइलाई सामान्य उपचार पछि सन्चो भयो । तर गणेश भने अहिले पनि मृत्युसँग लडिरहेका छन् । उनी भन्छन्, ‘गरिबलाई बचाउने भगवान कोही भेटिएनन् ।’

गणेशकी श्रीमती सासूको अप्रेसनका लागि सुर्खेत गएकी थिइन् ।अहिले उनी पनि आफ्नो श्रीमानको अवस्था देखेर निकै चिन्तित छन् । कमजोर आर्थिक अवस्था भएका गणेशको मेरुदण्ड भाँचिएपछि उपचारका लागि सुर्खेतको कालागाउँ अस्पतालमा लगियो । नौं दिन सम्म सुर्खेतमै बसेका गणेश रकम अभाव भएपछि उपचार नगरिकनै दैलेख फर्किए । उनको पीडा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सम्म पुग्यो । मुख्यमन्त्रीले गणेशको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरेका थिए तर सडक अवरुद्ध भएपछि एम्बुलेन्समा लिन सम्भव भएन । प्लेनमा पनि जोखिम देखिएपछि उनलाई नेपालगन्ज उपचारका लागि पठाइयो । मुख्यमन्त्रीकै निर्देशनमा क्षेत्रीय अस्पतालका कर्मचारी समेतलाई उपचारका लागि नेपालगन्ज सम्म लगियो । नेपालगन्जमा करिब दुई महिनाको उपचार गरेपछि केही सुधार हुने आशा घर परिवारको थियो । तर अहिले पनिउनको अवस्था नाजुक बनेको छ ।

पीडित गणेशका दाइ रुकेस बिक अहिले सहयोगको अपिलमा दैलेखमा भौँतारिएका छन् । ‘नेपालगन्जमा मेरुदण्डको अप्रेसन त भयो तर अप्रेसन लगत्तै कतै पनि हलचल हुन नसकेका कारण ढाडमा घाउ भयो । त्यो घाउ सन्चो हुन सकेन । अहिले निकै ठूलो घाउ भइसकेको छ । घाउ सन्चो नभएसम्म थप उपचार हुन सक्दैन भनेर डाक्टरले भनेका छन् । नारायण नगरपालिकाले औषधी खर्च बापत एक लाख रुपैयाँ सहयोग गरेको थियो । डाक्टर प्रकाश थापाले केही रकम घटाइ दिनुभयो, रुकेसले भने । अहिले बिरामी भाइ घरमै मृत्युसँग लडिरहेका छन् । दैनिक घाउको ड्रेसिङ गर्नुपर्छ ।

पिसाब पाइपमै हुन्छ । पाइप परिवर्तन गर्न समेत पैसा छैन । अवस्थानिकै चिन्ता जनक छ । रकम अभावकै कारण भाइको उपचार गर्न काठमाडौँ लिन सकेका छैन । काठमाडौँसम्म लिन पाएको भए भाइ बाँच्थ्यो कि भन्ने आशा घरपरिवारलाई छ । तर आर्थिक अभावले काठमाडौँ लिन पनि समस्या छ ।

‘केन्द्र सरकारले हाम्रो पीडा सुनेर निःशुल्क उपचार गरिदियो भने वा कुनै मनकारी व्यक्तिहरूले सहयोग गरिदिए मात्रै भाइको ज्यान बाँच्छ होला । नेपालगन्जमा उपचार गर्दा ६ लाख रकम सकियो । त्यो रकम पनिआफन्तबाट सरसापट गरेर मागेका थियौँ । गरिवको भगवान हुन्छ भन्थे, खै अहिले सम्म कोही भेटिनु भएन’ रुपेसले रुँदै गुनासो गरे ।

भाइको उपचारमा सहयोग गर्न चाहने व्यक्तिहरूले रुकेस बि.क.को नाममा कुमारी बैंकको खाता नं. २३००२५५६४२४००००१ मा रकम जम्मा गरिदिन र भाइको उपचारमा सहयोग गरिदिन रुकेसले आग्रह गरेका छन् । कसैले सहयोग गर्न चाहेमा रुकेसको मोबाइल नम्बर ९८००५१३४३० माफोन सम्पर्क गरेर पनि सहयोग गर्न सक्ने रुकेसले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार