सुर्खेत : मुगुका दुई पालिकामा भाइरल ज्वरोका कारण पाँच जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–१२ बाममा ज्वरोका कारण पाँच जनाको मृत्यु भएको हो । तीन वृद्ध र दुई बालबालिकाको मृत्यु भएको खबर आएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले जानकारी दिए । हालसम्म छायाँनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिकाका दुई ठाउँमा भाइरल ज्वारो फैलिएको पुष्टि भएको उनले जानकारी दिए ।
छायाँनाथ रारा र मुगूम कार्मारोङ गाउँपालिकाका बिरामीको नमुना परीक्षण गर्दा भाइरल ज्वारो भएको पुष्टि भएको उनले जानकारी दिए । सोरूँ गाउँपालिकाका बिरामीहरूको प्रयोगशालामा जाँच हुन बाँकी रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मिश्रले भने, ‘अहिले हेर्दा दुई पालिकामा फैलिएको देखिन्छ । नियन्त्रण नहुने हो भने थप स्वास्थ्यकर्मी तथा औषधिको आवश्यक पर्न सक्ने सम्भावना छ । डेड हप्ता देखि यहाँ यस्तो खालको समस्या आएको वडाध्यक्षहरूले जानकारी दिनुभयो छ ।,’
यता स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले दिर्ग रोगी तथा बालबालिकामा धेरै असर गरेको बताए । चिसोका कारण समस्या आएको उहाँको भनाई रहेको छ । मृत्यु हुनेहरू दिर्गरोगी भएको समेत उनेको भनाई छ । स्वास्थ्य सेवा कार्यालयबाट शिविर सञ्चालन गर्दा मुगूम कार्मारोङको २ सय ५० जनाको उपचार गरिएको छ । मार्गी ९०, छाइला ५२, मह १ सय ४० र पापुमा ८८ जना ज्वरोको बिरामीको उपचार भएको उनको भनाई रहेको छ ।
शिविरमा खटिनुभएकी डाक्टर पुजा आचार्यले दैनिक ६० भन्दा बढी बिरामीहरू अस्पतालमा उपचारका लागि आउने गरेको भए पनि ५० प्रतिशत भन्दा बढी ज्वारोकै भएको बताए । दम र निमोनिया बिरामीलाई धेरै समस्या भएको उनले जानकारी दिए । चिसोका कारण धेरै समस्या आएको चिकित्सकहरूको भनाई रहेको छ ।
मुगुका स्थानीय युवा आशीष देवकोटाको नेतृत्वमा गएका युवाले स्वास्थ्य तथा मुख्यमन्त्री डा सुधा गौतमलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानुदिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै आपत्कालीन हस्तक्षेप अपरिहार्य रहेको बताएका छन् । पुरानो एक्सरे मेसिन बिग्रिएर समस्या हुँदा सामान्य मर्मत पछि कामचलाउ बनाएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । नयाँ एक्सरे मेसिनका लागि सामाजिक विकास मन्त्रालयसँग जानकारी गराएको छ ।






