विश्वमा कमैलाई जानकारी भएको रोग विल्सन रोगको समस्या नेपालमा बढ्दो भएको चिकित्सक बताउँछन् । शरीरमा आवश्यक विभिन्न तत्वमध्ये कपर (तामा) तत्वको मात्रा बढी भए अर्थात तामा तत्व शरीरले पचाउन नसक्दा यो रोग लाग्छ । यो रोगले शुरुमा कलेजो र पछि स्नायुमा आक्रमण गर्छ । वंशानुगत कारण सर्ने रोग भए पनि परिवारका चारमध्ये एकमा मात्र यो देखिन्छ । तर, समयमै उपचार भए यो रोग नियन्त्रण गर्न सकिन्छ । पूर्ण रुपमा निको पार्न चाँही गाह्रो हुन्छ ।
यो रोग लागेपछि कलेजोबाट रक्तश्राव हुने, पानी जम्ने, र स्नायुमा आक्रमण गरेपछि बोल्न नसक्ने, हातखुट्टा नियन्त्रणमा नहुने जस्ता लक्षण देखिन्छन् । यसबाहेक रगत तथा पिसाबमा तामाको मात्रा बढी देखिन्छ । सन् १९९२ मा ब्रिटिस विल्सन नामक न्युरोलोजिस्टले यो रोगबारे पहिचान गरेकाले उनकै नामबाट यो रोगको नामकरण गरिएको हो । वंशानुगत कारण हुने यो रोग १०० मा एक जनालाई लाग्छ ।
वंशानुगत रोग भएकाले परिवारमा एक जनालाई लागिसकेपछि अरुमा पनि हुन सक्ने भएकाले परिवारका अन्य सदस्यले शरीरमा तामाको मात्रा जाँच गरेर बच्न सकिन्छ । यदि तामाको मात्रा बढी भए बगिरहेको रक्तकोष फुटेर शरीरमा रगतको मात्रा कम भई बिरामीमा रक्तअल्पताको समस्या उत्पन्न हुन्छ । तामाको मात्रा लामो समय थप बढी हुँदै गए कलेजोसमेत बिग्रिने डर हुन्छ । यस्तो अवस्थामा बिरामी बेहोस हुने तथा रक्तश्राव हुने समस्या हुन्छ । कान्तिमा प्रतिवर्ष १० र १२ जना विल्सन रोगी उपचारका लागि सम्पर्कमा आउने गरेको तथ्यांक छ तर नेपालमा यस्ता रोगी कति छन् भन्नेबारे यकिन तथ्यांक छैन । विशेष गरी तराईका जिल्लाका थारु समुदायमा यो रोग बढी पाइएको टिचिङ अस्पतालका बालरोग विशेषज्ञ डा. सूर्य बहादुर थापा बताउँछन् । ‘राईलिम्बु तथा अन्य जातिमा पनि देखिन्छ तर थारु बढी देखिन्छ,’ डा. थापाले भने ।
चिकित्सकका अनुसार यो रोगले शुरुमा कुनै लक्षण नै नदेखाउने र लक्षण अन्य रोगसँग मिल्दो भएकाले सजिलै पहिचान गर्न गाह्रो हुन्छ । समयमै पहिचान नहुने भएकाले उपचारका लागि अधिकांश बिरामी जटिल रुप लिएपछि मात्र आउँछन् । ‘कोही जन्डिस लाग्यो भनेर आउने क्रममा पत्ता लाग्छ, कतिपय जटिल अवस्थामा पुगेपछि मात्र आउँछन्,’ कान्ति बाल अस्पतालका प्रवक्ता तथा अन्कोलोजी विभाग प्रमुख डा. कैलाश शाहले भने ।
उपचार अवस्था
विल्सन वंशानुगत रोग भएकाले पूर्ण रुपमा निर्मूल गर्न सकिँदैन तर समयमै उचित उपचार पाए बिरामी सामान्य अवस्थामा फर्कन सक्ने चिकित्सक बताउँछन् ।
चिकित्सकका अनुसार विकसित मुलुकमा हुने जत्तिकै उपचार नेपालमा पनि छ । विभिन्न तीन तरिकाले यसको उपचार गर्न सकिन्छ । तामालाई जिंकले नियन्त्रण गर्ने हुनाले जिंकजन्य खाना बढाउने र तामाजन्य खाना घटाउनु पर्छ ।
यसबाहेक चिकित्सकको सल्लाह अनुसार शरीरमै तामाको मात्रा घटाउने तथा तामाको मात्रा बाहिर निकाल्ने औषधि खाने । चिकित्सकले यसका लागि रगत तथा पिसाबमा भएको तामाको मात्रा औषधिको प्रयोगबाट बाहिर निकालेर उपचार गर्न सकिन्छ । जिंक तत्वले तामालाई नियन्त्रण गर्ने भएकाले जिंकजन्य खानेकुरा गेडागुडी र अन्य सामान्य खानेकुरा खाने । तामाजन्य खानेकुरा कलेजो, माछो, बदाम, पेस्टा, काजु खान हुँदैन ।
लक्षण
–शुरुमा जन्डिस हुन्छ त्यसपछि जिउमा रगतको मात्रा कम हुन थाल्छ
–कलेजोमा जम्ने तत्वको कमी भई रक्तश्राव हुने
–पित्तथैलीमा पत्थरी हुने
–हातगोडा कडा हुने र शरीर काम्ने
–निमोनिया हुने
–जिब्रोमा कपर जमेर निल्न गाह्रो हुने
–शरीरका ग्रन्थीमा तामाको मात्रा जम्मा भएर जोर्नी कडा हुने
–टाउकोको पिट्युटरी ग्रन्थी बढ्दै जाने ।
के खाने ?
–दालभात तरकारी, सलाद
–मौसम अनुसार फलफूल
–जिंक पाइने खानेकुरा जस्तै गेडागुडी र अंकुरित दल
खान नहुने चिज
–तामा पाइने भएकाले बदाम, पिस्ता, काजुजस्ता ड्राई फ्रुट्स नखाने
–मांसाहारीले कलेजो नखाने
–माछा नखाने
–चक्लेट, केक जस्ता गुलियो खानेकुरा नखाने
पवित्रा सुनार







