काठमाडौं ः विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । दोस्रो कार्यकालको पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जति सक्दो छिटो राष्ट्रिय विज्ञापन नीति जारी गर्ने र विज्ञापन नियमन ऐन संशोधन गरिने स्पष्ट पारे ।
‘अहिले मुख्य चुनौती भनेको सबैको सहयोग जुटाउँदै विज्ञापनदातालाई विश्वासमा ल्याएर आम सञ्चारमाध्यमको भरथेगमा सहयोग गर्न सकियोस् भन्ने हो, सामाजिक सञ्जालमा भइरहेको विज्ञापनको प्रवाह विस्तारै मूलधारका सञ्चारमाध्यममा ल्याउने काम गर्नु पर्नेछ,’ उनले भने । नयाँ नीति जारी गरी ऐन संशोधनपछि मात्रै आमसञ्चार, बाह्य (होर्डिङ बोर्ड), सामाजिक सञ्जाल र ‘इभेन्ट’मा हुने विज्ञापनलाई नियमनको दायराभित्र ल्याउन सकिने उनको भनाई छ ।
सुरु गरेको र निर्णयमा पुग्न नसकेको राष्ट्रिय विज्ञापन नीति दुई वर्ष अघि मन्त्रालयमा सिफारिश गरिएको जानकारी दिँदै उनले त्यसलाई निष्कर्षमा पु–याउन नसक्दा अहिले विज्ञापन नियमन ऐन संशोधन गर्न नसकिएको बताए । यसअघि चार वर्षे एक कार्यकाल विज्ञापन बोर्डमा बिताएका उनले पहिलो कार्यकालमा नीतिनियम र विज्ञापनसम्बन्धी मापदण्ड बनाउने कार्यमा खर्चिनु परेको बताए ।






