काठमाडौं : भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्ने भएको छ । भारतको विद्युत् मन्त्रालयले आगामी १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो ।
विनाशकारी बाढीका कारण नेपालको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पु¥याइरहेका बेला भारतले विद्युत निर्यात गर्ने निर्णय गरेको हो । स्वीकृतिअनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाटसम्म तथा टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ ।
भारतले राति १२ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक १८ घण्टाका लागि विद्युत् निर्यातको अनुमति दिएको हो । नेपालमा हालै आएको बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा ठूलो क्षति पुगेको र आन्तरिक विद्युत् उत्पादन क्षमता घटेकाले थप विद्युत् आवश्यक परेको भारतको विद्युत् मन्त्रालयले जनाएको छ ।
विद्युत् निर्यातसम्बन्धी स्वीकृतिले कठिन परिस्थितिमा नेपाललाई विद्युत्को आवश्यकता पूरा गर्न सहयोग पुग्ने भारतको भनाइ छ । यसबाट नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । सन् २०२७ जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युत्को परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने भारतले जनाएको छ ।






